arrow

महाकालेश्वर महिमा

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०८० असार २ शनिबार
article-rajendra-panthi-70-2080-03-02.jpg

महाकालेश्वर भगवान् शिवका विभिन्न रुपमध्येको एउटा रुप हो । महा, काल र ईश्वरबाट महाकालेश्वर शब्दको व्युत्पादन भएको हो । काल भनेको समय हो । मानवीय जीवनमा समय सबैभन्दा बलवान् र मूल्यवान छ । यही समयमा जन्म र मृत्यु छन् र मृत्यु शाश्वत छ । मृत्युलाई पनि काल भनिन्छ । समय र मृत्युका ईश्वर वा शक्तिका रूपमा महाकालेश्वरको पूजा गरिन्छ । 

समयको महत्त्व, समयमै ईश्वर प्राप्तिको लागि कर्म र प्राथना, मोक्ष र मोक्ष प्राप्तिको प्राथनाका सन्दर्भमा शिवजीको महाकालेश्वरको रुपको प्रकटीकरण भएको हो भनिन्छ । समय र मृत्युका देवताका रुपमा महाकालेश्वर शिवको पूजा गरिन्छ । हिन्दूधर्मका विभिन्न ग्रन्थहरू जस्तैः वेद, महाभारत, शिवपुराण, स्कन्दपुराणहरूमा भगवान् शिवको महिमा, शिवका अवतार, शिवका ज्योतिर्लिङ्ग रुप आदिका बारेमा बृहत् चर्चा गरिएको पाइन्छ । 

शिवलाई सबैभन्दा ठूला देवता मानेर अर्थात् देवमा पनि देव हुन् भनी महादेव भनिएको हो । खासगरी भारत र नेपालका विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरूमा भगवान् शिवका विभिन्न आकृतिका मूर्ति र चित्रहरू स्थापित गरी शिवालय बनाइएका छन् । विभिन्न विशेष तिथि र पर्वहरूमा ती शिवालयहरूमा धुमधामसँग पूजा आराधना गरिन्छ । 

नेपालमा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय प्रसिद्ध शिवालयहरूमा काठमाडौँका पशुपतिनाथ र गोकर्णेश्वर, खोटाङको हलेसी, रसुवाको गोसाइँकुण्ड, पोखराको गुप्तेश्वर, पाटनको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वर, रामेछाप, काभ्रे र सिन्धुलीको संगमस्थलको कुशेश्वर, म्याग्दीको गलेश्वर आदि हुन्।यी बाहेक नेपालमा शिवका विभिन्न आकृतिका मूर्ति र ज्योतिर्लिङ्ग स्थापना गरी थुप्रै शिवालयहरू बनाइएका छन् ।

धर्म भनेको धारण हो । धर्म भनेको दैवी शक्ति, परमात्मा र अदृश्य शक्तिमा गरिने विश्वास पनि हो।ती अदृश्य शक्तिहरूसँग सम्बन्धित आचरण, व्यवहार, गुण, मूल्य, मान्यता, अनुशासन, पहिचान, अस्तित्वलाई पालन गर्नु अथवा मान्नु नै धर्म हो । धर्म भनेको कुनै वस्तुमा रहेको विशेषता वा स्वभाव हो । आगोको धर्म तातो हुनु हो भने पानीको धर्म चिसो हुनु हो । 

मानवको धर्म भनेको मानवता हुनु हो । मानवता भनेका दया, माया, प्रेम, सद्भाव, सहयोग, परोपकार आदि हुन् । मान्छे हुनुको धर्म निभाउनु नै धर्मको खास अर्थ हो । एउटा गरिब वा दुःखीलाई सहयोग गर्नु पनि धर्म हो । धर्म प्राप्तिको लागि मन्दिर, मस्जिद, चर्च र गुम्बामा जानु नै पर्छ भन्ने छैन । 

धर्म भनेको विश्वास भएको हुनाले कतिपयले यसका बारेमा गलत आलोचना र व्याख्या गरेको देखिन्छ । कम्युनिष्ट विचारक र दार्शनिक कार्लमाक्सले धर्मलाई अफिमको संज्ञा दिएका छन् भनेर कम्युनिष्टहरूले धर्म मान्नु हुँदैन भन्ने गरेको पनि पाइन्छ । धर्म भनेको कसैले मान्न भनेर मानिने र नमान्न भनेर नमानिने चीज नै होइन । 

कार्लमाक्सले कुन सन्दर्भ र परिवेशमा ती विचारहरू प्रवाह गरेका थिए । त्यसका बारेमा पनि थुप्रै सकारात्मक र नकारात्मक व्याख्या विवेचना पनि गरिएका छन् । धर्म भनेको मान्छेमा रहेको शक्तिशाली आस्था र विश्वास हो । कुनै व्यक्ति, समूह, संस्था, दलले भनेर सजिलै मेटिने वा हराउने गुण धर्म होइन । 

आफूलाई नास्तिक, अनिश्वरवादी, महान् कम्युनिष्ट हुँ भन्नेहरूले पनि धर्म प्राप्तिको लागि मन्दिर धाएका थुप्रै दृष्टान्त छन् । धर्म मान्नु हुँदैन र म पनि मान्दिनँ भन्ने तर मन्दिर जाने गरेका उदाहरण धेरै छन् । 

त्यसकारण धर्म भनेको मान्छेमा हुने जन्मजात गुण हो । मान्छे भित्र एउटा बाहिर अर्कै हुने देखावटी नौटंकीको कुनै अर्थ छैन । त्यस्तो क्षणिक मात्र हो । मान्छेमा धर्मप्रति रहेको जन्मजात गुण, आस्था र विश्वासले गर्दा अदृश्य शक्तिलाई पनि छैन र हैन भन्न सक्दैन । 

अहिलेको २१ औं शताब्दीमा आउँदासमेत पनि कतिपय सन्दर्भमा धर्मका पक्षमा भनिने वा गरिने अदृश्य शक्तिका बारेमा विज्ञानले पनि पूर्ण नकार्न सकेको छैन । धर्मप्रति आस्था राख्नेले धर्मलाई अदृश्य शक्तिकै रुपमा मानेका छन् र विश्वास पनि गरेका छन् । यसैले अदृश्य शक्तिलाई विश्वास गरी मानवीय कर्म गरिनु नै धर्म हो ।

संसारमा विभिन्न धर्ममा विश्वास गर्ने मानिसहरूको बसोबास रहेको छ । विश्वका प्रमुख धर्ममा हिन्दू, क्रिश्चियन, मुस्लिम, बौद्ध, जैन, सिख, यहुदी, पारसी आदि रहेका छन् । यी मध्येको एउटा प्रमुख र पुरानो धर्म हिन्दू हो । यो धर्म सर्वप्राचीन धर्म हो । यो धर्मका आफ्नै मूल्य मान्यताहरू रहेका छन् । हिन्दू धर्मलाई सनातन धर्म हो । यो परापूर्व कालदेखि चलिआएको हो । यो धर्म खासगरी दक्षिण एसियामा बढी मानिन्छ । 

नेपालको पछिल्लो जनगणनाअनुसार हिन्दूको संख्या ८१.१९ प्रतिशत रहेको छ । अन्य धर्ममा बौद्ध ८.२१ प्रतिशत, इस्लाम ५.०९ प्रतिशत, किराँत ३.१७ प्रतिशत र क्रिश्चियन १.७६ प्रतिशत रहेका छन् ।  

हिन्दू धर्ममा लोक, प्रलोक, स्वर्ग, नर्क, जन्म, पुनर्जन्म, भाग्य, कर्म, ईश्वर, देवीदेवता, मठमन्दिर, पूजापाठमा विश्वास राखिन्छ । अरु धर्म जस्तो यो धर्म कुनै  व्यक्ति विशेषले चलाएको धर्म होइन । त्यसैले यस धर्मका प्रवर्तक कोही व्यक्ति होइनन् । 

यस धर्मका प्रवर्तक साक्षात् ईश्वर नै मानिन्छन् । सनातन धर्म विश्वको सबैभन्दा पुरानो धर्म हो । यो धर्मको प्रमुख आधार ग्रन्थ वेद हो । वेद संसारकै सबैभन्दा पुरानो लिखित दस्तावेज पनि हो । 

वेदको अर्थ ज्ञान हो । वेदमा ब्रह्मा (ईश्वर), देवता, ब्रह्माण्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, इतिहास, रहस्य, दर्शन, व्यवहार आदि धेरै किसिमका विषयहरू रहेका छन् । हिन्दू धर्म इसापूर्व ५०० देखि इसापूर्व ३०० भित्र शुुरुआत भएको भनिएको छ भने कतै पृथ्वीको सृष्टिसँगै जन्म भएको हो भन्ने पनि भनाइ पनि छ ।

हिन्दू धर्ममा एउटा मात्र देवता छैनन् । यसमा ३३ करोड देवीदेवता छन् भनिन्छ । हिन्दू धर्मको मान्यताअनुसार यो संसारको सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिवलाई मानिन्छ । हिन्दू धर्ममा भगवान शिवलाई प्रमुख देवता मानिन्छ । शिव भनेको शक्ति र कल्याण हो । शिवका अनेक नाम छन् । शिवलाई महादेव, भोले, पशुपति, अर्धनारीश्वर, रुद्र, नीलकण्ठ आदि नामले पुकारिन्छ । शिवका वीरभद्र, पीपलाद, नन्दी, भैरव, अश्वत्थामा आदि उन्नाइस अवतार रहेका छन् । यिनकी अर्धाङ्गिनी पार्वती हुन् भने यिनका दुई पुत्र गणेश र स्कन्द हुन् । 

प्रायः शिवालयहरूमा भगवान् शिवको प्रतीकको रुपमा शिवलिङ्गको स्थापना गरी पूजा गरिन्छ । शिवका तीन आँखा छन् भनिएको छ । ती तीन आँखा सत्व, रज र तमका प्रतीक मानिन्छन् । यिनलाई भूत, वर्तमान र भविष्यका प्रतीकका रुपमा पनि मानिन्छ । शिवका तीन आँखालाई त्रिलोचन भनिन्छ ।

भारतका विभिन्न शहरमा शिवका प्रतीकका रुपमा मानिने १२ ज्योतिर्लिङ्गहरू बनाइएका  शिवालयहरू प्रख्यात छन् । गुजरातको सोमनाथ, आन्ध्रप्रदेशको मल्लिकार्जुन, मध्यप्रदेशको महाकालेश्वर, मध्य प्रदेशको ॐ कारेश्वर, झारखण्डको वैद्यनाथ, महाराष्ट्रको भीमाशंकर, तमिलनाडुको रामेश्वर, गुजरातको नागेश्वर, वाराणसीको काशी, महाराष्ट्रको त्रम्बकेश्वर, उत्तराखण्डको केदारनाथ र औंगरवादको घृष्णश्वेर रहेका छन् । 

यी ज्योतिर्लिङ्गहरूमध्ये पनि सबैभन्दा शक्तिशाली ज्योतिर्लिङ्ग महाकालेश्वरलाई लिइन्छ । यो प्रसिद्ध तीर्थस्थल मध्यप्रदेशको उज्जैन जिल्लामा रहेको छ । यो शिवालय ईसं १७३४ मा द्रविड वास्तुकलामा बनाइएको हो भनिन्छ ।

नेपालको ऐतिहासिक एवम् धार्मिक तीर्थस्थल काठमाडौँको पाशुपत क्षेत्रमा रहेको पशुपतिनाथको ज्योतिर्लिङ्गलाई महाज्योतिर्लिङ्ग भनिन्छ । भारतमा रहेका १२ वटा ज्योतिर्लिङ्गको स्थापना भक्तहरूको प्राथना र तपस्याबाट भगवान शिवजीले दर्शन दिएर भक्तहरूले शिवको प्रतीक स्वरुप ज्योतिर्लिङ्ग स्थापना गरिएको थियोे भनिन्छ । पशुपतिनाथको ज्योतिर्लिङ्ग आफैँ उत्पत्ति भएको हो भन्ने भनाइ छ । अन्य ज्योतिर्लिङ्गमा मुखको आकृति छैन भने पशुपतिनाथको ज्योतिर्लिङ्गमा चारैतर्फ शिर या मुखको आकृति रहेको छ । 

यसले गर्दा पनि भारतमा रहेक १२ ज्योतिर्लिङ्गभन्दा महत्त्व र महिमा नेपालको पशुपतिनाथको रहेको बताइन्छ । पुराणमा बताइए अनुसार पशुपतिनाथलाई  केदारनाथको शिर मानिन्छ । पशुपतिको पूर्व मुखलाई तत्पुरुष, दक्षिण मुखलाई अघोर, उत्तर मुखलाई वामदेव, पश्चिम मुखलाई सद्योजात र ऊर्ध्वमुखलाई इशान भनिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ