arrow

त्रासमा नेप्से

अर्थमन्त्रीकै भविष्यमा शंका हुँदा ‘रिभर्स गियर’ मा शेयर बजार

व्यवसायीमाथि राजनीतिक प्रतिशोधको निरन्तरताले शेयर बजारमा अर्को त्रास

logo
शंकर अर्याल,
प्रकाशित २०८० चैत १० शनिबार
barshaman-share.jpg

काठमाडौँ । चैत शुरु भएसँगै शेयर बजारमा खडेरी लाग्न थालेको छ । चैते खडेरीलाई मौसमले च्यालेञ्ज गरिरहेको बेला शेयर बजार भने राताम्मे देखिएको हो । अधिकांश परिसूचक तथा कम्पनीको मूल्य घट्दा चैत लागेपछि शेयर बजारका लगानीकर्ता दुःखी हुन थालेका छन् । 

नयाँ सरकारको गठनको समयमा उचालिएको बजार वर्षमान पुन अर्थमन्त्री बन्ने भएसँगै घटेको थियो । उनी अर्थमन्त्री भएपछि दिएका अभिव्यक्ति र प्रयासले बजारमा सकारात्मक आशा देखाएको भए पनि उनी आउने चर्चापछि घटेको शेयर बजारले रिकभर मात्रै गरेन अझै माथि गयो । 

चैत लागेपछि भने शेयर बजार बढेको छैन । फागुनको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक २१०८.७२ अंकमा थियो । अहिले पहिलो २०४८.५७ विन्दुमा कायम छ । 

चैतको पहिलो तीन कारोबार दिनमा लगभग ४० अंक घटेपछि सामान्य अंकले बढेको नेप्सेले त्यसपछि भने करेक्सनको बाटोलाई निरन्तरता दिएको देखिन्छ । 

सोही कारणले यो अवधिमा शेयर बजारको पूँजीकरण ६६ अर्ब रुपैयाँले घटेको छ । अहिले शेयर बजारको कुल सम्पत्ति ३२ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ ।

बजारको गिरावटमा राजनीतिक कारण बढी
अहिले शेयर बजार किन घट्नुमा राजनीतिक कारण बढी र आर्थिक कारण कम रहेको विश्लेषकहरुको भनाइ छ । 

शेयर बजारका लगानीकर्ता तथा विश्लेषक उत्तम खड्का शेयर बजारको अहिलेको गिरावटमा राजनीतिक कारण बढी र आर्थिक कारण कम रहेको बताउँछन् । 

खासगरी नयाँ सत्ता समीकरण र अर्थमन्त्री वर्षमान पुनको भविष्य थप अनिश्चित बन्दै जाँदा यो अवस्था देखिएको उनको विश्लेषण छ ।  

नयाँ सत्ता समीकरण बनेसँगै शेयर बजारले शुरुमा वर्षमानलाई अर्थमन्त्रीका रुपमा स्वीकार गर्न सकेको थिएन । 

सोही कारण सत्ता फेरबदलसँगै सकारात्मक सर्किट लागेको बजारमा भोलिपल्टै ठूलो करेक्सन भएको थियो । 

अर्थमन्त्री बनेपछि उनले दिएको अभिव्यक्ति र बजार सुधारका लागि थालेका सकारात्मक प्रयासले बजारलाई उर्जा दिएको थियो । पदभार ग्रहणपछि उनले दिएका अभिव्यक्ति, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग देखिएको सुमधुर सम्बन्ध र पूँजी बजार सुधार गर्न भन्दै पूँजीबजार सम्बद्ध निकायलाई उनले दिएको लिखित निर्देशन लगायतका कारणले उनीप्रति सकारात्मक बन्दै गएको थियो । 

विश्लेषक खड्का भन्छन्, ‘बजारले त विष्णु पौडेललाई नै अर्थमन्त्रीको रुपमा खोजेको थियो । तर पुनको पछिल्लो गतिविधिका कारण बजारले आमा नभएपछि मामाको रुपमा हेरेको छ ।’

पछिल्लो समयमा विकसित घटनाक्रमले उनको भविष्यमाथि नै बजारले शंका गर्न थालेको खड्का बताउँछन् । 

खासगरी सुन तथा सहकारी घोटाला प्रकरणमा माओवादीका उच्च नेताहरु संलग्न रहेको भन्दै धमाधम पक्राउ गर्दै जाँदा यसमा पुनको संलग्नताबारेसमेत शंका उत्पन्न हुँदै गएको छ । 

यो घटनामा उनी पनि व्यक्तिगत रुपमा तानिन सक्ने वा वर्तमान सत्ता समीकरण नै नरहन सक्ने शंकासमेत शुरु भएको छ । 

त्यसो त पछिल्लो समय उद्यमी व्यवसायीहरु फेरि त्रसित हुन थालेका छन् । सरकार पुनर्गठनसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायीमाथि धरपकड नगर्न गृहमन्त्री र अर्थमन्त्रीलाई निर्देशन दिएको बताए पनि कार्यान्वयनमा त्यस्तो देखिएको छैन । 

पक्राउ नगरे पनि बिहीबार उद्योगपति एवं सांसद विनोद चौधरीमाथिको अनुसन्धान राजनीतिक प्रतिशोध प्रेरित भएको देखिन्छ । प्रहरीले सभामुखलाई लेख्नै नपर्ने पत्र लेखेर भाइरल बनाउनुले यो राजनीतिबाट प्रभावित रहेको देखिएको चौधरी स्वयंले प्रष्ट पारेका छन् । 

अहिले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै आएको छ ।

अध्यक्ष नियुक्तिमा ढिलासुस्तीले अन्योल
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भइरहेको ढिलाइ, पूँजी बजार सुधारका लागि थालिएको प्रयासमा भइरहेको अन्योललगायत विषयले पनि बजारलाई सकारात्मक बनाउन सकिरहेको छैन । 

अहिले धितोपत्र बोर्डमा अध्यक्ष हुने सम्भावना देखिएकाहरुसँग शेयर बजार सकारात्मक छैन । त्यसमाथि त्यो नियुक्तिमासमेत अहिले ढिलाइ हुँदै आएको छ । समितिका सदस्य रहेका अर्थसचिव कृष्णहरि पुष्कर यतिबेला विदेश भ्रमणमा छन् । 

अर्कोतिर पूँजी बजार सुधारका लागि एक हप्ता तोकेर कार्ययोजना पढाउन दिइएको निर्देशन दिइए पनि बोर्डले समयमा कार्ययोजना पठाएन । 

अध्यक्ष नभएको र कार्यबाहकको जिम्मा नपाएको अवस्थामा बोर्डले पठाएको कार्ययोजना कार्यान्वयनबारे समेत अन्यौल छ । यो कारणले अर्थमन्त्रीले सकारात्मक प्रयास थाले पनि यसले सार्थकता पाउन सकिरहेको छैन ।

त्यसो त सरकार परिवर्तनताका बढेको शेयर बजारको नाफा बुक गर्न पनि बजारमा बिक्रीको प्रेसर बढेको हुन सक्ने शेयर बजारका अर्का विश्लेषक देव गुरागाई बताउँछन् । 

चैत मसान्तमा बैंकहरुको ब्याज तथा किस्ता तिर्नुपर्ने लगानीकर्ताले अहिले नै बिक्री गरेर सुरक्षित हुन चाहेको हुनसक्ने उनको भनाइ छ । 

अर्कोतिर बैंक तथा वित्तीय संस्था ऐनको संशोधनसम्बन्धी संसदमा दर्ता भएको विधेयकबारे सूचना पहिलै बाहिर आउँदा पनि यसले शेयर बजारमा केही करेक्सन भएको हुनसक्ने गुरागाई बताउँछन् । 

यद्यपि बजारमा सबै उपसूचकका शेयर नघटेको भन्दै लगानीकर्ताले क्षेत्र हेरेर लगानीको निर्णय लिन थालेको उनको तर्क छ ।  

अरु सूचक घट्दा फाइनान्स र माइक्रोमा उछाल
चैत शुरु भएपछि समग्रमा शेयर बजार घटे पनि फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयरमूल्य बढेको छ । 

बजारमा फाइनान्स उपसूचक २.०१ प्रतिशतले बढ्दा माइक्रोफाइनान्स १.६६ प्रतिशतले बढेको छ । 

अरु उपसूचकहरुमध्ये उत्पादनमूलक क्षेत्र सबैभन्दा बढी ४.४३ र जीवनबीमा क्षेत्रको सूचक ४.०१ प्रतिशतले घट्दा बाँकीमध्ये अन्य क्षेत्र, बैंकिङ क्षेत्र, होटल क्षेत्र, निर्जीवन बीमा क्षेत्र र हाइड्रो क्षेत्रमा समेत ३ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । विकास बैंक, म्युचुअल फण्ड व्यपारमूलक क्षेत्रको परिसुचकमा सामान्य गिरावट आएको छ ।   

यो अवधिमा बजारमा सर्वोत्तम सिमेन्टको शेयर सूचीकृत भइ दुइवटा कारोबार दिनसम्म सकारात्मक सर्किट लागेको छ । 

उक्त कम्पनीको शेयर दोस्रो बजारमा ७३९ रुपैयाँमा अन्तिम कारोबार भयो । यही अवधिमा लकइन पिरियड सकिएको रु रु जलविद्युतको शेयरमूल्यमा सामान्य गिरावट आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ