काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको चार महिना लामो बसाई पछि आज काठमाडौँ फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राजावादी तथा राष्ट्रवादी समर्थकहरूले भव्य रूपमा स्वागत गरेका छन्।
समर्थकहरूले विमानस्थलको मुख्य गेट बाहिर ठूलो भीड जम्मा गरी ‘राजा आऊ, देश बचाऊ’ जस्ता नाराहरू लगाएका थिए। राप्रपा लगायतका विभिन्न राजावादी समूहहरूले उनलाई फूलमाला र अबिर लगाएर अभिनन्दन गरे।
पूर्वराजा ज्ञानेन्द्रले गाडीमा उभिएरै आफ्ना समर्थकहरूको अभिवादन स्वीकार गरेका थिए र त्यहाँबाट र्यालीसहित उनी निर्मल निवासतर्फ प्रस्थान गरेका छन्।
पूर्वराजाको आगमनलाई ध्यानमा राख्दै प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरी सुरक्षा व्यवस्था निकै कडा पारेको थियो। विमानस्थलदेखि निर्मल निवाससम्मको रुटमा डीएसपीहरूको कमान्डमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।
सुरक्षाको कडा घेरा भए तापनि समर्थकहरूको उत्साहपूर्ण उपस्थितिले विमानस्थल क्षेत्र निकै चर्चामा रह्यो। लामो समयको मोफसल बसाई पछि राजधानी फर्किएका उनको यो आगमनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।