arrow

प्रधानमन्त्री र अर्थमन्त्रीबीच खटपट, फेर्ने तहसम्मको योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
pm-office-singha-durbar-ktm-2078.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच खटपट भएको छ । नेपाली कांग्रेसले पाएको अर्थ मन्त्रालयमा महतको कामकारबाहीलाई लिएर प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदा खटपट भएको हो । 

गत बिहीबार दिउँसो सिंहदरबारमा सरकारका कामहरूको चौमासिक समीक्षा हुँदा प्रधानमन्त्रीले अर्थ मन्त्रालयको काम समयमा पूरा नभएको र नेटवर्थ राम्रो नभएको बताउँदै सचिवहरुमाझनै अर्थमन्त्रीको आलोचना गरेका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको अवस्थाबारे सबै मन्त्री र सचिवहरूलाई बोलाएर समीक्षा छलफल थालेका थिए । त्यस क्रममा उनको तारो अर्थमन्त्रीमाथि थियो । 

अर्थमन्त्रीले केही दिनअघि मात्रै बिग्रेको अर्थतन्त्र लयमा आएको दाबी गरेलगत्तै प्रधानमन्त्रीले आलोचना गरेका हुन् । बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको थियो । 

चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा सरकारले गरेका कामहरूको समीक्षा गरिएको थियो । सो छलफलमा यसअघि मन्त्रीहरूले पेश गरेको कार्ययोजना अनुसार कामहरू भए नभएकोबारेसमेत छलफल भएको र त्यस क्रममा अर्थमन्त्रीले प्रस्तुत गरेको काममा प्रधानमन्त्रीको असन्तुष्टि रहेको थियो । 

उनले चौमासिक समीक्षामा अर्थमन्त्रीको आलोचना गरेपछि अन्य मन्त्रीहरुले प्रधानमन्त्रीको अनुहारमा हेराहेर गरेको बैठकमा सहभागी एक सचिवले भने । 

गत जेठमा पनि प्रधानमन्त्री प्रचण्डले बजेटका कारण सत्ता गठबन्धनमा खटपट हुने गरी अर्थमन्त्रीको आलोचना गरेका थिए । त्यतिबेला प्रधानमन्त्री प्रचण्डको सचिवालयले बजेटमा कमा, फुलस्टप, परिवर्तन गर्न नहुने परम्परालाई तोड्ने पक्षमा रहेको बताएर अर्थमन्त्री महतको आलोचना गरेको थियो । 

पछिल्लो पटक अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहायता परिचालनमा अर्थ मन्त्रालयले समस्या देखाएको भन्दै प्रधानमन्त्रीले अर्थमन्त्रीसँग असन्तुष्टि जनाएका थिए ।  

सम्झौताअनुसार सहायता कार्यान्वयनका लागि बनेको निकाय एमसीए–नेपाल र अर्थ मन्त्रालय बीचमा अविश्वास बढ्दा कार्यान्वयनमै गतिरोध पैदा भएको प्रधानमन्त्रीको बुुझाइ छ । 

एमसीए नेपालको बोर्ड अध्यक्ष हुने अर्थसचिव, एमसीए नेपालको तालुकमन्त्री अर्थमन्त्री महत रुष्ट भएको विवरण प्रधानमन्त्रीलाई बुुझाइएको थियो । 

‘प्रधानमन्त्रीले सहजीकरण खोजिरहनु भएको थियो । हामीले पुुरानो ठेक्का रद्द गरेर नयाँ लगाउँदा पनि रद्ध हुने अवस्था नआओस् भनेका थियौँ’, अर्थमन्त्रालयका एक अधिकारीले भने । 

एमसीसी अन्तर्गतका ३१५ किलोमिटर ४४० केभी भोल्टेज लेभलका प्रसारण लाइन निर्माणसम्बन्धी परेका तीन ओटै लटका ठेक्का अनुमानित लागतभन्दा ६० प्रतिशत बढी आर्थिक प्रस्ताव परेपछि ती सबैलाई रद्द गरी पुनः ठेक्का गर्न एमसीए नेपालले सिफारिस गरेको थियो । 

यो परियोजनाबाट नेपालले ५० अर्ब रुपैयाँ अनुदान पाउने सम्झौता नेपालको संसदले पारित गरेको छ । त्यस अन्तर्गत लप्सीफेदी (काठमाडौँको साँखु) देखि बुटवलसम्म ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने र दाङको सडक स्तरोन्नति गर्ने योजना छ । 

एमसीए नेपाल भनेको अर्थ सचिव अध्यक्ष रहने नेपाल सरकार र निजी क्षेत्रका प्रतिनिधि सदस्य रहने बोर्ड हो । अर्थ मन्त्रालय स्रोतका अनुसार एमसीसीको प्रसारण लाइन आयोजनाको पहिलो लटअन्तर्गत लप्सीफेदीदेखि रातामाटे हुँदै हेटौँडासम्मको एक सय १७ किलोमिटर, दोस्रो लटको रातामाटेदेखि न्यू दमौलीसम्मको ९० किलोमिटर र लट ३ को न्यू दमौलीदेखि न्यू बुटवलसम्मको एक सय ८ किलोमिटरको ठेक्का गत सेप्टेम्बर ५ तारिख खोलिएको थियो । 

यी तीनओटै लटको अनुमानित लागत २२ करोड ६ लाख अमेरिकी डलर थियो । ठेक्का खोल्दा लट १ मा कल्पतरुको २३ करोड ३१ लाख, ट्रान्सरेलको १३ करोड १५ लाख र एल एण्ड टीको ३१ करोड १५ लाख आर्थिक प्रस्ताव परेका थिए ।

त्यसैगरी लट २ को ठेक्कामा कल्पतरुको १४ करोड ७८ लाख, केईसीको १६ करोड ३१ लाख, टाटाको १० करोड ५४ लाख अमेरिकी डलर आर्थिक प्रस्ताव परेको थियो । 

त्यसैगरी लट ३ मा केईसीको १९ करोड ९७ लाख, टाटाको १२ करोड ९ लाख र एल एण्ड टी। को २६ करोड १२ लाख आर्थिक प्रस्ताव परेको थियो ।

यिनै विभिन्न कारणले पनि प्रचण्ड अर्थमन्त्री फेर्ने मनस्थितिमा पुगेको आँकलन गर्न थालिएको छ । त्यस्तै अर्थमन्त्री महत पनि पछिल्ला केही दिनदेखि सार्वजनिक कार्यक्रममा सहज हुन सकिरहेका छैनन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ