arrow

दुईतिहाइको सरकार र अर्थतन्त्र

प्राडा ज्ञवाली भन्छन्- "अब नीतिगत अस्थिरताको अन्त्य हुनुपर्छ"

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
ramprasad-gyawali-03.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवालीले नयाँ सरकार गठनसँगै मुलुकको आर्थिक नीतिमा दीर्घकालीन स्थायित्व आउने विश्वास व्यक्त गरेका छन्। हालै सम्पन्न निर्वाचनबाट झन्डै दुई-तिहाइ बहुमतको सरकार बन्ने निश्चित भएपछि राजनीतिक स्थिरता र आर्थिक स्पष्टताको नयाँ युग सुरु हुने अपेक्षा गरिएको उनले बताए।

 प्राडा ज्ञवालीले सरकार परिवर्तन हुनासाथ आर्थिक नीति फेरिने पुरानो प्रवृत्तिले लगानीकर्तामा अन्योल सिर्जना गर्ने गरेको उल्लेख गरे। "अबको सरकार पूरै पाँच वर्ष टिक्ने जनताको विश्वास छ, त्यसैले नयाँ सरकारले कम्तीमा एक कार्यकालसम्म आर्थिक नीतिमा स्थिरताको प्रत्याभूति दिनुपर्छ," उनले बताए। नीतिगत स्पष्टता भएमा मात्रै व्यावसायिक क्षेत्रले निर्धक्क भएर लगानी बढाउन सक्ने उनको तर्क छ।

प्राडा ज्ञवालीले 'जेनजी' आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माणलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए। २०७२ सालको भूकम्पपछिको तीव्र आर्थिक वृद्धिलाई स्मरण गर्दै उनले भने, "पुनर्निर्माणमा लगानी बढ्दा आर्थिक गतिविधि चलायमान हुन्छ, जसले मुलुकको समग्र उत्पादन र रोजगारीमा सकारात्मक असर पार्छ।" आन्दोलनका कारण खस्किएको उद्योगी-व्यवसायीको मनोबल उकास्न सरकारले विशेष नीति ल्याउनुपर्ने उनले बताए।

सरकारी लगानीको अनुपातमा केही सुधार देखिए पनि निजी क्षेत्र अझै पर्ख र हेरको अवस्थामा रहेको ज्ञवालीको विश्लेषण छ। "अहिले निजी क्षेत्रलाई सबैभन्दा बढी विश्वास र स्थिर वातावरण चाहिएको छ," उनले बताए। सरकारले पूर्वाधार निर्माणमा ध्यान दिने र निजी क्षेत्रले उत्पादन र रोजगारीमा सक्रिय भूमिका खेल्ने हो भने मात्रै अर्थतन्त्र गतिशील बन्ने उनले स्पष्ट पारे। नीतिगत स्थायित्व र लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राखे समृद्धिको मार्ग बलियो बन्ने विश्वास उनले व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ