arrow

नेपालको इतिहासको भ्रम हटाउनै पर्छ         

logo
शीतल गिरी,   
प्रकाशित २०८१ भदौ ८ शनिबार
sheetal-giri-81-5-8.jpg

नेपालमा इतिहासको गहिरो अध्ययन–अध्यापन पहिलेदेखि नै हुँदैनथ्यो भन्ने कुरा इतिहासको रूपमा लेखिएका वंशावलीहरूका घटनाक्रम आनकोतान परेकाबाट थाहा हुन्छ । इतिहासतर्फ हामी यतिसम्म निःस्पेह छौं— हामी आफ्ना बाबुबाजेको विषयमासमेत खास खास कुरा जान्दैनौँ ।

इतिहासको नाउँमा अज्ञानतावश कल्पित घटना प्रचारमा आउने गरेको पनि विवश भएर कहिलेकाहीँ सुन्नु र हेर्नुपर्छ । भूतकालको सत्य घटनाको सुनिश्चित विवरण–कल्पित तथ्याङ्कभन्दा सत्यताको आधारमा वास्तविकता व्यक्त गरिनु पर्छ । यस्तो कुरा धेरै किताबमा अहिलेसम्म पाउन त मुस्किल छ ।         

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल (वि.सं. १९८१–२०३५) ले नेपालमा माक्र्सवादी ऐतिहासिक भौतिकवादी प्रवृत्तिबाट इतिहास लेख्नेकाम भयो । उनले देख्न थालेको नेपालको इतिहास सम्बन्धी अंश ‘नेपाली समाजको ऐतिहासिक सर्वेक्षणको आवश्यकता’ (नवयुग, २० वर्ष, ९ अंक, २०६७, पृ.१०३–१०७) हो ।     
    
पुष्पलालले इतिहासको परिशीलन राम्रोसँग गरेको हुँदा तथ्यमा गल्ती सितिमिति भेटिँदैनन् । तर पछिल्ला नेपाली साम्यवादीहरूले विदेशीको परोक्ष वा प्रत्यक्ष प्रभावमा लेखेका नेपालको इतिहासका पुस्तक ज्यादै फितलो बन्न पुगेको लाग्दछ । साम्यवादी चस्मा लगाएर हेर्दा सबै स्पष्ट । 

तथ्यको आधारमा सत्य पहिल्याउन खोज्दा सबै अस्पष्ट । मेरा यी आँखाले देखेका एक कुरा, नेपालका साम्यवादी लेखकले लेखेका नेपालको इतिहासमा पढेको एक कुरा । मेरो कानले सुनेको एक थोक, लेखिएको पुस्तक बाध्यतावश त नभनौँ आफ्नै उत्सुकता, आफ्नै बानीको कारण पढेर बुझ्दैछु एक कुरा र वास्तविकता डा.महेशराज पन्तबाट समय समयमा पाउँदेछु त्यो एक कुरा ।         

लोककृष्ण भट्टराईको “नेपाली सभ्यताः विगत र वर्तमान” बाट प्रारम्भ गरौँ । यस पुस्तकको प्रशंसामा साम्यवादीहरू र कम्युनिष्ट पार्टीका ठूला नेताले प्रशस्तै प्रशंसा गरेका छन् । यो कुरा पत्रपत्रिकाका पुराना अंक खोतलेर हेर्दा थाहा हुन्छ नै । 

स्थिति यस्तो भए पनि, तथ्यको हिसावले यो पुस्तक निम्न कोटिको रहेको डा. महेशराज पन्तले (कान्तिपुर, २०७४।०१।१२, क) देखाउनु भएको छ । लोककृष्ण भट्टराईको “नेपाली सभ्यताः विगत र वर्तमान” लाई एक अर्थमा हेमराज शाक्य (वि.सं. १९८३–२०६६) सँग दाज्न सकिन्छ भनेर डा.पन्तले लेख्नु भएको छ । 

डा.पन्तको शब्दमा, ‘श्री स्वयम्भू महाचैत्य’ मा विपश्वी बुद्धको आगमनदेखि महर्षि महेश योगी (वि.सं.१९७४–२०६४) को स्वयम्भू दर्शनसम्मको विषय समेटिएको छ “नेपाली सभ्यताः विगत र वर्तमान” मा ‘राष्ट्रियताको जागरण र राष्ट्र सृजना गर्ने सन्दर्भमा’ देवाधिदेव शिवदेखि मोहन वैध (वि.सं. २००३) सम्मको गाथा गाइएको छ । 

सो पुस्तकमा शास्त्रीय शब्दको वर्णविन्यासमा पटक्कै ध्यान दिन नसक्दा गलतको संख्या पर्याप्त छ । यसो त नेपाली संस्कृतिले वर्षको एकपल्ट महादेवलाई बुद्ध बनाएर बौद्ध पद्धतिले पूजा गर्ने चलन चलाएको छ ।         

यसकारण भन्न मन लाग्छ— ‘बुद्धम् शरणम् गच्छामि ।’ गल्तीकै कुरा गर्ने हो भने वाल्मीकिको प्रसिद्ध श्लोक ‘मा निषद .....’ को उद्धरणमा ‘मनिशदा .....’ (पृ.७३) हुन गएको छ । भोटको राजा श्रोङ्चन गम्पोलाई एक ठाउँमा ‘चिनियाँ राजकुमार सोङचङ गम्पो’ (पृ.२२) र अर्को ठाउँमा ‘चिनियाँ वा भोटका राजकुमार सोङचङ गम्पो’ (पृ.४८) भनिएको छ । ‘परापूर्व कालदेखि जब सभ्यता शुरु भयो त्यसबेलादेखि नै दशैँ मनाइँदै आएको छ’ (पृ.४०) भनी सबभन्दा पुरानो चाडको रूपमा बयान गरिए पनि खिलशर्म राजीवलोचन जोशी स्मारक प्रतिष्ठान, काठमाडौँबाट २०७४ सालमा प्रकाशित महेशराज पन्तको ‘जनैपूर्णिमादेखि रानीपोखरीसम्म’ (पृ. ६–१०) बाट पनि जनैपूर्णिमा, तिहार र फागुको दाँजोमा दशैँ त्यति प्राचीन चाड नभएको थाहा पाइन्छ ।         

‘राजा जयदेव–प्रथमदेखि वृषभदेवसम्म सबै जनताद्वारा निर्वाचित राजा (राष्ट्राध्यक्ष) थिए’ (पृ.९२) भनी लेखे पनि गतिलो खदिलो तर्कको अभाव खड्किएको छ । ‘रामशाहका छोरा नरभूपाल शाह पनि त्यति क्रूर थिएनन्.......’ (पृ. ५०) भनी लेखे पनि वास्तवमा नरभूपाल शाह, राम शाहका छोरा नभइ उनका जनाति पृथ्वीपति शाहका नाति हुन् ।         

लक्ष्मण पन्तको ‘आधुनिक नेपालको इतिहास’ मा साल इस्वी संवतमा र महिना विक्रम संवत्मा लेखिएकोले अलि अनौठो जस्तो पनि लाग्छ । विराट ज्ञानका भण्डार नयराज पन्तले चलाएको संशोधन–मण्डलको अथक प्रयासले गर्दा अब विदेशी स्रोतहरूमा नेपाली इतिहास लेखन गर्दा निर्भर रहनु नपर्ने स्थिति आइसकेको छ । 

विदेशी विद्वानहरूले गरेको खोजीलाई संशोधन–मण्डलको तथ्यमा आधारित खोजीले उछिनिसकेको छ । नेपालको आधुनिक इतिहासमा कलम चलाउनेहरूको नामसूचीमा संशोधन–मण्डलको नाउँ छुटाउनु भनेको सत्यलाई कुल्चनु जस्तै हो । चौबीसे राज्यमध्येको गोरखा राज्य पृथ्वीनारायण शाहको आगमनपूर्व नै स्थापित नाम बनिसकेको थियो । गोरखाली राजा द्रव्य शाह, राम शाह, डम्बर शाह र पृथ्वीपति शाह प्रतापी राजामा गणना भइसकेका थिए— ‘न्याय नपाए गोर्खा जानू’ ले सत्य बोलिरहेको हुँदा इतिहासकार पन्त भ्रममा रहेको थाहा हुन आउँछ ।     

एकीकरणको क्रममा गोरखा राज्यले जालदुम विजय वि.सं. १८०३ भदौ १९ गते गरे पनि यो विजय दीगो भएन । दोस्रो पटक पनि त्यस्तै भयो । यथार्थ कुरो नबुझ्दा ‘आधुनिक नेपालको इतिहास’ मा एक ठाउँमा ‘१७४६ को भाद्र महिनामा उनले नालदुम र महादेवपोखरी आफ्नो अधीनमा ल्याउन सफल भए’ (पृ. ४९) र अर्को ठाउँमा ‘वि.सं. १८११ श्रावण २७ गते नालदुम विजय’ (पृ. ६४) भनी लेखिएको छ । 

वामदेव गौतमको ‘नेपाल नवनिर्माण महाअभियान’ मा पनि यस्तै किसिमका त्रुटि महेशराज पन्तले फेला पार्नु भएको छ । लिच्छवि राजा शङ्करदेव ‘........ का नाति राजा मानदेव (प्रथम, इ.सं. ४६५–५०५) ले नेपालको राज्य विस्तार कोशीदेखि कर्णालीसम्म गरेका थिए । यादव (गोपाली), किराँती, तिब्बती, पाली र मैथिली (संस्कृत) भाषाभाषीहरूको सम्मिश्रणबाट नेवारी भाषाको विकास भयो’ (पृ.१२) । तर गौतममात्र पहिला व्यक्ति होइनन् जसले हावामा झटारो हानेर आफ्नो कल्पना इतिहासको नाममा स्थापित गराउन खोज्ने ।     
    
पन्धौं शताब्दीमा तयार गरिएको वंशावलीमा लिच्छविवंशका सुपुष्पदेवले नेपालभूमिमा चातुर्वण्य चलाएको लेखिएको छ र लिच्छवि राजा द्वितीय जयदेव (निश्चत राज्यकाल वि.सं.७७१–७९०) को शिलालेखअनुसार सुपुष्पपछिका चौधौं राजा शङ्करदेव हुन् । शङ्करदेवभन्दा सयौं वर्ष अगाडि नै जातिव्यवस्था भइसकेको कुरा परम्परादेखि चलिआएको स्पष्ट हुन्छ ।         

‘लिच्छवि राज्यमाथि मल्लहरूले आक्रमण गरी ईशाको नवौं शताब्दीमा आफ्नो राज्य स्थापना गरे’ (पृ. २९) भन्ने वाक्य हचुवाको भरमा लेखिएको प्रष्ट हुन्छ । किनभने मल्लहरू त राजाको रूपमा तेह्रौं शताब्दीको उत्तरार्धदेखि मात्र देखिन थालेका हुन्, त्यसपछि पनि स्थितिराज मल्लको उदय नभएसम्म देवान्तनामधारी राजाहरू र मल्ल राजाहरूले आलोपालो गरी राज्य गर्दै थिए । 

डा.महेशराज पन्तका अनुसार संवत् १९८ पौष शुक्लदशमीमा एउटा उत्कीर्ण लेख (अप्रकाशित) जारी गर्ने राजा रुद्रदेवलाई ‘लिच्छविकमलाकरविकसनैकदक्ष’ अर्थात् ‘लिच्छवि रूपी कमलको रास फुलाउन एक मात्र दक्ष’ भनी लेखिएकोबाट पनि यी राजाहरू लिच्छवि नै थिए भन्ने प्रमाणित हुन्छ ।’ 

‘सिन्जा राज्यअन्तर्गत २२ राज्य समूह, पाल्पाअन्तर्गत २४ राज्य समूह, काठमाडौँ अन्तर्गत ४ राज्य समूह अनि काठमाडौँ पूर्व ११ किरात गणराज्यहरू थिए’ (पृ.१४) भनी लेखिएकोमा नेपाल खाल्डो पृथ्वीनारायण शाहले नजितुञ्जेलसम्म काठमाडौँ, ललितपुर र भक्तपुर ३ राज्यमात्र थिए ।

रामराज रेग्मीको ‘नेपालको इतिहास— एक माक्र्सवादी दृष्टिकोण’ अघिल्ला ३ पुस्तकभन्दा बढी सुघटित रूपले लेखिएको पाइन्छ । यस पुस्तकको सबै भन्दा ठुलो कमजोरी पृ. १३५ मा रहेको वाक्य ‘ह्यामिल्टनले तीन राज्य कालमा सामान्य नेपाली श्रमिकको दैनिक ज्याला १ अना र सिकर्मी–डकर्मीको हकमा दुई वा तीन आनासम्म थियो’ पनि हो । सो पंक्ति उनले प्रेमकुमार खत्रीको ‘नेपाली समाज र संस्कृति’ भन्ने पुस्तकमा रहेको— ‘१८०१ ईं मा नेपाल आउने ह्यामिल्टनले त्यस बेला नेपाली श्रमिकको दैनिक ज्याला एक आना, सिकर्मी–डकर्मी भए दुई वा तीन आनासम्म थियो’ बाट सार्दा हुन गएको हो ।         

त्यस किताबमा शब्दको वर्णविन्यास कति गलत ढङ्गले भएको छ भन्ने कुराको उदाहरण ‘कुणिन्द’ लाई ‘कुनिन्द’ (पृ. ५०), ‘धिग्दण्ड’ लाई ‘दिग्दण्ड’ (पृ. ७७), ‘सहोत्तरतन्त्र’ लाई ‘सहोदरतन्त्र’ (पृ. १२३) ‘व्रात्य’ लाई ‘वात्र्य’ (पृ. १४६) लेखिएको पाइएका छ । ‘इसापूर्व तेस्रो शताब्दीमा रचना भएको कौटिल्यको अर्थशास्त्रमा वाग्मती उपत्यकामा रहेको राज्यलाई ’नेपाल‘ भनी सम्बमेधन गरिएको छ’ (पृ. ४८) भनी लेखिएको प्रसङ्ग पनि निकै अमिल्दो छ, दृष्टान्त आन र तानको फरक पर्न गएको छ । 

‘कौटलीय अर्थशास्त्र’ मा राजकीय ढुकुटीमा दाखिल हुने असल असल वस्तुको सूचीमा आविक अर्थात् भेँडाको रौँबाट बन्ने राडीपाखी प्रसङ्गमा नेपालका घुम र कम्बलको कुरा परेको हो । ‘समुद्र गुप्तकै प्रयाग प्रशस्तीमा नेपाललाई “प्रयन्त राज्य” (सिमानाको राज्य) भनिएको छ । समुद्र गुप्तपछिका कुनै पनि भारतीय राजाहरूले नेपाललाई करद राज्यको व्यवहार गरेको पाइन्न’ (पृ. ७४) भनी लेखिएको छ । समुद्र गुप्तको प्रयागप्रशस्तिमा ‘समतट, डवाक, कामरूप, नेपाल, कर्तपुर आदि सीमानाका राजाहरूले र मालव, आर्जुनायन, यौधेय, माद्रक, आभीर, प्राजून, सनकानीक, काक, खरपटिक इत्यादि (गण) हरूले पनि सबै किसिमको कर तिरेर, हुकुम्मा तामेल रहेर, सलामीमा हाजिर भएर जसको (समुद्र गुप्तको) कडा स्थिति–बन्देजको पालन गर्दछन्’ (इतिहास–संशोधनको प्रमाण–प्रमेय) भनी लेखिएको छ । लिच्छविकालमा ‘....... त्यतिखेर सिक्काको प्रचलन नहुनाका कारण दरबार र विभिन्न अड्डाहरूमा काम गर्ने कर्मचारीलाई आजभोली जस्तो महिनामहिनामा तलवबापत नगद दिने व्यवस्था थिएन’ (पृ. ८३) भन्ने भनाई पनि तथ्यभन्दा पर गएको छ । 

मानदेवको पालादेखिकै सिक्का देखिएकोले सिक्काको चलन थिएन भन्न मिल्दैन । सिक्का देखिएपछि तलववापत नगद दिइएन भन्ने कुरा सत्य नभएकोतर्फ हामीले विचार गर्नुपरेको छ । यदि हामी नेपालको प्राचीन इतिहास तथ्यको आधारमा पढ्ने हो भने, असत्य कुरा जति पन्छाउँदै पर्छ । नेपालको इतिहास शुद्ध बनाउन इतिहास–संशोधन मण्डलले निकै काम गरिसकेको छ तर पाउनु पर्ने जति प्रतिष्ठा पाउन सकेको छैन । त्यसैंले म विदेशी लेखकले लेखेको नै सत्य हो भनेर भन्न सक्तिन । नेपाली दृष्टिकोणले प्रमाण पुर्याएर लेखिएको इतिहास प्रकाशित भैसकेपछि विदेशी लेखकका कपोल कल्पीत कुरा नै सत्य भनेर किन भन्ने ।         

‘शासक वर्गमा रहेका लिच्छविहरू बुद्धधर्मबाट प्रभावित खस भएकाले वर्णाश्रम व्यवस्थामा ती कट्टर थिएनन्’ (पृ. ८९) को यो वाक्य नै हाँस्यास्पद छ, किनभने लिच्छविहरू खस नभएको थाहा नपाउनु सामान्य भुल होइन । लिच्छवि नेपाल आउनुअघि बैशालीमै छँदा बुद्ध धर्मको प्रभाव परिसकेको थियो, तिनीहरू वर्णाश्रम व्यवस्थाका पक्षपाति थिएनन् । नेपालको इतिहासको विषयमा मनमौजी किसिमले तथ्यभन्दा टाढा रहेर कलम चलाउँदा यस्ता गल्ती देखापरेका हुन् भनेर भन्न सकिन्छ ।
 



नयाँ