पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ गएका छन् । उनी दिउँसो २ः३० बजे काठमाडौँ जाने कार्यक्रम रहे पनि मौसममा आएको खराबीका कारण एक घण्टा ढिला गरी काठमाडौँ उडेका हुन् ।
गत माघ २७ गते पोखरा आएका पूर्वराजा आज काठमाडौँ फर्किएका हुन् । उनी परिवारसहित समिट एयरको चार्टर्ड विमानमार्फत फर्किएका हुन् ।
विमानस्थल स्रोतका अनुसार उनी ३ः३० तिरमात्र काठमाडौँ उडेका हुन् ।
पोखरामा पूर्वराजालाई बिदा गर्न राप्रपा कास्कीले सामान्य शुभयात्रा कार्यक्रम आयोजना गरेको थियो । राप्रपाका अरुण गिरीका अनुसार, कार्यक्रममा पूर्वराजालाई दुबोको माला र दहीको ठेकी दिएर बिदा गरिएको हो ।
उनलाई काठमाडौँमा भने भव्य स्वागत गर्ने कार्यक्रम छ ।