मधेस भ्रमणमा पूर्वराजा : जनकपुरमा भव्य स्वागत, यस्तो छ आजको तालिका
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
679
Shares
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार साँझ सडक मार्ग हुँदै जनकपुरधाम आइपुगेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाको स्वागत मूल समारोह समितिका संयोजक श्रवण कुमार झाका अनुसार उनी साँझ ६:३० बजे जनकपुर आइपुगेका हुन्। पूर्वराजासँगै पूर्वरानी कोमल राज्य लक्ष्मी देवी शाह पनि जनकपुर आएकी छन्।
भ्रमणको मुख्य कार्यक्रमअनुसार पूर्वराजा र रानीले आज सोमबार दिउँसो ३ बजे प्रसिद्ध राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजापाठ गर्ने तयारी रहेको छ। पूजापाठ र दर्शनपछि उनीहरूले आजको रात जनकपुरमै बिताउने कार्यक्रम तय भएको संयोजक झाले जानकारी दिए। पूर्वराजाको आगमनलाई लिएर जनकपुरमा सुरक्षा व्यवस्था र स्वागतको तयारी कडा पारिएको छ।
केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरमा गरेको चुनावी सभाका क्रममा काठमाडौंका निवर्तमान मेयर वालेन्द्र शाह (बालेन) र रवि लामिछानेलगायतका नेताहरू जुन होटलमा बसेका थिए, सोही होटलमा पूर्वराजाका छोरा पारस शाह पनि बास बसेका थिए। यसले जनकपुरको पछिल्लो राजनीतिक र सामाजिक सरगर्मीलाई थप चर्चामा ल्याएको छ।