युक्रेनी शहरमा रुसले गर्यो मिसाइल प्रहार : घण्टौंसम्म धुवाँको मुस्लो
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
572
Shares
काठमाडौं । शुक्रवार रुसी सेनाले युक्रेनका धेरै शहरहरूमा भीषण आक्रमण गरेको छ । समाचार एजेन्सी एपीका अनुसार राजधानी कीभ र पश्चिमी सहर ल्वीवको बाहिरी भाग मिसाइल प्रहार भएको छ । विश्व नेताहरूले युक्रेनका स्कूल र अस्पतालहरू लगायत आवासीय क्षेत्रहरूमा रुसी आक्रमणहरूको अनुसन्धान गर्न आह्वान गरेका छन्।
ल्वीवका मेयर एन्ड्री साडोवीले सैन्य विमान मर्मत गर्ने कारखाना र बस मर्मत गर्ने कारखानामा मिसाइल प्रहार भएको बताए । ब्ल्याक सीबाट ल्वीवमा छ वटा मिसाइलहरू प्रहार गरिएको युक्रेनको वायुसेनाको पश्चिमी कमाण्डले दावी गरेको छ । जसमध्ये दुई मिसाइललाई खसालिएको थियो। आक्रमणका कारण घण्टौंसम्म धुवाँको मुस्लो उठेको थियो ।
ल्वीव पोल्याण्ड सीमा नजिक रहेको शहर हो । युक्रेनबाट भागेका आम मानिसहरू ल्वीव हुँदै गइरहेका छन् । पोल्याण्ड जाने बाटो परेका कारण पनि ल्वीवको जनसङ्ख्या झन्डै दुई लाख पुगेको छ । रुसी पक्षले कीभको उत्तरमा रहेको एक आवासीय भवनमा पनि आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ। त्यहाँबाट ९८ जनालाई बाहिर निकालिएको छ ।
विश्वका नेताहरूले आवासीय क्षेत्रमा भएको आक्रमणको छानबिन गर्न आह्वान गरेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकी अधिकारीहरूले युद्ध अपराधको मूल्याङ्कन गरिरहेको बताएका छन्। रुसले जानाजानी नागरिकलाई निशाना बनाएको भए त्यसको परिणाम भोग्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घका उप-महासचिव रोजमेरी डिकार्लोले पनि रुसी आक्रमणमा सर्वसाधारणको मृत्युको छानबिन गर्न आग्रह गरेका छन् । उनले यसतर्फ राष्ट्रसङ्घ सुरक्षा परिषद्को ध्यानाकर्षण गराएका छन् ।