arrow

झलनाथ- माधव टकराब

झलनाथको आँखा सुवासको क्षेत्रमा, माधव नेपाल ‘फायर'

प्रधान शत्रु कसलाई मान्ने भन्ने विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
madhav-jhalanath-final.jpg

काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि एमाले मुख्यालय पुगेर नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनथा खनालले पार्टी मिलाउने उदघोष गरेर हिँडेका थिए । श्रद्धाञ्जली सभामा पुगेर बाहिरिँदै गर्दा खनालले भोलीका दिनमा दुई पार्टी मिल्ने बत्ताउँदा एमालेको मुख्यालयको प्राङ्गणमा एक प्रकारको खुशी छाएको थियो । 

इलाम क्षेत्र १ मा खनालले एमालेकै महेश बस्नेतसँग पराजित भएका थिए । आफू निर्वाचन जित्नका लागि खनालले स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य गरेको आरोप थियो । तर सङ्घीय संसद्को निर्वाचनमा उनले एमालेको साथ पाएनन् र एमालेकै नेता पूर्व जिल्ला अध्यक्ष समेत रहेका बस्नेतसँग पराजय भोग्नु पर्‍यो । त्यसयता उनले एमालेसँग मिल्नुपर्ने भन्दै पार्टीमा एक प्रकारको अघोषित प्रस्तावनै गरेका थिए । तर पार्टी अध्यक्ष माधव नेपाल कुनै पनि हालतमा एमालेको नेतृत्व केपी ओलीसँग सकारात्मक बन्न सक्दैनन् । उनले त्यतातर्फ ध्यान दिएकै छैनन् । 

यही क्रममा नेकपा एसले पार्टी महाधिवेशन गर्ने तयारीसहित अघि बढ्यो । तर पार्टीभित्र चरम विवाद शुरु भयो । ‘विवादको रूप सुवास नेम्वाङको मृत्युले झन् बढायो’, नेकपा एसका एक नेताले भने ‘इलामको क्षेत्र नं २ खाली भएपछि खनालले त्यता आँखा लगाउनु भएको हो कि भन्ने शङ्का छ ।’ ती नेताका अनुसार यो विषयले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच दुरी बढाएकोमा पार्टीभित्र कुनै दुई मत छैन तर अभिव्यक्ति भने बाहिर आएको छैन । 

‘दुई नेताबीच एमालेकालीन गुटबन्दीको पुरानो काम कारबाही र व्यवहारगत समस्या त छँदै छ, नयाँ विवाद पार्टीलाई प्रधान शत्रु कसलाई मान्ने भन्ने विवाद निस्केका छन्’, उनले भने । प्रधानशत्रु कसलाई मान्ने भन्ने बारेमा एसका नेता खनालले लामो लेख नै सार्वजनिक गरेपछि माधव नेपाल झन् ‘फायर’ भएको पनि नेताको दावी छ । एमालेबाट विभाजित भएको दुई वर्षमै उनीहरुबीच सैद्धान्तिक विमति देखिएको छ । 

संविधान दिवसको भोलीपल्ट एसका अध्यक्ष नेपालले विमति भएको स्वीकार गर्दै यस्ता विषयहरू पार्टीभित्रै बसेर टुङ्गो लगाउने बताएका थिए । ‘त्यस्ता कुरामा हामी पार्टीमै बसेर छलफल गरौँला । पार्टीभित्रको कुरा सडकमा लाने काम पार्टीको जिम्मेवार बसेकाले गर्दैनन् । अनुशासनको कुरा बुझेकाले गर्दैनन् । सबै कुरा पार्टीभित्र बसेर छलफल गरेर टुङ्गो लगाउँछौँ ,’ उनले असोज ४ गते एउटा कार्यक्रममा भनेका थिए । 

पार्टी प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले महाधिवेशन आएकाले पार्टीभित्र सैद्धान्तिक बहस हुनु स्वाभाविक भएको बताए । ‘हामी महाधिवेशनमा जाँदै छौ सैद्धान्तिक बहस स्वाभाविक छ, पार्टी नै भताभुङ्ग हुने गरी कोही कसैले बहस गर्नुभएको छैन त्यस कारण यस्ता बहसलाई सहज रूपमा लिनुपर्छ’, प्रचार विभाग खतिवडाले भने । एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी बनेको दुई वर्षमा केन्द्रीय कमिटीका धेरै वटा बैठकमा खनालले एमालेलाई बाहिर राखेर वाम गठबन्धन नहुने धारणा राख्दै आएका थिए । तर त्यो स्वर मधुर भएको थियो । 

पार्टीको पूर्ण आकार ग्रहण नगर्दै विघटनको त्रासमा रहेका नेता–कार्यकर्ताका लागि भदौ ५–७ को बैठकले गरेका निर्णय २८ भदौमा जारी अन्तर पार्टी निर्देशन (अपानि) मार्फत बाहिर आएपछि भने नेपाल र खनालबीच सम्बन्ध नै चिसो हुने गरी खाडल परेको थियो । त्यही खाडलका कारण नेपालले त्यो अपानी सच्याएर अर्को जारी गर्नुपर्ने अवस्था आयो । सो अपानीपछि खनालको कडा अभिव्यक्तिले नेकपा एसमा तरङ्ग नै ल्याएको थियो । अध्यक्ष नेपाल र सङ्गठन विभाग प्रमुख बेदुराम भुसालको आलोचना हुन थाल्यो । 

अध्यक्ष नेपालको हस्ताक्षरसहित जारी भएको अपानिमा उनीनिकट नेताकै जिम्मेवारी हेरफेरदेखि घटुवासम्म भएको थियो । अपानिबारे सचिवालय बैठकले गरेका निर्णयभन्दा बाहिर गएर सङ्गठन विभाग प्रमुख भुसाल र सचिव लक्ष्मण केसीले चलखेल गरेको भन्दै आलोचना भएको थियो । अधिकांश जिम्मेवारी हेरफेर अध्यक्ष नेपालसँग सल्लाह गरेरै भएका थिए । नेपालनिकटकै नेताका जिम्मेवारी हेरफेरमा भने भुसाल एक्लै निर्णय गरेको गरिएको छ । अर्कोतर्फ महासचिव घनश्याम भूषालले जारी गर्नुपर्ने अपानी बेदुराम भूसालले जारी गरेका थिए । 

सङ्घीय संसद्को निर्वाचनमा टिकट नपाएपछि एमाले छाडेका घनश्याम रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनको साथ पाउँदा पनि उनले चुनाव जित्न सकेनन् । चुनावी पराजयपछि पार्टीविहीन बनेका उनलाई अध्यक्ष नेपालले महासचिव बनाउने आश्वासनसहित पार्टीमा लगेर महासचिव त बनाए तर अपानी जारी गर्ने अधिकार भने बेदुरामलाई दिएर घनश्यामप्रति विश्वास नभएको सङ्केत गरे । माधव नेपालले असन्तुष्टहरूलाई मनाउन अपानि फिर्ता लिने वा संशोधन गर्ने प्रतिबद्धता जनाएपछि विवाद त केही हदसम्म पार लागेको छ । 

उनीहरुबीच अपानी मात्रै विवाद होइन असार मसान्तमा झण्डै ६ दिन बसेको सचिवालयमै अन्तर्विरोध प्रकट भएको थियो । नेता खनालले नेकपा एस जनताको बहुदलीय जनवाद (जबज)को च्याप्टर क्लोज गरेर, प्रधान शत्रु टिकान गरेर, वामपन्थी शक्तिहरू एक ठाउँ उभिएर अघि बढ्नुपर्ने लिखित प्रस्ताव पार्टीमा पेस गरेका थिए । उनी भारतीय र अमेरिकी प्रभाव रोक्न नयाँ ध्रुवीकरणको आवश्यकता रहेको बताएका थिए ।

 एमालेभन्दा भिन्न हुन नसक्दा उतै फर्किने प्रवृत्ति बढेको, पार्टीमा चरम निराशा र पलायन छाएको र नेतृत्वले विश्वास गुमाएकाले नयाँ ढङ्गले सोच्नुपर्ने उनको भनाई थियो । तर अध्यक्ष नेपाल भने खनालका प्रस्तावलाई स्विकार्दा पार्टी झनै कमजोर हुने बताउँदै त्यसलाई ठाडो अस्वीकार मात्र गरेनन् पार्टीको मार्गदर्शक सिद्धान्त नै जबज भएको सार्वजनिक अभिव्यक्ति नै दिए । अमेरिकी अनुदान एमसीसीको विरोध गर्दैमा क्रान्तिकारी र लोकप्रिय नभइने उनको भनाइले पार्टी पूरै तरङ्गित भएको थियो । प्रचार विभाग खतिवडाका अनुसार यी विषयहरू अब नेकपा एसको आउँदो माघ १४ देखि हुने महाधिवेशनले टुङ्गो लगाउने छ । ‘महाधिवेशनको महासङ्ग्राम आउदैछ, यी सबै विषयहरू समाधान हुन्छन्’, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ