हचुवामा समिति खारेज गर्दा काम गर्न अप्ठयारो भयोः गजुरेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
700
Shares
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सरकारले हचुवाको भरमा समिति खारेज गर्ने निणर्य गर्दा काम गर्न अफ्ठ्यारो भएको बताएका छन् ।
कार्यकारी निर्देशक गजुरेलले सरकारले उद्योग तथा वाणिज्य मन्त्रालय र समितिसँग कुनैपनि छलफल बिना समितिलाई पनि खारेजको सूचिमा राख्दा अहिले काम गर्न अफ्ठ्यारो भएको बताएका हुन् ।
कार्यकारी निर्देशक गजुरेलले अन्य धेरै संस्थाहरु घाटामा सञ्चालनमा आएपनि इन्टरमोडल यातायात विकास समिति आफ्नै आम्दानीले सञ्चालनमा रहेको संस्था खारेज सूचिमा पर्नु आश्चर्य लागेको बताए ।
उनले भने,‘ इन्टरमोडल यातायात विकास समितिको आम्दानी हरेक वर्ष बढाउँदै आएका छौँ । चालु आर्थिक वर्षमा १२० करोड राजश्व उठाउने लक्ष्य छ । जुन समितिले उठाउँछ । समिति आफैँमा आत्मनिर्भर छौं । समितिले नेपाल सरकारको बजेट लिँदैनौं । नेपाल सरकारलाई हाम्रो खर्च र एडिशनल पूर्वाधार निर्माणहरु बनाउँछौं । त्यो बाट बचेको रकम सरकारलाई दिइरहेका छौं । यति राम्रोसँग चलिरहेको संस्थासँग कुनैपनि छलफल बिना बजेट भाषणमा संस्था खारेजको विषय आउँदा हामीलाई आचार्य लागेको छ । धेरै राम्रो काम गर्दा गर्दै पनि खारेजीमा पर्दा हामी कुन मोरले काम गरिरहेका छौं भन्ने कुरा सोचनिय भएको छ । मन्त्रालयसँग अनौपचारिक रुपमा छलफल भएको छ । मन्त्रालय पनि समिति खारेज नहुनुपर्ने हो खारेजको सूचिमा पर्यो भनेर गुनासो गर्नुभएको छ । समिति खारेज गर्ने विषय उद्योग मन्त्रालयलाई जानकारी थिएन । समितिले जुन किसिमले काम गरिरहेको छ । त्यो हेर्दा बन्दरगाह प्राधिकरण बनाउनु पर्ने भन्ने उद्देश्य हो । त्यो लेभलमा मन्त्रालयमा ऐन तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा चार वटा एजेण्डा र सम्झौता समितिका नै थिए । दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माण सम्झौता, नेपालगञ्ज एकीकृत जाँच चौकीको उद्घाटन,भैरहवा एकीकृत जाँच चौकी शिलान्यास र विराटनगरमा काग्रो (फ्रेट) रेल सञ्चालन गर्ने विषय समावेश थिए । यसले पनि समितिको औचित्यता र भुमिका पुष्टि हुन्छ । त्यसले गर्दा सरकारले समिति खारेज गर्ला भन्ने कसैले पनि कल्पना गरेको थिएन । समिति खारेज गर्ने विषयले संस्थाको महत्व घट्यो । अहोरात्र रुपमा खटेर संस्थामा काम गर्ने कर्मचारीहरुको मनोवल कमजोर बनाउने काम सरकारले गरेको छ । संस्थासँग यस्तो कारण संस्था खारेज हुँदैछ भनेर सरकारले छलफल गरेर कर्मचार सहमत भएको भए समस्या हुने थिएन । सरकारले मन्त्रीपरिषद्बाट करारमा नियुक्ती गरेकाले आफूलाई समस्या हुँदैन । तर समिति एउटा संस्था हो समितिमा स्थायी कर्मचारीहरु पनि हुनुहुन्छ । समितिलाई लिखित रुपमा काम अगाडि बढाउने वा नबढाउने र योजनाहरु हस्ताक्षर गर्ने वा नगर्ने अन्योल छ । मौखिक रुपमा काम गर्दै गर्नुस् भन्नुभएको छ । तर भोलि लिखित रुपमा कसैले प्रश्न गर्ने ठाउँ रहन्छ ।’
उनले सरकारले संस्थासँग कारण देखाएर संस्था खारेजीको समस्या कर्मचारी सहमत हुन नसक्दा आएको बताए । नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ बमोजिम सुख्खा बन्दरगाह सम्बन्धि नीति निर्माण तथा सञ्चालनको अधिकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई रहेको छ । तर मन्त्रालय अन्तर्गत सुख्खा बन्दरगाहको विकास,सञ्चालन, व्यवस्थापन र नियमन नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश,२०५४ बमोजिम समितिले गर्दै आएको छ । समितिले अहिले मुलुकभर सात स्थानमा सुख्खा बन्दरगाह र ५ जाँच चौकी विकास,सञ्चालन, व्यवस्थापन र नियमन तोकिएको कानून अनुसार गर्दै आएको छ ।