भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरे देशमा युद्ध हुने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
819
Shares
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजतन्त्र ल्याउनु नहुने बताएका छन्।
मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संवैधानिक राजतन्त्र नमानेकाले नै हट्नुपरेको उल्लेख गरे। उनले भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरे देशमा युद्ध हुने चेतावनी दिए। राजतन्त्र पुनःस्थापनाका लागि बन्दुकबाहेकको उपाय नरहेको र बन्दुक उठाएपछि फेरि त्यसको विरुद्धमा लडाइँ हुने उनको भनाइ थियो।
बिजुक्छेले भने, ‘राजा सर्वशक्तिमान छ तर यहाँको राजाले मुसा मार्न पनि सक्दैन भनेर बेलायतको संविधानमा लेख्यो, तर त्यस्तो राजा त राजा पनि होइन। यहाँ पनि त्यस्तो मान्ने भए त मानिहाल्थे नि। अहिलेको राजाले त सबैलाई जेलमा हालिदियो। विरोध भएर गयो। फेरि त्यो आयो भने फेरि जान्छ। बाँकी त रहँदैन नि। यदि त्यसलाई इन्डियाले वा अमेरिकाले ल्याएको हो भने लडाइँ हुन्छ देशमा। बन्दुकबाहेक अरू उपाय त जनताले मान्दैनन्।’ उनले अफगानिस्तानको उदाहरण दिँदै राजा गद्दीमा बस्न नसक्ने बताए। ‘बरु अहिले हामीलाई डर छ कि पार्टीहरू झगडा गरेर एक दुईवटा नदीनाला बाँकी छ। त्यो नदेलान्। राजा ल्यायो भने राजाले त अहिले बोलाएर सही गराउँछ। सकिन्छ। त्यसकारण अहिले राजालाई ल्याउनु हुँदैन।’