जनकपुरधाम। तराई मधेसमा गर्मीसँगै चुनावी सरगर्मी बढ्दै गएको छ । मानिसहरु गर्मी छल्न कुलर, पङ्खा, एसी जस्ता विद्युतीय समान किनिरहेका छन्, तर धनुषाको बटेश्वर गाउँपालिकाका जनप्रतिनिधि भने मतदाता रिझाउन कम्बल र लाठी वितरण गरिरहेका छन् ।
मङ्गलवार बटेश्वर गाउँपालिकाले पाँच वटै वडामा ७ सय ५० जना ज्यष्ठ नागरिकलाई कम्बल र लाठी वितरण गर्यो । स्थानीय चुनाव आउन अब ४४ दिन मात्र बाँकी रहेको छ । चुनावको मुखमा मतदातालाई प्रभावित गर्न ८ लाख घुस काण्डमा फँसेका गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री कम्बल वितरण गरेको पत्रकार फुलगेन मगहीले जानकारी दिए।
कम्बल वितरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष प्रमीला देवी महतो लगायत पाँच वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु सहभागी भएका थिए । यद्यपि कम्बल वितरणको बजेट भने गाउँपालिका कार्यालयले गोप्य राखेको छ ।
जाडोमै बाँड्नु पर्ने कम्बल त्यति बेला वितरण गर्न नसक्दा अहिले आएर गाउँपालिका अध्यक्षले वितरण गरेको छ । वडा नम्बर ५ का वडाध्यक्ष शिव करण यादवले आफूलाई केही जानकारी नभएको बताए ।
त्यस्तै स्थानीय सञ्जीव कामतले भने यो सबै बजेटको दुरुपयोग भएको बताए । स्थानीय अभियानता फुगेन मगहीले गाउँपालिका अध्यक्षलाई तपाईँले कुन शीर्षकमा कम्बल बाँड्नुभयो ? बजेट कहाँ बाट आयो ? भनी प्रश्न गरे । अध्यक्षले तिमीलाई केको मतलब, मलाई जे मन लाग्छ त्यो गर्छु भनी जवाफ फर्काए ।
पछिल्लो समय बटेश्वर गाउँपालिका भ्रष्टाचारको अहालमा डुबेको छ । ८ लाख घुस काण्डमा परेका गाउँपालिका अध्यक्ष राउतलाई अझैसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता गरेका छैन ।
गत बर्ष फागुन १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले धनुषाको सखुवा महेन्द्रनगरबाट पछ्याएपछि गाउँपालिका अध्यक्ष राउत ८ लाख घुस रकम फालेर भागेका थिए । गाउँपालिकाको गाडीसहित चालक वीरबहादुर मगरलाई अख्तियारले नियन्त्रणमा लिएको थियो भने उनले फालेर भागेको ८ लाख रुपैयाँ घुस सुक्जोर खोलाको किनारबाट बरामद गरिएको थियो । राउत तीन महिनापछि घर फर्केका थिए।