सयौं नागरिकको हत्या : युक्रेनी राष्ट्रपतिले भने- 'बुचा नरसंहारको पर्यायवाची रुस' हो
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
900
Shares
काठमाडौं। युक्रेनको बुचा शहरमा रुसी सेनाले आक्रमणका क्रममा सयौं सर्वसाधारणलाई मारेको पाइएपछि विश्वव्यापी रूपमा रुसमाथि आक्रोश पोखिएको छ ।
रुसी सेनाबाट मुक्त गराएको राजधानी कीभ आसपासको यो क्षेत्रबाट युक्रेनी अधिकारीहरूले ४१० जना सर्वसाधारणको शव फेला पारेका छन् ।
सर्वसाधारणलाई लक्षित गर्दै सेनाले यस्तो क्रूर आक्रमण गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस बुचा हत्याको पर्यायवाची भएको बताएका छन् ।
यस्तै रुसको वास्तविक छवि यातना र मृत्युदण्ड दिने भएको समेत युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन् ।
उनले आइतबार एक भिडियो सम्बोधनका क्रममा रुसी 'युद्ध अपराध' को अन्त्यको लागि आह्वान गरेका छन् । उनले बुचामा यसरी सयौं सर्वसाधारण मारिनु नरसंहार भएको भन्दै रुसी नेताहरूलाई सेनाको कार्यका लागि जबाफदेही बनाउनसमेत आह्वान गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनको राजधानी कीभ नजिकै रहेको बुचा सहरमा मारिएका नागरिकको तस्बिरबाट आफू गम्भीर रूपमा स्तब्ध भएको भन्दै स्वतन्त्र छानबिनको माग गरेका छन् ।
यो अवस्थामा पनि रुसको रक्षा मन्त्रालयले भने रुसी सेनाले बुचामा सर्वसाधारणको हत्या गरेको अस्वीकार गरेको छ । रुसी रक्षा मन्त्रालयले सबै फोटो भिडियो नक्कली भएको दाबी गर्दै एउटै स्थानीय बासिन्दा कुनै पनि हिंसात्मक कार्यबाट पीडित नभएको टिप्पणी गरेको छ ।
अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केन लगायत पश्चिमी नेताहरूले युद्ध अपराध अनुसन्धान र रुसमाथि प्रतिबन्धहरू बढाउन आह्वान गरेका छन्।
ईयू काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले रुसमाथि थप प्रतिबन्ध लगाउने वाचा गरेका छन् । यस्तै नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले तस्बिरहरूले 'युरोपमा दशकौँदेखि नदेखेको नागरिकहरू विरुद्धको क्रूरता' देखाएको बताएका छन्।