सुकुमवासी बस्ती हटाउन हतार गरियो, पहिचान र पुनस्र्थापना पहिलो सर्त: प्रदीप पौडेल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
1.5k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले पर्याप्त सूचना र समय नदिई हतार–हतार डोजर चलाउनु मानवीयता र व्यवहारिकताको कसीमा गलत भएको टिप्पणी गरे।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले सुकुमवासी बस्तीमा सबै 'हुकुम्बासी' मात्रै छन् भन्ने प्रचारको खण्डन गरे। उनले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूका लागि पुनस्र्थापनाको ठोस विकल्प तयार पारेपछि मात्रै बस्ती हटाउनु पर्नेमा जोड दिए।
पाल्पा क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप रानालाई बधाई दिन आयोजित कार्यक्रममा पौडेलले वर्तमान सरकारका गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिए। उनले भने, ‘अहिले झन्डै दुई तिहाइको सरकार छ, जसले संख्याको बलमा कतिपय गलत कामहरू पनि जबरजस्ती गर्न सक्छ। कांग्रेसका सांसदहरूले त्यस्ता कार्यको डटेर सामना गर्नुपर्छ र जनतालाई यथार्थ बुझाउनुपर्छ।’
महामन्त्री पौडेलले संवैधानिक परिषद्को संरचनालाई एकपक्षीय बनाउन खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराए। परिषद्लाई सर्वपक्षीय र सन्तुलित बनाउनु राज्यको आधारभूत मर्म भएको तर्क गर्दै उनले लोकतान्त्रिक मूल्य–मान्यता खलबल्याउने छुट सरकारलाई नभएको बताए।
सोही कार्यक्रममा कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले शक्तिशाली सरकारलाई खबरदारी गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेस अझ बलियो र चुस्त हुनुपर्ने बताए। उनले पार्टीभित्रका आन्तरिक विवादहरू अदालत र निर्वाचन आयोग जस्ता निकायबाट निरूपण भइसकेकाले अब विवाद गरेर बस्नुको औचित्य नरहेको उल्लेख गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे।