arrow

आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
department-of-customs-भन्सार विभाग.jpg

काठमाडौँ। नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । अर्थात् गतवर्षको तुलनामा यसवर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ । 

पछिल्लो आठ महिनामा रू एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले रू ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात गरेको छ । त्यस्तै, रू सात अर्ब ९८ करोड २३ लाख बराबरको सूर्यमुखी तेल, रू पाँच अर्ब ८३ करोड ७३ लाखको अलैंची, रू चार अर्ब ३२ करोड ३९ लाखको कार्पेट निर्यात भएको छ ।

विभागका अनुसार चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले कुल रू १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाख बराबरको वैदेशिक व्यापार गर्दा रू नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाखको घाटा बेहोरेको छ । पछिल्लो आठ महिनामा रू ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख बराबरको वस्तु आयात भएको छ भने रू एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख बराबरको निर्यात भएको छ ।

छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा रू पाँच खर्ब ६३ अर्ब ६७ करोडको व्यापार घाटा बेहोरेको छ । गत साउनदेखि फागुनसम्म भारतबाट रू छ खर्ब ८८ अर्ब ६८ करोडको आयात हुँदा रू एक खर्ब २५ अर्ब बराबरको निर्यात भएको छ । चीनसँग रू दुई खर्ब १९ अर्ब १८ करोडको आयात र रू दुई अर्ब १२ करोडको निर्यात हुँदा रू २१ अर्ब ७० करोडको व्यापार घाटा बेहोरेको छ । साथै अर्जेन्टिना, युक्रेन, युनाईटेड अरब ईमिरेट्स, अस्ट्रेलियालगायतका मुलुकहरुसँग नेपालको व्यापारघाटा उच्च छ । उक्त अवधिमा ३४ वटा मुलुकसँगको व्यापारमा नेपाल नाफामा छ । अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्सलगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नेपाललाई नाफा छ ।

सो अवधिमा पेट्रोलियम पदार्थको आयात उच्च छ । पछिल्ला आठ महिनामा नेपालले रू ७८ अर्ब ८६ करोड ३७ लाखको डिजेल, रू ४२ अर्ब ८० करोड १७ लाखको पेट्रोल र रू ४१ अर्ब बराबरको एलपी ग्यास आयात गरेका छ । त्यस्तै, रू नौ अर्ब ६९ करोड २२ लाख बराबरको विद्युतीय सवारीसाधन र रू दुई अर्ब ११ करोड बराबरको अन्य सवारीसाधन आयात भएको छ । यो अवधिमा रू २१ अर्ब ९१ करोड ८३ लाख बराबरको १४ लाख सात हजार ७८ वटा स्मार्टफोन आयात भएको पनि विभागको तथ्याङ्क छ ।  हिमाल आरोहण अनुमति सुरु
काठमाडौँ। यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् । 

हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको बताए । “यो यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ, सगरमाथा आरोहणका लागि छिट्टै अनुमति दिइनेछ”, उनले भन्नुभयो, “सगरमाथा क्षेत्रमा आरोहणको चहलपहल बढेको छ ।”

सगरमाथा आरोहणका तयारी व्यवस्थापनमा आरोहण गराउने कम्पनी जुटेका छन् । विभागका अनुसार सगरमाथा आधार शिविरमा अहिले स्नो होराइजन, पायोनियर, सेभेनसमिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सिपीडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङलगायत कम्पनीले शिविर व्यवस्थापनलगायतका काम गरिरहेका छन् ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले ‘आइसफल डाक्टर’ खटाएको छ । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउन एसपीसीसीले १० जनाको टोली खटाएको हो ।

यस्तै सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) कामका लागि हालै दक्ष सगरमाथा आरोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय दश शेर्पा आरोहीलाई सगरमाथाको चुचुरोसम्म डोरी टाँग्नका लागि खटाएको हो । सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार वसन्त ऋतुको सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोही केही दिनअघि सगरमाथा गएका छन् । सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा, ल्होत्से र आमादब्लम हिमाल आरोहणका लागि रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीले पाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ