रुसी विदेशमन्त्रीले भने- युद्ध अन्त्यको सम्झौता हुनसक्छ
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
934
Shares
काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले दुई देशबीच युद्धबिरामका लागि भइरहेको वार्तामा प्रगति हुनसक्ने बताएका छन् ।
रुसी सञ्चार माध्यमका अनुसार लाभरोभले मस्को र किभबीच युद्ध अन्त्य गर्नका लागि भएको वार्ता कुनै सम्झौतामा पुग्ने 'केही आशा' देखेको बताएका हुन् ।
लाभरोभले आरबीके समाचारपत्रलाई पहिले दुवै पक्षहरू 'सम्झौताको नजिक पुगिसकेको' बताएका छन् । वार्ता कठिन भए पनि, सम्झौतामा पुग्ने केही आशा भएको उनले बताएका छन् ।
मस्कोबाट सुरक्षा ग्यारेन्टीको बदलामा युक्रेनको राजनीतिक र सैन्य तटस्थता अहिले 'गम्भीर रूपमा छलफल' भइरहेको लाभरोभले बताएका छन् ।
यस्तै पोल्याण्ड, चेक गणतन्त्र र स्लोभेनियाका प्रधानमन्त्री सहितको प्रतिनिधिमण्डल कीभको भ्रमण सकेर पोल्याण्ड पुगिसकेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणलाई रोक्न थप मद्दतको लागि अमेरिकी कांग्रेसलाई तत्काल अपिल गर्ने तयारी गरेका छन्।
युक्रेनी राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले रुसी सेनाले स्रोतको अभावका कारण युद्धमा बलियो उपलब्धि हासिल गर्न नसकेको बताएका छन् । युक्रेनी सेनाले धेरै मोर्चाहरूमा रुसी सेनाविरुद्ध साना-साना काउन्टर आक्रमणहरू गरिरहेको छ ।