arrow

भाइरसले स्वास्थ्यको सन्चो बिगार्दै

स्वास्थ्य मन्त्रालयलाई विश्वबन्धुले बनाए बदनाम, मन्त्री पौडेल निरीह

प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि माओवादीसँगको नाता छाडेर मामाघरतिरको साइनो जोड्दै प्रदीप पौडेलसँग निकट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
bishwabandhu-regmi-karmacha.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट नागरिकले धेरै आशा गरेका छन् । तर यो आशा निराशामा परिणत हुने हो कि भन्ने संकेत उनले नेतृत्व गरेको मन्त्रालयमा देखिन थालेको छ । 

पौडेलको सचिवालयमा कार्यरत निजी सचिव विश्वबन्धु रेग्मी मन्त्रालयमा बसेर कमाइ धन्दामा लिप्त भएपछि अहिले मन्त्रालय र आसपासका सरोकारवालाहरू मन्त्रीको समूहसँग छक्क परेका छन् ।

मन्त्रीको बदनाम हुने गरी उनको कार्यकाल असफल तथा विवादास्पद बनाउने काममा रेग्मी उद्यत देखिएका छन् ।  

शाखा अधिकृत रेग्मी अहिले मन्त्रालयको हर्ताकर्ता भएका छन् । उपसचिव सरहको कर्मचारी मन्त्रीको निजी सचिव हुनु पर्नेमा शाखा अधिकृतले सचिवालयको काम गरिरहेका छन् । 

यसअघि मन्त्रीको निजी सचिव भएका उपसचिव शालिकराम दाहाललाई योजना शाखामा पठाइएको छ । दाहाल योजना शाखामा पुगेपछि रेग्मीको हालीमुहाली झनै बढेको छ । 

पछिल्लो समयमा उच्च तहका कर्मचारीहरुको सरुवा, मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभागमा हुने गरेका ठूला ठूला रकमका खरिद तथा औषधि खरिदमा उनले सोझै हस्तक्षेप गर्न थालेका छन् । 

‘मन्त्रीज्यूले भन्नु भएको छ, आदेश दिनु भएको छ भन्दै काम गराउने गरेका छन् । ‘मन्त्रीज्यूले साँच्चै भन्नुहुन्छ कि हुन्न, त्यो थाहा हुदैन’ एक कर्मचारी भन्छन् ।  

‘ट्रमा सेन्टर, वीर अस्पताल तथा स्वास्थ्य सेवा विभागका दशौँ र एघारौँ तहका कर्मचारीहरूको सरुवामा उनले सोझै आर्थिक लाभ लिने गरेका छन्’, मन्त्रालय स्रोत भन्छ । 

यसको पैसा ‘सोझै मन्त्रीज्यूलाई बुझाउनु पर्छ’ भन्दै पैसा असुली गर्ने गरेका छन् । ट्रमा सेन्टरका डा बद्री रिजाल होस् या विभागका विकास देपकोटा हुन्, अहिले रेग्मीकै मान्छे भएका छन् । 

कसरी छिरे रेग्मी स्वास्थ्यमा ?
यसअघि स्वास्थ्य सेवा विभाग टेकुमा कार्यरत भइसकेका रेग्मी मन्त्रालयमा जान र त्यसमा पनि स्वास्थ्यमन्त्रीको निजी सचिव भइ काम गर्न हरसम्भव प्रयास गरेका थिए । 

मावलीतिरको नाता जोड्दै स्वास्थ्यमन्त्री पौडलसँग निकट सम्बन्ध कायम राख्न रेग्मी सफल  भए । पौडेलका साथी सुयेश पौडेल यिनै रेग्मीका मामाघरतिरका दाजु हुन् । 

रेग्मी निकट व्यक्तिहरु भन्छन्, ‘पावर सेटिङ गर्न यिनी निकै माहिर मानिन्छन् । २०६४ सालतिर माओवादी नेता झंक ढकाल तथा अमर ढकालसँग साइनो जोडेर उनी वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगोर कार्यालय ताहाचलमा जागिर खान पुगेका थिए । 

त्यतिबेला झंक र अमर तत्कालीन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत थिए ।त्यो समयमा वैदेशिक रोजगार कार्यालय निकै आकर्षक कार्यालय मानिन्थ्यो ।

वैदेशिक रोजगार कार्यालयमा हुँदा उनले दिनमै पचास हजारदेखि एक लाख घुस खाने गरेको उनी निकट भएर काम गरेका एक कर्मचारी दाबी गर्छन् । 

अहिले वैदेशिक रोजगार कार्यालय अनलाइन सिस्टममा गएको छ । त्यसैले अहिले यो कार्यालय त्यति आकर्षक मानिँदैन । अनलाइनमा नजाँदासम्म वैदेशिक रोजगार कार्यालमा ब्रम्हलुट नै हुन्थ्यो । 

रेग्मी निकट स्रोत भन्छ, ‘त्यतिबेला रेग्मी झण्डै झण्डै माओवादी भइसकेका थिए । किनभने त्यतिबेला माओवादीको जगजगी थियो । वैदेशिक रोजगार कार्यालयमा हुँदा घुस खाएको पैसाले यिनले काठमाडौँको आर्मी मेडिकल नजिकै सानो भर्याङमा भव्य र आलिशान महल बनाएका छन् ।’ 

अहिले पनि उनी त्यही महलमा बस्ने गरेका छन् । प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि माओवादीसँगको नाता उनले छाडिदिए । त्यसपछि मामाघरतिरको साइनो जोड्दै प्रदीप पौडेलसँग निकट हुन थाले ।

सधैभर आकर्षक  कार्यालय
आफ्नो कर्मचारी जीवनमा उनी सधैभर आकर्षका कार्यालयमा बस्ने गरेका छन् । त्यसमा पनि घुस आउने ठाउँमा छानी छानी बस्ने गरेका छन् । 

बढुवा हुनैको लागि एक पटक उनी मनाङमा बसे । यद्यपि मनाङमा धरै टिकेनन् । शुरुमा मनाङको मालपोत कार्यालयमा बसे । 

त्यहाँ त्यती घुस खान पाएनन् । त्यसपछि उनी मनाङको नासो गाउँपालिकामा काम गरे । तर त्यहाँ पनि त्यति फापेन । 

त्यसपछि उनी स्वास्थ्य सेवा विभाग टेकुमा काम गर्न थाले । स्वास्थ्य सेवा विभागपछि उनी उद्योग विभागमा पुगे । हाकिम रिझाएर उनी विभागकै आकर्षक शाखामा बस्न लागे । काम गरेनन् । घुसमा मात्र चासो राखेको स्रोतको भनाइ छ । 

रेग्मीले २०५५ सालदेखि जागिरी जीवन शुरु गरेका थिए । अवकाश पाउन ४–५ वर्ष मात्र बाँकी छ । शुरुमा उनी मकवानपुरको फर्पिङ गाउँपालिका (हाल थाहा नगरपालिका) मा कार्यरत थिए । 

त्यहीँबाट जागिरे जीवन शुरु गरेका थिए । उनी २४ (घ) अनुसार सुब्बा पदबाट  शाखा अधिकृतमा बढुवा भएका हुन् । १२ वर्ष नायब सुब्बामा काम गरिसकेपछि स्वतः बढुवा हुने कानूनमै व्यवस्था छ । 

सोही व्यवस्थाको सुविधामा उनी बढुवा भएका हुन् । अध्ययन गरेर अथवा शैक्षिक डिग्री हासिल गरेर बढुवा भएका होइनन् । 

रेग्मी निकट एक कर्मचारी भन्छन्, ‘यस्ता विवादास्पद व्यक्तिलाई  केही गर्छु भन्ने भावना राखेका स्वास्थ्यमन्त्रीले आफ्नो सचिवालयमा कसरी राखे, यो सार्है नै अचम्मको विषय भएको छ ।’ 


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ