arrow

प्रधानमन्त्रीसँगको विवादलाई लिएर अर्थमन्त्रीले दिए स्पष्टीकरण [भिडियो]

मन्त्रालयले बजेटको आकार घटाएको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
prakashsaran-mahat-2080-11-04.jpg

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुनै विवाद नभएको दाबी गरेका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो दाबी गरेका हुन् । उनले केही सञ्चार माध्यममा प्रधानमन्त्रीसँग छलफल नगरी अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दा विवाद बढेको भन्ने आए पनि त्यस्तो कुनै विवाद नरहेको बताए । 

उनले प्रधानमन्त्रीसँग आफ्नो हरेक विषयमा निरन्तर रूपमा संवाद भइरहेको जानकारी दिए । उनले प्रधानमन्त्रीसँग केही विषयमा फरक मत हुनु स्वाभाविक भएको बताए । उनले अर्थ मन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र निर्देशनका आधारमा काम गरिरहेको उल्लेख गरे । उनले संसद्ले पारित गरेको बजेट अर्थ मन्त्रालयले घटाउन वा कटौती गर्न नसक्ने बताए । 

अर्थमन्त्री महतले अर्थ मन्त्रालयले बजेट कटौती वा आकार नघटाएको भन्दै आम्दानी र खर्चको अनुमानित मात्रै गरेको बताए । उनले सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेकामा मन्त्रालयले अर्धवार्षिक मूल्याङ्कन गरी १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुनसक्ने संशोधित लक्ष्य राखेको बताए । उनले बजेट कटौती गर्ने अर्थ मन्त्रालयको कुनै सोच नभएको बताए । उनले माघ मसान्तसम्म भएको आम्दानी र खर्चका आधार संशोधित लक्ष्य सार्वजनिक गरिएको बताए । उनले सरकारले बजेटमा राखेको लक्ष्य अनुसार पुँजीगत खर्च र राजश्व सङ्कलन नभएको बताए । उनले मन्त्रालयले खर्च कम गर्ने, राजश्व सङ्कलन कम गर्ने नीति नभएर अनुमान गरेभन्दा बढी खर्च र राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको बताए । उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाअनुसार अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक मूल्याङ्कन गरिएको बताए ।

उनले भने ,‘सरकारको करिब १० प्रतिशत राजश्व वृद्धि भएको छ । राजश्व झर्‍यो भनेर पनि समाचारहरू आए । सरकारले निर्धारण गरेको लक्ष्य अनुसारको राजश्व सङ्कलन कठिन भएको छ भनेका छौं । बजेट विनियोजन कार्यान्वयनको सवालमा पुँजीगत खर्च,वित्त व्यवस्थापन खर्च,चालु खर्च र साधारण खर्चमा कस्तो उपलब्धि गरौँ । कति प्रतिशत खर्च गरौँ । आगामी ६ महिनामा कति खर्च गर्ने सम्भावना छ भनेर मन्त्रालयले भनेको हो । मन्त्रालयले कुनै बजेट कटौती गरेको भनेर जसरी बाहिर कुरा आए मन्त्रालयले बजेट कटौती गरेको होइन । जति सम्भव हुन्छ बढी भन्दा बढी खर्च गर्न कोसिस गर्छौँ । राजश्व पनि जति सम्भव हुन्छ । त्यो उठाउन कोसिस गछौं । संसद्ले पारित गरेको विषय बीचमा बजेट कटौती र संशोधन गर्न सक्दैनौँ । तर खर्च र आम्दानी कति हुन सक्छ । ६ महिनाको आधारमा आगामी ६ महिनाका कति के गर्न सकिन्छ त्यसको अनुमान मात्रै पेस गरेका छौं । प्रधानमन्त्री र अर्थमन्त्रीको कुरा मिलेको छैन भन्ने बाहिर कुरा आएको छ । प्रधानमन्त्रीलाई जानकारी नदिई बजेट कटौती गरियो । बजेटको बारेमा प्रधानमन्त्रीसँग छलफल भएको छ । हाम्रो निरन्तर संवाद छ । अनावश्यक रूपमा वादविवाद छ । प्रधानमन्त्रीसँग अर्थमन्त्रीको समन्वय भएको छैन भन्ने जुन हुँदै नभएको प्रचार भएको छ । प्रधानमन्त्रीसँग त्यस्तो कुनै विवाद छैन । यस्तो किसिमको भ्रम छर्नुको अर्थ पनि छैन ।’

अर्थमन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको ल्याउन सिलिङ तोकेर सिफारिस गरेको बताए । उनले आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्बको ल्याउन सिफारिस गरेको बताए । उनले बजेट निर्माणका लागि प्रधानमन्त्री र स्रोत अनुमान समिति र अर्थ मन्त्रालयको समेत सहभागितामा आवश्यक छलफलबाट नै बजेटको सिलिङ तोकिएको बताए । उनले प्रधानमन्त्रीले एउटा सिलिङ र अर्थ मन्त्रालयले अर्को तथ्याङ्क राख्ने विषय नभएको बताए । उनले सम्भावना,चुनौती र आवश्यकताको विषयमा खुला रूपमा छलफल भएको बताए ।

उनले भने ,‘बजेट सिलिङमा प्रधानमन्त्रीले भनेको कुरा अर्थ मन्त्रालयले मानेन, अर्कै भन्यो भन्ने कुरा आएको छ । त्यो पनि अर्थ मन्त्रालयको प्रणालीमा स्वास्थ्यकर छलफल हुन्छ । सम्भावना,चुनौती र आवश्यकताको विषयमा खुला रूपमा छलफल हुन्छ । प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुहुन्छ । अर्थ मन्त्रालयले कुरा राखेर निष्कर्षमा पुग्छौँ । योजना आयोगको संयोजकत्वमा बजेट सिलिङ तोक्ने समिति छ । त्यसमा अर्थ मन्त्रालयको पनि प्रतिनिधित्व हुन्छ । बजेटका कति सम्भावना छ भन्ने कुरालाई मध्यनजर राखेर सम्भव हुने विषयमा छलफल हुन्छ । अहिले हामीले सबैको समन्वय र छलफलबाट १८ खर्ब आगामी वर्षको बजेटको सिलिङ समितिले तोकेको जानकारी आएको छ । मुलुकको आवश्यकता र स्रोतका दृष्टिकोणबाट पनि छलफल भएको छ । त्यहीअनुसार भएको हो । बजेटको सिलिङको विषयमा दुबिधा वा विवाद भयो भन्ने अर्थ छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ