arrow

अर्थ समिति बैठक

भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
artha-samiti-11-27.jpg

काठमाडौँ । नाकाहरूमा भन्सार जाँच पासपछि पनि अनुसन्धान विभिन्न नाममा मालसामान ल्याउन व्यवसायीहरूलाई दुःख दिने गरिएको भन्दै यसलाई रोक्न सांसदहरूले माग गरेका छन् । बुधबारको अर्थ समिति बैठकमा भन्सार विधेयकमाथिको छलफलमा भाग लिने सांसदहरूले अनुसन्धानका नाममा मालबहाक गाडीहरूलाई गन्तव्यसम्म जान नदिने पद्धतिको अन्त्य हुनुपर्ने बताए । अर्थ समिति सभापति सन्तोष चालिसेले सरकारी संयन्त्रहरूले बाटोमै दुःख दिने पद्धति ठिक नभएको बताए । 

उनले भने-‘भन्सार ऐनमा गलत गर्नेलाई नियन्त्रणमा लिने व्यवस्था हुन्छ नै । तर धेरै व्यापारीहरूले बाटोमै तीन दिनसम्म अनुसन्धानका लागि रोकिएको बताएका छन् । २०० किलोमिटर फर्काएर लगेर पनि अनुसन्धान गरेको पाइयो । नियन्त्रणमा लिएपछि कारबाहीमा पर्ने तर बाटोमा रोक्नु हुँदैन ।’

एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी संयन्त्रहरू अनुसन्धानका लागि नियन्त्रणमा लिएमा २४ घण्टा भित्रै त्यसको जानकारी भन्सार विभागलाई दिनुपर्ने हालको प्रस्तावित व्यवस्थामा असहमति राखे । उनले भने- ‘अनुसन्धानका लागि नियन्त्रणमा लिएमा २४ घण्टा भित्रै त्यसको जानकारी गराउने होइन, जानकारी दिएर मात्रै नियन्त्रणमा लिनुपर्छ ।’ उनले भन्सार जाँच पासपछि मालवाहक गाडीहरूलाई निर्बाध रूपमा गन्तव्य ठाउँसम्म पुग्न दिनुपर्ने बताए । बाटोघाटोमा दुःख दिने काम दिनु नहुने भन्दै यसका लागि कानूनी प्रबन्ध गर्नुपर्ने उनको भनाई छ । 

राजश्व सचिव दिनेश घिमिरेले राजस्व नोक्सानी समेत नहुने गरी व्यवासयीक वातावरण बनाउनुपर्ने बताए । उनले भने-‘व्यवसायीक वातावरण कसरी बनाउने र सरकारी राजस्व नोक्सानी कसरी हुन नदिने धार यहाँ छ । भारतसहितका देशमा अभ्यास भइसकेको छ, भन्सारमा जाँच पास भइसकेपछि अरू कसैले हेर्न नमिल्ने, यदि सूचना आयो भने पनि बीचमा दुःख दिन पाइँदैन भन्ने अभ्यास भयो । डब्लूटिओले पनि गैर करजन्य अवरोध आइलाग्छ, त्यसले बिजनेसको लागत बढाउने भएकाले त्यसले व्यापारमा सहजीकरण गर्दैन र गन्तव्यमै गएर अनुसन्धान गर्ने भन्ने उसको सिद्धान्त छ ।’

भन्सार विभागका महानिर्देशक महेश भट्टराईले अनुसन्धान गर्नुपर्ने भएमा अनुसन्धान गर्ने अधिकार प्राप्त निकाय भन्सार कार्यालय वा राजस्व अनुसन्धानले पक्राउ गरेमा २४ घण्टाभित्र महानिर्देशकलाई जानकारी दिने व्यवस्था राखिएको बताए । उनले भने - ‘राजश्व चुहावट सम्बन्धी सूचना आयो र तत्काल पक्राउ गर्नुपर्ने स्थिति आयो भने भन्सार विभागको महानिर्देशकको स्वीकृत लिएर गर्नुपर्ने व्यवस्था राखिएको हो । जरुरी परे तत्काल पक्राउ गरेर २४ घण्टा भित्र विभागमा जानकारी दिनुपर्ने प्रावधान समेत राख्न सकिन्छ ।’

नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले जाँच पासका नाममा समेत विभिन्न दुःख दिने काम भएको बताए । जाँच पास गर्दा जुनसुकै सिलबन्दी गरिएका वस्तुलाई पनि कब्जा गरेर नियन्त्रण लिनेबारे ख्याल गरिनुपर्ने बताए ।  बुधबारको अर्थ समिति बैठकले भन्सार विधेयकमा रहेको अस्थायी निकासी गर्न दिइने बारेका व्यवस्थालाई अनुमोदन गरेको छ । यससँगै कुनै वस्तुको कच्चा पदार्थ प्रशोधन वा सोबाट कुनै वस्तु उत्पादन वा निर्माण गर्नको लागि वा कुनै वस्तु मर्मतको लागि वा अन्य कुनै उद्देश्यको लागि नगद धरौटी वा बैंक जमानत लिई अस्थायी निकासी गर्न कानून अनुसार भन्सार अधिकृतले अनुमति दिन सक्नेछन् । 

भन्सार विधेयकमा रहेको पैठारी गरिएको वस्तुमा खराबी देखिएको, जुन उद्देश्यका लागि पैठारी गरिएको हो परिपूर्ति हुन नसकेमा त्यस्तो वस्तु भन्सार अधिकृतले फिर्ता पठाउन सक्ने प्रावधानलाई समेत समितिले पारित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ