arrow

खुट्टा मर्केमा तातोले सेक्ने कि चिसोले ?

logo
डा कपिलमणि केसी, 
प्रकाशित २०८१ वैशाख २२ शनिबार
dr-kapilmani-kc-81-01-22.jpg

दैनिक जीवनमा काम गर्दा कहिलेकाहिँ खुट्टा मर्किने समस्या आउन सक्छ । विशेषगरी खाल्डाखुल्डीको बाटो हिँडदा, भर्याङबाट ओर्लिदा, खुट्किला मिस भएर खुट्टा मर्किने समस्या आउँदछ । 

खुट्टा मर्किएर सुन्निएको अवस्थामा के गर्ने वा नगर्ने भन्ने कुरा अतिनै महत्वपूर्ण छ। खुट्टा मर्किएर ओपीडीमा आउने बिरामीहरुमध्ये नब्बे  प्रतिशत बिरामीले मर्किएर सुन्निएको खुट्टामा तातोपानीले सेक्ने गरेको पाइन्छ। 

त्यसमा पनि गाउँघर दुर्गम भेगमा बस्ने बूढा पुरानाले तातोपानीले सेक्ने गरेको बढी पाइएको हो  । यद्यपि पढेलेखेका जवान मानिसहरुले चाँही चिसो पानि अथवा बरफले सेक्ने गरेको पाइन्छ। 

खुट्टा मर्किएर सुन्निएको अवस्थामा तातो पानीले सेक्दा रगतको नसा फुल्न गइ सुन्निएको भागमा रक्तसंचारको प्रवाह बढी हुन्छ। जसले गर्दा मर्किएको भाग थप सुन्निने हुन्छ।

कहिलेकाहिँ बढी सुन्निएर ठूला ठूला फोकाहरु पनि आउन सक्छन् । समस्या यत्तिमैमात्र सीमित नभएर मर्किएको भागमा थप संक्रमण भएर पाक्न सक्छ । तातोले नसेकेर केही नगरिकन यत्तिकै राखेको भए पनि समस्या थप जटिल हुने थिएन । 

तातोपानीले सेक्नुको सट्टा चिसोपानी अथवा बरफले सेक्दा रक्त प्रवाह गर्ने नलीहरु साँघुरो हुन जान्छन् ।  यसले गर्दा सुन्निएको भागमा रक्तसंचार कम हुन जान्छ र सुन्निएको मात्रा पनि  कम हुँदै आउँदछ ।

त्यसकारण चोट लागेर सुन्निएको अथवा मर्किएको भागमा बरफले सेक्नु अतिनै महत्वपूर्ण छ र त्यत्तिकै खतरनाक तातोपानीले सेक्नु हो । सम्पूर्ण पाठक वर्गहरुमा यही लेखको माध्यमबाट यो जानकारी दिन चाहन्छु कि कुनै पनि चोटपटक लागेर हात अथवा खुट्टा सुन्निएको अवस्थामा कि त केही पनि नगर्नुस् र केही गर्नु परेमा चिसोपानी अथवा बरफले सेक्नुहोला । 

तातोपानीले सेक्ने भुल कहिले पनि नगर्नु होला । केही अवस्थाहरुमा तातोपानीले पनि सेक्न सकिन्छ जस्तो कि चोटपटक नलागिकन ढाड दुःखेको, घुँडा दुःखेको बेलामा तातो पानीले सेक्दा केही आराम हुनसक्छ। निश्चित रुपमा यसबाट केही बेफाइदा हुँदैन ।

त्यसकारण यो सामान्य जानकारीको माध्यमबाट ठूलो जोखिमपूर्ण समस्या हुनबाट बच्न सकिन्छ। (बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा पनि आवद्ध छन् )
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ