arrow

जनतालाई छैन नून, नेतालाई सुनैसुन

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८० भदौ २ शनिबार
alekh_rajendra-panthi_numbe.jpg

अहिले नेपाली राजनीति, मिडिया, सामाजिक सञ्जाल, चिया चौतारी जहाँसुकै सुनको चर्चा छ । सुन यस्तो मूल्यवान धातु हो, जो नेपाली बजारमा एक तोलाको पनि एक लाख रुपैयाँ भन्दा बढी मूल्य पर्छ । सुनको सानोदेखि ठूलो मापन एकाइ भनेका पैंट, लाल, आनी, तोला, ग्राम, किलोग्राम र क्विन्टल हुन् ।

नेपाली जनताले नूनको जोहो गर्न नसक्ने अवस्थामा देशभित्र अहिले सुनका तोला र ग्रामका कुरा होइन क्विन्टलका कुरा गरिएका छन् । अहिले जनतालाई एक चिम्टी नून पाउन गाह्रो छ तर नेताहरूलाई भने क्विन्टलका क्विन्टल सुन पाउन पनि सहजै भए जस्तो  देखिन्छ । 

सुन जस्तो लाल र आनीमा हिसाब गर्दा पनि महङ्गो हुने  बहुमूल्य धातुलाई पनि अहिले नेपाली राजनीतिक बजारमा यति क्विन्टल र उति क्विन्टल भनेर मानौँ सबैभन्दा सस्तो र सहज पाइने वस्तु भनेकै सुन नै रहेछ कि जस्तो बनाइएको छ । अहिले कुनै एउटा सर्वसाधारण भरियालाई आरोप लगाएर नेपाली जनताका आधार र भरोसा मानिएका केही तथाकथित राजनीतिक नेताका घरघरमा अवैध बहुमूल्य सुन क्विन्टलका क्विन्टल भित्रिएको छ्याप्छ्याप्ती पढ्न, हेर्न र सुन्न पाइन्छ ।

आफूलाई मूलधारको राजनीतिका शीर्षस्थ नेतृत्व ठान्ने देशका जिम्मेवार भनिएका नेतृत्वहरू नै सुनको प्रमुख तस्करमा आरोपित भएका देखिन्छन्।देशका पूर्व प्रधानमन्त्रीदेखि पूर्व सभामुख हुँदै वर्तमान गृहमन्त्री र अर्थमन्त्रीलाई समेत सुन तस्करको आरोप लगाइएको छ । यी घटना र समाचारहरू सुन्दा र पढ्दा नेपाली राजनीति र नेतृत्वलाई कहिँ कतै विश्वास र श्रद्धा गर्ने ठाउँ नै छैन । 

यी नेतृत्वहरूप्रति यति घृणा लागेर आउँछ कि अब त यिनका नाम लिँदा पनि आफू नै अपवित्र र अशुद्ध भइन्छ कि जस्तो लाग्छ । अहिले नेपाली राजनीति यति विकृत भएको छ कि यसबाट अब कुनै पनि सकारात्मक काम होलान् भनेर आशा र विश्वास गर्न नै सकिँदैन । 

मानिसको सबैभन्दा ठूलो कुरा इज्जत र प्रतिष्ठा हो । अहिलेका यी तथाकथित नेतृत्वहरूले आफ्नो इज्जत र प्रतिष्ठा सबै गुमाएर नाङ्गिएका छन् । यिनीहरूलाई विश्वास गर्ने आधार केही पनि छैन । यिनीहरूले राज्यसत्ताको चरम दुरुपयोग गरी देशलाई बेच्ने सम्मको आपराधिक काम गरे र अझै पनि  देशलाई एउटा असफल राष्ट्र बनाउन अनेक प्रयत्न गर्दैछन् । देशको ढुकुटीभरि लुटेर देशलाई खोक्रो बनाएका छन् । आज विश्वमा नेपाल भ्रष्टाचारी र असफल मुलुक भनेर अग्रपङ्तिमा गनिएको छ ।

आज राजनीतिमा चरम विकृतिका कारण राजनीतिभित्र अपराधीकरण मौलाएको छ । राजनीतिक नेतृत्व नै अपराध गर्ने होडबाजीमा उत्रिएको देखिन्छ । मानौँ राज्य लुट्ने प्रतिस्पर्धामा नै दल र दलका नेताहरू लागे जस्तो देखिन्छ । 

दलीय सत्ता र राज्य सत्ताले नै कानून विपरीत काम गरिरहेका छन् । देशलाई सुशासन दिने भन्दा पनि कसरी अधिकतम कुशासनतिर लैजाने भन्ने खेल चलिरहेको देखिन्छ । राज्यका कुनै पनि संयन्त्रले काम गर्न नसक्दा नेपालको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलका क्विन्टल अवैध सुन भित्रिएको देखिन्छ । 

आजको नेपालको राजनीति भनेको भ्रष्टाचार, कमिशन, लुट, तस्कर र अपराधमा केन्द्रित भएको देखिन्छ । यो देशमा आफूलाई लोकतन्त्र र गणतन्त्रका नायक भनाउँदाहरू नै प्रत्यक्ष रुपमा भ्रष्टाचारका काण्डैकाण्डमा संलग्न भएका देखिन्छन् । 

बहुदलीय प्रजातन्त्रको पुनः बहालीपछि यो देशमा अनेक किसिमका भ्रष्टाचार र कमिशनका काण्डहरू बढाइएका छन् । २०४६ सालपछि प्रजातन्त्रको प्राप्तिका नाममा ठूल्ठूला भ्रष्टाचारका काण्ड मात्रै होइनन् महाकाण्ड घटाइए र आजसम्म आउँदा त झन् नेपाली नागरिकलाई समेत बेची नेपाललाई मानव बेचबिखन, अपराध र तस्करको अखडा बनाइएको देखिन्छ । 

ती महाकाण्डहरूमा करोडदेखि अर्बसम्मका भ्रष्टाचार र कमिशनका खेल भएका छन् । २०४६ सालको प्रजातन्त्रको पुनः बहाली पछिका केही प्रमुख महाकाण्डहरूमा सुडान घोटाला काण्ड, लाउडा काण्ड, धमिजा काण्ड, चेज एयर काण्ड, चाइना साउथ वेष्ट काण्ड, माओवादी लडाकु क्यान्टोनमेन्ट काण्ड, वाइडबडी खरिद काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्ड, ओम्नी र यति काण्ड, ललिता निवास जग्गा प्रकरण, ३३ किलो सुन काण्ड, बुढीगण्डकी जलविद्युत परियोजना काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण, अवैध क्विन्टल सुन काण्ड, गिरी बन्धु टी इस्टेट जग्गा काण्ड आदि थुप्रै रहेका छन् ।

बाहिर जेसुकै भनिएता पनि यी भ्रष्टाचार र तस्करी काण्डमा कहिँ न कतैबाट अहिलेको राजनीतिक नेतृत्व र नेताहरूकै प्रत्यक्ष संलग्न भएको देखिन्छ । राजनीतिक आडमा भ्रष्टाचारले जरा गाडेर जताततै मौलाएको देखिन्छ । राजनीतिक नेतृत्वले राजनीतिलाई पेशा र व्यवसाय बनाएर देश र जनतालाई लुट्ने काम गरे र देशलाई टाट बनाएका छन् । 

लोकतन्त्र र संघीयताको नाम बेचेर गाउँलाई उजाड बनाए भने शहरलाई वृद्धाश्रम बनाउँदै छन् । देशभित्र रोजगार पाउन नसक्दा आज परिवार पाल्नकै लागि नेपाली युवाशक्तिहरू विदेश पलायन भएका छन् । 

देशमा कहिँ कतै पनि विकास र उन्नतिका सम्भावनाका सङ्केतहरू पनि देखिँदैनन् । राजनीतिक नेतृत्व जहिले पनि देशमा एकपछि अर्को काण्डहरू मच्चाउन खप्पिस भएको छ । दलीय नेतृत्व र राज्यसत्ताबाट नै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र विकासका कुराहरू कहिल्यै सुन्न र भोग्न पाइँदैन ।

आज एउटा सर्वसाधारण नेपालीले विदेशबाट फर्कदा आफ्नो पसिनाको कमाइबाट परिवारको लागि मोबाइल किनी ल्याउँदा दुःख दिने कर्मचारी वा सुरक्षा निकायले क्विन्टलका क्विन्टल सुन ल्याउँदा एयरपोर्टमा देख्न सकेन भन्नु कहाँ सम्मको बदमासी र तस्करी हुँदो रहेछ भन्ने कुरा जो कहिले सजिलै अनुमान गर्न सकिन्छ ।

अहिलेको यो त भेटिएको वा देखिएको एउटा सामान्य र मात्र साठी किलोको कुरा हो भन्ने गरिन्छ यस्ता नदेखिएका वा नभेटिएका कति धेरै क्विन्टलका घटना भए होलान् र कति धेरै अवैध सामान देशभित्र भित्रिए होला ? राजनीतिक दलका शीर्षस्थ नेताहरूले नै यति क्विन्टल र उति क्विन्टल भित्र्याएको भनेर एक अर्कोलाई आरोप लगाएकै छन् । 

खासमा नेताहरू आफू नै प्रत्यक्ष संलग्न भई राजनीतिक आडमा नेपाललाई तस्कर र अपराधको अखडा बनाइएको देखिन्छ । आज पुलिस र प्रशासनमा राजनीतिकरण भएकै कारण कुनै पनि संयन्त्रहरूले काम गर्दैनन् । देश नै तस्कर, बिचौलिया र अपराधीले चलाए जस्तो देखिन्छ । यहाँ कानूनले काम गर्दैन र कानूनी राज्य नै छैन जस्तो लाग्छ । लोकतन्त्रलाई  लुटतन्त्र बनाइएको छ । राजनीतिक दल र नेतृत्वमा वाद, सिद्धान्त, इज्जत, प्रतिष्ठा, इमान्दार, जवाफदेहीता र उत्तरदायित्व भन्ने केही पनि छैन । 

जहिले पनि सत्ता र कुर्सीको लागि लुछाचुडीमात्र गरेको देखिन्छ । राजनीति लाजनीतिमा परिणत भएको छ । नेपालको समृद्धि र उन्नतिका लागि यहाँका पुराना दल र पुरानो नेतृत्व नै अहिलेको लागि मुख्य बाधक बनेको देखिन्छ । जहिलेसम्म यो भ्रष्टाचारी, बेइमानी र तस्करी नेतृत्व रहिरहन्छ त्यहिलेसम्म नेपाली जनताले सुखको सास फेर्न सक्दैनन् ।

आज पनि धेरै नेपाली जनताहरू बिहान के खाने र बेलुका के खाने भन्ने ठूलो समस्यामा छन् । उनीहरूलाई दुई छाक हातमुख जोर्न अत्यन्तै गाह्रो छ । नेपालका दूरदराजका जनताले सजिलै नूनसमेत खान पाउँदैनन् । आज नेपाली राजनीतिमा जनतालाई एक चिम्टी नूनसमेत खुवाउन सकिएन भनेर चासो र चिन्ता हुँदैन । 

नेताका बीचमा सुन तस्कर वा अपराधीलाई कसरी जोगाउने वा संरक्षण गर्ने भन्नेमा तछाडमछाड भएको देखिन्छ । राजनीतिक नेतृत्वका बीचमा सुनको तस्करलाई कसरी संरक्षण गर्न सकिन्छ भनी दलीय र गुटीय कोठेबैठकहरू चलेका देखिन्छन् ।

नेपाली जनताको जनजीविका बारेमा सम्बन्धित निकायमा कुनै चासो, चिन्ता र चिन्तन नै भएको पाइँदैन । नेपाली राजनीतिभित्र जहिले पनि भ्रष्टाचार, अपराध र तस्करकै हालीमुहाली भएको देखिन्छ । यस्तो अवस्थामा राजनीतिले निकाश र देशले विकास अनि जनताले सुखको सास कहिले पाउने होला कुन्नि ? आशै आशामा र दुःखैदुःखमा नेपाली जनताका दिनहरू बितिरहेका छन् ।

राजनीतिक दलका शीर्षस्थ नेताले नै राजनीतिलाई पेशा र व्यवसाय बनाएर देशको सम्पत्ति ब्रह्मलुट गर्न पल्किएका छन् । नेताहरूले नेपाली जनतालाई भ्रममा पारेर अनेक किसिमका आश्वासनका पोका बाँडेर सत्तालाई आफ्नो पैत्रिक सम्पत्ति जस्तो बनाइ देशलाई खोक्रो बनाउने काम गरे । 

प्रजातन्त्रको पुनः बहाली भएको चौतीस वर्ष बितिसक्दा पनि देश जहाँको त्यहीँ हुनु अत्यन्तै दुःखलाग्दो अवस्था हो । आज देशले आन्तरिक र बाह्य गरी तेइस खर्ब ऋण बोकेको छ । आज प्रत्येक नेपालीको टाउकोमा करिब पचहत्तर हजार देशको ऋण रहेको छ । 

देशमा नयाँ उत्पादन र रोजगारीका श्रोतहरू छैनन् । दिनहुँ हजारौँ नेपाली विदेशिएका छन् । अहिले त विद्यार्थीहरू अध्ययनका लागि विदेशतिर लाग्दा देशभित्र रहेका कलेजहरूसमेत धमाधम बन्द भएका देखिन्छन् । शैक्षिक गुणस्तर कायम गर्ने, उत्पादन र रोजगारका सम्भावित श्रोतहरू खोज्ने र नेपाली विद्यार्थीलाई नेपालमा नै रोक्नमा कसैको ध्यान जाँदैन । 

देशमा थुप्रै पटक व्यवस्था परिवर्तन भए तर जनताको अवस्थामा परिवर्तन हुन सकेन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको उपलब्धि भनेको नेता मोटाउँदै जाने र जनता दुब्लाउँदै जानेमात्र भयो । हुँदाहुँदा अहिले त राज्यबाट नै नेपाललाई अपराध र तस्करको अखडा बनाउन लागेको देखिन्छ । 

नेपालका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ बेचिने जस्तो आपराधिक काम गरियो भने अवैध क्विन्टलका क्विन्टल सुनको कारोबार गरी नेपाललाई तस्करको अखडा बनाइएको छ । देशको जनसंख्याको करिब एक तिहाईलाई विदेश पठाएर राजनीतिलाई लाजनीति बनाइ राज्यसत्ता नै अपराध र तस्करमा लम्पट भएको देखिन्छ ।

नीतिहरूको प्रमुख र मूल नीति भनेको राजनीति नै हो । जबसम्म राजनीति स्वच्छ र सफा हुँदैन तबसम्म अन्य नीतिहरू सफा हुँदैनन् र तिनले काम गर्न सक्दैनन् । राजनीतिलाई पेशा र व्यवसायबाट अलग्याइ नितान्त राष्ट्र सेवा र समाज सेवामा समर्पित गरिनुपर्छ । अहिले नेपाली राजनीतिमा देखिएको प्राइभेट कम्पनी, टिके र झोले प्रणालीलाई अन्त्य गरिनु पर्छ र राजनीतिमा झोले बनाइएका युवा शक्तिलाई उत्पादन र रोजगारमा लगाउनु पर्छ ।

अबको विकल्प भनेको जतिसक्यो छिटो अहिलेको दलीय र राज्यसत्ता सम्हालेको  नेतृत्वलाई मिल्काउनु नै हो । नेपाली राजनीतिमा चलेको व्यक्तिवाद, बावाद, गुटवाद, परिवारवाद, आफन्तवाद, भाउजूवादलाई अन्त्य गरिनुपर्छ । 

अब राजनीतिमा देखिएका र सम्भावना भएका तुलनात्मक रुपमा केही सफा  युवाशक्तिलाई नै अबको नेतृत्व सम्हाल्नको लागि प्रेरित गर्नुपर्छ । आफूलाई वैकल्पिक शक्ति भन्न रुचाउने युवाशक्ति पनि मात्र लोकप्रिय र स्टन्टबाजीको राजनीति नगरी सबै नेपाली जनताको नेता बन्न परिष्कार र परिमार्जनसहित नयाँ सोच, चिन्तन, विचार र इमान्दारीका साथ २१ औँ शताब्दीको नेपाललाई हाँक्न राजनीतिमा आउनुपर्छ र नेतृत्व सम्हाल्नुपर्छ । 

अहिले सबैभन्दा पहिले जनताका नूनका समस्यालाई सम्बोधन गरी सबै किसिमका अवैध सुन खाएकालाई कानूनको कठघरामा उभ्याइ कालकोठरीमा जाक्नुपर्छ । नेतादेखि जनतासम्म सबैले संविधानको मूल मर्मलाई आत्मसात गरी समाजवाद उन्मुख समाज निर्माणको लागि कानूनी राज्यको स्थापना र पालना गर्नैपर्छ । (भर्जिनिया, अमेरिका)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ