काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट नागरिकले धेरै आशा गरेका छन् । तर यो आशा निराशामा परिणत हुने हो कि भन्ने संकेत उनले नेतृत्व गरेको मन्त्रालयमा देखिन थालेको छ ।
पौडेलको सचिवालयमा कार्यरत निजी सचिव विश्वबन्धु रेग्मी मन्त्रालयमा बसेर कमाइ धन्दामा लिप्त भएपछि अहिले मन्त्रालय र आसपासका सरोकारवालाहरू मन्त्रीको समूहसँग छक्क परेका छन् ।
मन्त्रीको बदनाम हुने गरी उनको कार्यकाल असफल तथा विवादास्पद बनाउने काममा रेग्मी उद्यत देखिएका छन् ।
शाखा अधिकृत रेग्मी अहिले मन्त्रालयको हर्ताकर्ता भएका छन् । उपसचिव सरहको कर्मचारी मन्त्रीको निजी सचिव हुनु पर्नेमा शाखा अधिकृतले सचिवालयको काम गरिरहेका छन् ।
यसअघि मन्त्रीको निजी सचिव भएका उपसचिव शालिकराम दाहाललाई योजना शाखामा पठाइएको छ । दाहाल योजना शाखामा पुगेपछि रेग्मीको हालीमुहाली झनै बढेको छ ।
पछिल्लो समयमा उच्च तहका कर्मचारीहरुको सरुवा, मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभागमा हुने गरेका ठूला ठूला रकमका खरिद तथा औषधि खरिदमा उनले सोझै हस्तक्षेप गर्न थालेका छन् ।
‘मन्त्रीज्यूले भन्नु भएको छ, आदेश दिनु भएको छ भन्दै काम गराउने गरेका छन् । ‘मन्त्रीज्यूले साँच्चै भन्नुहुन्छ कि हुन्न, त्यो थाहा हुदैन’ एक कर्मचारी भन्छन् ।
‘ट्रमा सेन्टर, वीर अस्पताल तथा स्वास्थ्य सेवा विभागका दशौँ र एघारौँ तहका कर्मचारीहरूको सरुवामा उनले सोझै आर्थिक लाभ लिने गरेका छन्’, मन्त्रालय स्रोत भन्छ ।
यसको पैसा ‘सोझै मन्त्रीज्यूलाई बुझाउनु पर्छ’ भन्दै पैसा असुली गर्ने गरेका छन् । ट्रमा सेन्टरका डा बद्री रिजाल होस् या विभागका विकास देपकोटा हुन्, अहिले रेग्मीकै मान्छे भएका छन् ।
कसरी छिरे रेग्मी स्वास्थ्यमा ?
यसअघि स्वास्थ्य सेवा विभाग टेकुमा कार्यरत भइसकेका रेग्मी मन्त्रालयमा जान र त्यसमा पनि स्वास्थ्यमन्त्रीको निजी सचिव भइ काम गर्न हरसम्भव प्रयास गरेका थिए ।
मावलीतिरको नाता जोड्दै स्वास्थ्यमन्त्री पौडलसँग निकट सम्बन्ध कायम राख्न रेग्मी सफल भए । पौडेलका साथी सुयेश पौडेल यिनै रेग्मीका मामाघरतिरका दाजु हुन् ।
रेग्मी निकट व्यक्तिहरु भन्छन्, ‘पावर सेटिङ गर्न यिनी निकै माहिर मानिन्छन् । २०६४ सालतिर माओवादी नेता झंक ढकाल तथा अमर ढकालसँग साइनो जोडेर उनी वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगोर कार्यालय ताहाचलमा जागिर खान पुगेका थिए ।
त्यतिबेला झंक र अमर तत्कालीन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत थिए ।त्यो समयमा वैदेशिक रोजगार कार्यालय निकै आकर्षक कार्यालय मानिन्थ्यो ।
वैदेशिक रोजगार कार्यालयमा हुँदा उनले दिनमै पचास हजारदेखि एक लाख घुस खाने गरेको उनी निकट भएर काम गरेका एक कर्मचारी दाबी गर्छन् ।
अहिले वैदेशिक रोजगार कार्यालय अनलाइन सिस्टममा गएको छ । त्यसैले अहिले यो कार्यालय त्यति आकर्षक मानिँदैन । अनलाइनमा नजाँदासम्म वैदेशिक रोजगार कार्यालमा ब्रम्हलुट नै हुन्थ्यो ।
रेग्मी निकट स्रोत भन्छ, ‘त्यतिबेला रेग्मी झण्डै झण्डै माओवादी भइसकेका थिए । किनभने त्यतिबेला माओवादीको जगजगी थियो । वैदेशिक रोजगार कार्यालयमा हुँदा घुस खाएको पैसाले यिनले काठमाडौँको आर्मी मेडिकल नजिकै सानो भर्याङमा भव्य र आलिशान महल बनाएका छन् ।’
अहिले पनि उनी त्यही महलमा बस्ने गरेका छन् । प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि माओवादीसँगको नाता उनले छाडिदिए । त्यसपछि मामाघरतिरको साइनो जोड्दै प्रदीप पौडेलसँग निकट हुन थाले ।
सधैभर आकर्षक कार्यालय
आफ्नो कर्मचारी जीवनमा उनी सधैभर आकर्षका कार्यालयमा बस्ने गरेका छन् । त्यसमा पनि घुस आउने ठाउँमा छानी छानी बस्ने गरेका छन् ।
बढुवा हुनैको लागि एक पटक उनी मनाङमा बसे । यद्यपि मनाङमा धरै टिकेनन् । शुरुमा मनाङको मालपोत कार्यालयमा बसे ।
त्यहाँ त्यती घुस खान पाएनन् । त्यसपछि उनी मनाङको नासो गाउँपालिकामा काम गरे । तर त्यहाँ पनि त्यति फापेन ।
त्यसपछि उनी स्वास्थ्य सेवा विभाग टेकुमा काम गर्न थाले । स्वास्थ्य सेवा विभागपछि उनी उद्योग विभागमा पुगे । हाकिम रिझाएर उनी विभागकै आकर्षक शाखामा बस्न लागे । काम गरेनन् । घुसमा मात्र चासो राखेको स्रोतको भनाइ छ ।
रेग्मीले २०५५ सालदेखि जागिरी जीवन शुरु गरेका थिए । अवकाश पाउन ४–५ वर्ष मात्र बाँकी छ । शुरुमा उनी मकवानपुरको फर्पिङ गाउँपालिका (हाल थाहा नगरपालिका) मा कार्यरत थिए ।
त्यहीँबाट जागिरे जीवन शुरु गरेका थिए । उनी २४ (घ) अनुसार सुब्बा पदबाट शाखा अधिकृतमा बढुवा भएका हुन् । १२ वर्ष नायब सुब्बामा काम गरिसकेपछि स्वतः बढुवा हुने कानूनमै व्यवस्था छ ।
सोही व्यवस्थाको सुविधामा उनी बढुवा भएका हुन् । अध्ययन गरेर अथवा शैक्षिक डिग्री हासिल गरेर बढुवा भएका होइनन् ।
रेग्मी निकट एक कर्मचारी भन्छन्, ‘यस्ता विवादास्पद व्यक्तिलाई केही गर्छु भन्ने भावना राखेका स्वास्थ्यमन्त्रीले आफ्नो सचिवालयमा कसरी राखे, यो सार्है नै अचम्मको विषय भएको छ ।’