arrow

इलाममा एमालेले उम्मेदवार खडा गरेपछि सत्ता गठबन्धनमा किचलो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
prachanda-oli-madhav-80.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उपनिर्वाचनका लागि एमालेले हतारमा इलाम क्षेत्र–२ मा सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई बनाएपछि सत्तारुढ दलभित्र किचलो शुरु भएको छ । 

राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षबाट हात झिकेपछि एमालेले उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई निःशर्त सहयोग गर्नुपर्ने धारणा राख्दा किचलो शुरु भएको हो ।

सत्ताघटकको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको कुराकानीमा पनि एमालेले हतार गरेर उम्मेदवार चयन गरेको जनाउँदै साझा उम्मेदवार बनाउनु पर्नेमा जोड दिइएको थियो ।

माधव नेपालले त उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाएरै छाड्ने बताएपछि केही बेर सन्नाटा पनि छाएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीसँग भएको भेटवार्तामा अध्यक्ष नेपालले उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाएरै छाड्ने अडान राखेका थिए । 

बालुवाटारमा तीन नेताबीचको छलफलमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका कम्युनिस्ट घटकहरू मिलेर अघि बढ्न प्रस्ताव गर्दा इलाममा एमाले एक्लै अगाडि बढ्न खोजेको माधव नेपालको गुनासो थियो ।

‘एमालेले इलाम र बझाङ दुवै ठाउँमा उम्मेदवार उठाइसकेको छ । ती दुवै ठाउँमा माओवादी र समाजवादी भन्दा एमालेकै राम्रो र जित्ने अवस्था पनि छ’, बालुवाटार बैठकमा ओलीले प्रचण्ड र नेपाललाई भनेपछि माधव नेपालले त्यसको प्रतिवाद गरेका हुन् । माओवादीले इलाममा एमालेलाई सहयोग गर्ने जनाइसकेको छ ।

ओली र प्रचण्डको कुरा सुनेपछि अध्यक्ष नेपालले नेपालले इलाममा एमाले उम्मेदवारलाई सहयोग गर्नुपरे बझाङमा आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । 

माधवले यसो भनेपछि अध्यक्ष ओलीले उम्मेदवार घोषणा गरिसकेकाले पछि फर्कन एमाले असमर्थ रहने बताएपछि माधव नेपाल कड्किएका थिए । त्यसपछि नेता नेपालले प्रचण्डलाई माओवादीबाट उम्मेदवार नउठाएर आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन भनेका थिए । 

जवाफमा प्रचण्डले पार्टीमा सल्लाह गर्ने बचन दिएपछि मात्रै माधव नेपाल शान्त भएको स्रोतले जनाएको छ । 

बालुवाटार छलफल लगत्तै सोमबार काभ्रेको बनेपा पुगेर अध्यक्ष नेपालले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको स्थानीय नेता कार्यकर्तालाई सम्झाएका थिए ।

बनेपामा आयोजित पार्टीको दशौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने त्यो सम्भव नभए एक्लै चुनाव लड्ने जनाएका थिए । 

उनले इलाममा उम्मेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल भइरहेको भन्दै बझाङमा उम्मेदवार खडा गर्न पार्टीलाई कसैले रोक्न नसक्ने बताएका थिए । 

इलाममा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले उम्मेदवार हुने रुची राखेका थिए । 

पार्टी विभाजनको बेला माधव नेपाललाई साथ दिएका खनालले पार्टीको तर्फबाट उम्मेदवार बनेर एमाले माओवादीको मतबाट चुनाव जित्ने उद्धेश्य राखेकोमा एमालेले त्यसलाई तुहाइदिएको थियो । 

फागुन २१ गते प्रधानमन्त्री प्रचण्ड एमालेसँगको नयाँ समीकरणमा सामेल हुँदा आफूलाई थाहा नै नदिएकोमा नेता नेपाल असन्तुष्ट रहेका बेला नेता खनाललाई उम्मेदवार बनाएर पार्टीभित्र आफ्नो एकल वर्चश्व कायम गर्न चाहन्थे  । 

नेपाली कांग्रेससँगको समीकरण तोडेर एमालेसँगको समीकरण बनेपछि एमाले अध्यक्ष ओली र प्रचण्ड दुवैले नेता नेपाललाई मनाएर मन्त्रिमण्डल विस्तार गरेका थिए । 

सोही अनुसार नेता नेपाल नेतृत्वको पार्टी २ मन्त्रीसहित सरकारमासमेत गइसकेको छ । तर उसले तीन मन्त्री दाबी गर्दै आएको थियो ।  प्रदेश मुख्यमन्त्रीमा समेत दाबी गरेको एकीकृत समाजवादीले प्रदेश मुख्यमन्त्रीका सवालमा गठबन्धनभित्र खासै छलफल भैसकेको छैन । 

प्रधानमन्त्री प्रचण्ड एकीकृत समाजवादीलाई सकभर नचिढ्याउने पक्षमा छन् । एकीकृत समाजवादी चिँढिएमा उसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता गर्न सक्ने र त्यसपछि जसपा पनि सरकारबाट बाहिरिन सक्ने अवस्था आउन नदिन ओली–प्रचण्ड सचेत रहेको स्रोतको दाबी छ ।

सकेसम्म माधव नेपाललाई मनाएर एमालेभित्र ल्याउने कोसिसमा रहेका ओलीले यस पटक राष्ट्रय सभाको उपाध्यक्ष पनि समाजवादी पार्टीलाई छाडिदिएका छन्’, स्रोतले भन्यो । यद्यपि माधव नेपालले भने बनेपा पुगेर कुनै पनि पार्टीसँग एकता नहुने भन्दै आफ्नो सञ्जाल विस्तारमा तदारुकताका साथ लाग्न निर्देशनसमेत दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ