झलनाथको असन्तुष्टि- एकीकृत समाजवादीले गलत बाटो लियो [भिडियो]
बामपन्थीहरुबीच एकता सम्भव नभए पनि कार्यगत एकता हुनसक्ने
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
992
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने बताएका छन् । पार्टीले वर्ग आत्मसमर्पणवादको बाटो लिएकाले आगामी राष्ट्रिय महाधिवेशनबाट त्यसलाई सच्याउनुपर्ने सम्मानित नेता खनालको भनाई थियो ।
समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्रले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीबाट श्रमजीवी वर्गबाट टाढा पुर्याउने काम विद्यमान मोर्चा बन्दीले गरिरहेकाले त्यसलाई सच्याउने कुरालाई ध्यानमा राखेर पार्टीले आगामी महाधिवेशनको तयारी गर्नुपर्ने बताए । सम्मानित नेता खनालले वर्ग समन्वयको बाटोबाट मुलुकमा श्रमजीवी वर्गको हित हुनै नसक्ने बताए ।
उनले भने, ‘प्रधान प्रतिद्वन्दीसँग कुनै मोर्चा बन्दैन । यदि बनाइयो भने त्यो गलत हुन्छ । त्यो वर्ग समन्वय हुन्छ । त्यसले वर्ग सङ्घर्ष गर्ने होइन, वर्ग समन्वय गराउँछ त्यसले । वर्ग आत्मसमर्पणवाद गराउँछ त्यसले । र, वर्ग सङ्घर्ष होइन, त्यसबाट पार्टीलाई विमुख बनाउँदै लैजान्छ । अहिले हामी हाम्रो श्रमजीवी वर्गबाट जसरी टाढिएका छौं नि । परिणाम त्यही हो । हो, यही कुरालाई सच्याउन हामीले राष्ट्रिय महाधिवेशनमा सच्याउन सक्नुपर्छ । राष्ट्रिय महाधिवेशनका सामु धेरै गम्भीर महत्वका कार्यभारहरू छन् । ती कुरालाई ध्यान राखेर हामीले अगाडि बढ्नुपर्छ । ’
सम्मानित नेता खनालले नेपालमा हाल तत्काल बामपन्थीहरुबीच एकता सम्भव नभए पनि कार्यगत एकता हुनसक्ने पनि दोहोर्याए ।