arrow

दशकौँदेखिको हुम्ली सपना पूरा हुँदै, यसरी जोडिँदैछ सिमकोट राष्ट्रिय सडक सञ्जालसँग [भिडियो]

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ असार ५ बिहिबार
simikot-pul.jpg

हुम्ला । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना अब केही दिनमै साकार हुन लागेको  छ। खार्पुनाथ गाउँपालिका–५ खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि निर्माण भइरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ ।

नेपाली सेनाका अनुसार सो बेलिब्रिजको करिब ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ र केही दिनभित्रै सञ्चालनमा आउनेछ। यससँगै सिमकोट–खार्पु मार्ग हुँदै सदरमुकाम सिधै राष्ट्रिय सडक सञ्जालमा जोडिने पक्का भएको छ, जसलाई नेपाल सरकारले लामो समयदेखि प्राथमिकतामा राख्दै आएको थियो।

यो ऐतिहासिक संरचना निर्माणसँगै कर्णाली प्रदेशको भौगोलिक जटिलता हटाउँदै आर्थिक विकासको गति थपिने अपेक्षा गरिएको छ। दुर्गम हुम्लाका स्थानीयवासी, व्यापार, स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामा पहुँचका लागि अब लामो दूरी पैदलयात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने छ।

सडक सञ्जाल नजोडिएको नेपालको अन्तिम सदरमुकाम सिमकोट अब राष्ट्रिय सञ्जालमा जोडिन लाग्दा स्थानीयवासीमा उत्साहको लहर फैलिएको छ। स्थानीय नेता, जनप्रतिनिधि, विकासप्रेमी नागरिक तथा व्यापारीहरुले यसलाई 'हिमाली विकासको सुनौलो अवसर' भन्दै स्वागत गरेका छन् ।

यो परियोजना सम्पन्न गर्न नेपाली सेना नं. १४ बाहिनी अड्डा अन्तरगतको फौजको कमाण्ड गर्दै पहिलो चरणमा गत चैतबाट सेनानी रनजित बुढाथोकी नेतृत्वको नेपाली सेनाको इञ्जिनियरसहितको टोली खार्पु पुगेको थियो । 

सो टोलीले ३ महिनाको अन्तरालमा फाउण्डेसन सहितको सबै संरचनाको काम पूरा गरेपछि  सेनानी पुरन घलेको कमाण्डमा मेटरी प्यानल ब्रिज युनिटको टोलीले कठिन भौगोलिक अवस्थासँग जुझ्दै गुणस्तरीय निर्माण कार्यलाई तीव्रता दिएर मेटरी प्यानल ब्रिज जडानको करिब ९९ प्रतिशत काम सम्पन्न गरेको सेनाले जनाएको छ । 

कठिन मौसम, दुर्गम भू–भाग र सीमित स्रोतसाधनका बीचमा सम्पन्न भएको यो कार्य नेपाली सेनाको दक्षता र समर्पणको उत्कृष्ट उदाहरण बनेको छ।

अब केही दिनभित्रै खार्पु हुँदै बग्ने चुवाखोला–कर्णालीको मेटरी प्यानल ब्रिज सञ्चालनमा आएपछि सिमकोट सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा औपचारिकरूपमा जोडिनेछ । 

यससँगै हुम्ला जिल्लाको विकास, समृद्धि र राष्ट्रिय समावेशीतामा सार्थक पाइला अगाडि बढ्नेछ । लामो प्रतीक्षापछि सिमकोट राष्ट्रिय सडक सञ्जालमा समेटिनु हुम्ला जिल्लाका लागि मात्र नभई सम्पूर्ण कर्णाली प्रदेशको लागि पनि एउटा युगान्तकारी परिवर्तन हो । अबको बाटो सहज, समावेशी र सम्भावनाले भरिएको हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ