arrow

मण्डनदेउपुरको विकासमा सरकारको सधै सहयोग रहन्छ : अर्थमन्त्री महत

logo
सरोजश्री अधिकारी,  
प्रकाशित २०८० कार्तिक ६ सोमबार
prakashsharan-mahat-2080-07-06.jpg

काभ्रेपलान्चोक । संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले काभ्रेको मण्डनदेउपुर क्षेत्रको समग्र विकासका लागि सरकार सधै सकारात्मक रहेको र यसमा पालिकाले अग्रस्थानमा रहेर भूमिका खेल्न जरुरी रहेको बताएका छन् । 

सोमबार काभ्रेको मण्डनदेउपुर नगरपालिका १० मा पुनर्निर्माण भएको श्री उमादेवी माइ र भिमसेन मन्दिरको उद्घाटन गर्दै उनले पछिल्ला केही वर्ष यता मण्डनदेउपुरले पनि विकासमा गति लिएको र यो क्रम निरन्तरताको लागि सरकारले सधैँ सहयोग गर्ने बताएका हुन् । 

यहाँको अवस्था देख्दा आफूलाई पर्यटकीय स्थानको रुपमा विकास गर्न मन लागेको उल्लेख गर्दै अर्थमन्त्री महतले मण्डनदेउपुरका मुख्य सडक कालोपत्रे भइरहेकोमा अब महादेवस्थानदेखि चण्डेनी थुम्का हुँदै हल्देछाप र दोलालघाट जोड्ने र फेदीदेखि चण्डेनी हुँदै इन्द्रावती जोड्ने सडकलाई पक्की बनाउन सरकारले बजेट छुट्याउने बताए। मण्डनको कृषिक्षेत्र, खानेपानी, धार्मिक मठमन्दिर, सडक लगायतका विकास निर्माणका लागि आफ्नोतर्फबाट हुनसक्ने सबैखाले सहयोग दिन तयार रहेको उनले आश्वासन दिए । 

आफूले तत्कालै यो क्षेत्रमा यति नै बजेट छुट्याउने भन्न नसक्ने भए पनि मण्डनदेउपुरका हरेक क्षेत्रमा आवश्यक आर्थिक सहयोग गर्न सरकार तयार रहेको तर त्यसलाई सदुपयोग गर्न स्थानीयवासी, पालिका र जनप्रतिनिधिले भूमिका खेल्नु पर्नेमा उनले जोड दिए । 

ऐतिहासिक उमादेवी र भिमसेन मन्दिर ०७२ सालको विनासकारी भूकम्पपछि पूर्णरुपमा क्षति भएको थियो । त्यसलाई नगरपालिका र पुरातत्व विभाग लगायत विभिन्न संस्थाहरुको सहयोगमा गतवर्ष पुनर्निर्माण गरिएको थियो । ती मन्दिरको उद्घाटनका लागि अर्थमन्त्री डा महत मण्डनदेउपुर पुगेका हुन् । 

उनलाई उमादेवी मन्दिरको महत्व र यहाँ निर्माण हुन बाँकी केही संरचनाका बारेमा उपप्रमुख विष्णुमणि नेपालले अवगत गराएका थिए । साथै उपप्रमुख नेपालले समग्र मण्डनदेउपुर नगरपालिकाका लागि सरकारले गर्नुपर्ने सहयोग र पालिकाले गरिरहेका कामहरुको बारेमा अर्थमन्त्रीसमक्ष जानकारी गराउँदै मागपत्र पनि हस्तान्तरण गरे। सो मागपत्रका उपर अध्ययन गरेर छिट्टै नै सहयोगका कार्यक्रम सार्वजनिक गर्ने अर्थमन्त्री महतको प्रतिबद्धता थियो । 

विकासका लागि देशभरिबाट माग आउने गरेकाले आफूले सबै ठाउँको उतिकै जिम्मेवारी लिनु पर्ने बाध्यताका कारण बजेटको विनियोजन गर्दा सबैलाई सन्तुलनमा राख्नु पर्ने बताउँदै उनले मण्डनदेउपुरलाई सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाइवाले मण्डनदेउपुर जिल्लामै ऐतिहासिक र पर्यटकीय ठाउँ भएर पनि हुनु पर्ने जति प्रचार नभएका कारण विकासमा पछि परेको बताउँदै नगरपालिकाको विकासका लागि आफू सधैं सक्रियतापूर्वक लागिपर्ने बताए । यसैगरी वागमती प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सबै मिलेर अघि बढ्ने हो भने समग्र नगरपालिका र जिल्लाको विकास सम्भव भएको औंल्याए। 

पर्यटकीय सम्भावना बोकेको कोटथुम्का

जिल्ला सदरमुकाम धुलिखेलबाट ३० किलोमिटरको दूरीमा  रहेको कोटथुम्का विशेषगरि पर्यटकहरुको मुख्य गन्तव्य स्थान हो । यहाँँबाट सर्वोच्च शिखर सगरमाथा लगायत गणेश, जुगल, गौरीशंकर, लाङ्गटाङ्ग तथा अन्य हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । 

थुम्का वरिपरि ऐतिहासिक उमादेवी मन्दिर, गुप्तेश्वर महादेव गुफा, खर्कको पोखरी लगायतका महत्वपूर्ण गन्तव्यहरु छन् । काभ्रे र सिन्धुको सिमाना भएर बग्ने इन्द्रावती नदीको मनमोहक दृष्यले त त्यहाँ पुग्ने जो कसैको मन पनि लोभ्याउने गर्छ ।

 नजिकै रहेका जंगलहरुमा फागुन–चैत महिनामा ढकमक्क हुने गरि लालीगुराँस फुल्ने गर्छ । यो यस ठाउँको मुख्य सौन्दर्य र आकर्षण  पनि हो ।  विसं १९९० सालको भूकम्प जानुभन्दा पहिले यहाँबाट राजधानीमा रहेको १८ तले धरहराको पनि अवलोकन गर्न सकिने भएकाले त्यतिखेर यसकै लागि दैनिक सयौँ मानिसहरु यहाँ पुग्थे ।

मण्डनभेगमा रहेका तत्कालिन चार वटा गाविसहरु चण्डेनीमण्डन, महादेवस्थान, जैशिथोक तथा ज्याम्दीको मुख्य गन्तव्य कोटथुम्काको महत्व उजागर गर्न सके यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लैजान सकिने कुरा स्थानीयवासी बताउँछन् । अहिले सडक यातायात पुगेको भएपनि बाटो कच्ची र साँघुरोसमेत भएकाले यहाँ जान केही कठिन छ । 

धार्मिक दृष्टिकोणबाट पनि महत्व रहेको कोटथुम्कामा अवस्थित उमादेवीको मन्दिर र केही तल रहेको कश्यपेश्वर महादेवको मन्दिरको आफ्नै किंवदन्ती पनि छ । 

सत्य युगमा महादेवले आफ्नी पत्नी सतिदेवीको मृत्युपछि उनको शव बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यस ठाउँमा पुगेपछि सतिदेवीको मुटु पतन भएको र यहाँ उमादेवी र कश्यपेश्वर महादेवको उत्पति भएको कुरा स्वस्थानीमा वर्णन गरिएको छ । 

यहाँको मन्दिरमा वलि चढाइएको पशुहरुको रगत ६० मिटर तल रहेको जंगलमा भएको अर्को मन्दिरमा पुग्ने जनश्रुती पनि रहेको छ । यस कारण पनि यसको प्रचार गर्नु आवश्यक रहेको स्थानीय अर्का शिक्षक शालिकराम श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्– ‘अहिले सरकारले पर्यटन लक्षित कार्यक्रमहरु ल्याएर यी ठाउँहरुबाट पनि फाइदा उठाउन जरुरी छ ।” आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ प्रवेश गराउन स्थानीय स्तरबाट मात्र सम्भव नभएकाले जिल्ला र राष्ट्रिय स्तरबाटै पहल गर्न आवश्यक रहेको उनको भनाइ छ । विगत केही वर्षदेखि आन्तरिक पर्यटकको रुपमा केही पिकनिक मनाउन  आउने गरेका छन् ।
 
खानेपानी र वसोवासको पनि यहाँ राम्रो सुविधा छ । प्राकृतिकरुपले भरिपूर्ण थानडाँडामा पर्यटकका लागि भ्यूटावरको पनि निर्माण गरिएको छ । रामपुरनजिकै बुद्धपार्कको पनि निर्माण गरिएको छ । यसले आगामी दिनमा यहाँको पर्यटकीय महत्व बढाउने विश्वास गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ