३६४ दिन कांग्रेस हुने तर चुनावका दिन अर्कै हुने प्रवृत्ति बेइमानीको पराकाष्ठा : प्रदीप पौडेल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
907
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेश र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई आत्मसाथ गर्दै पार्टीलाई प्रविधिमैत्री र साङ्गठनिक रूपमा चुस्त बनाउनुपर्नेमा जोड दिएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अबको निर्वाचन परम्परागत शैलीबाट मात्र जित्न असम्भव रहेको स्पष्ट पारे। महामन्त्री पौडेलले पार्टीको डिजिटल उपस्थिति बलियो बनाउन केन्द्रको 'डिजिटल युनिट' ले गर्ने पोस्टहरूलाई तल्लो तहका कार्यकर्तासम्म पुर्याउनुपर्ने बताए।
उनले पार्टीका पुराना सदस्यहरूको विवरण व्यवस्थित गर्न बैंकको 'केवाईसी' जस्तै सदस्यता अद्यावधिक प्रक्रिया सुरु गरिएको जानकारी दिए। कतिपय निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यको सङ्ख्याभन्दा पनि कम मत आउनुलाई उनले 'बेइमानीको पराकाष्ठा' को संज्ञा दिए।
७ हजार १ सय क्रियाशील सदस्य भएको ठाउँमा जम्मा ४ हजार २ सय मत आउनुले पार्टीभित्रको अनुशासन र स्कुलिङमा गम्भीर समस्या रहेको उनले औंल्याए। "३६४ दिन कांग्रेस हुने तर चाहिएको दिन अरू नै हुने प्रवृत्ति अन्त्य हुनुपर्छ," पौडेलले भने।
अहिलेको समयमा सामाजिक सञ्जालको 'एल्गोरिदम' सँग लड्न नसके चुनाव जित्न कठिन हुने उनको तर्क छ। यदि केन्द्रले गरेको कुनै पोस्ट एकैपटक १ लाख सदस्यले सेयर गर्ने हो भने डिजिटल मैदानमा कांग्रेसलाई कसैले हराउन नसक्ने उनले दाबी गरे।
काठमाडौंमा वैशाख महिनाभित्रै सदस्यता अद्यावधिक अभियान सम्पन्न गर्न आह्वान गर्दै उनले यहाँको सफलताले देशभर उत्साह भर्ने विश्वास व्यक्त गरे। यस पटक जिल्ला कार्यालयले नवीकरण गरेका र १५ औँ महाधिवेशनमा समावेश भएका सदस्यहरूको मात्र विवरण सफ्टवेयरमा अद्यावधिक गरिने पनि उनले प्रस्ट पारे।