राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र निर्माण गर्न सक्षम छु - संयोजक सुवेदी [भिडियो]
तीनकुने घटनाका बारेमा सत्य तथ्य छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग तथा नेपालस्थित संयुक्त राष्ट्र सङ्घको मानव अधिकार उच्च आयोगमा ज्ञापन पत्र
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
547
Shares
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित समितिका संयोजक नवराज सुवेदीले नेपालमा राजसंस्थाको पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । तीनकुने घटनाका बारेमा सत्य तथ्य छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग तथा नेपालस्थित संयुक्त राष्ट्र सङ्घको मानव अधिकार उच्च आयोगमा ज्ञापन पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले राजसंस्था पुनर्स्थापना हुनुपर्ने, नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने लगायतका माग रहेको बताए ।
उनले आफूहरूले शान्तिपूर्ण आन्दोलनका मार्फत आफ्ना कुरा राख्न चाहेको बताए । उनले शान्तिपूर्ण विरोधका कार्यक्रममा कसैले आक्रमण गर्छ भने आफूहरू प्रतिकार गर्न तयार रहेको बताए । राष्ट्रिय झण्डाको दुरुपयोग गरी आन्दोलन गरेको भन्ने आरोप छ नि भन्ने पत्रकारहरूको प्रश्नमा उनले राष्ट्रिय झण्डा बोक्ने मान्छेलाई झण्डाको दुरुपयोग भन्ने मान्छे नै अराष्ट्रिय भएको तर्क गरे। पहिला देशलाई सुरक्षित बनाएर आफ्ना आफ्ना झण्डामुनि बसेर राजनीति गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘आन्दोलन त हेर्नुस् नवराजलाई थुनेर मात्रै होइन, नवराज मर्यो भने पनि अर्को राजले आन्दोलन शुरु गर्छ । यो आन्दोलन कन्टिन्यू हुन्छ । जबसम्म यो देशमा राजसंस्थाको स्थापना हुँदैन, हिन्दु राष्ट्र नेपाल हुँदैन र यो संघीयता खारेज हुँदैन र बहुदलीय प्रजातन्त्र हाम्रो चार पाँच वटा माग छ यो माग पूरा नहुन्जेल यो कन्टिन्यु भइरहन्छ । राष्ट्रिय झण्डामै हो । यहाँ आफ्नो आफ्नो पार्टीका झण्डा होइन, पहिले राष्ट्रलाई बचाऔँ, राष्ट्रलाई समुन्नत बनाऔँ । राष्ट्रलाई सुरक्षित राखौँ अनि पार्टी खोलौँ । आफ्नो झण्डा लिऔँ अनि झगडा त्यसपछि गरौँला, अहिले राष्ट्रिय झण्डा । राष्ट्रिय झण्डा बोकेर हिँडेको मान्छेलाई जसले राष्ट्रिय झण्डाको दुरुपयोग भन्छ त्यो मान्छे आफै राष्ट्रिय होइन, अराष्ट्रिय हो । हामी शान्तिपूर्ण चाहन्छौँ । हामी शान्तिपूर्ण आफ्ना कुरा राख्न चाहन्छौँ । विरोध गर्न चाहन्छौँ । कसैले हामीमाथि आइलाग्छ भने हामी पनि दही जमाएर बस्दैनौँ ।
संयोजक सुवेदीले विश्वका धेरै देशमा वृद्ध अवस्थाका नेताहरूले धेरै ठुला कामहरू सफल पारेको तर्क गर्दै आफूले राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र नेपाल र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न आफू सक्षम रहेको जिकिर गरे ।