कांग्रेस धनुषा हाँक्न तीन प्रभावशाली नेताबीच प्रतिस्पर्धा
९१ पदका लागि २ सय ४० जनाको उम्मेदवारी
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ फागुन २३ सोमबार
1.3k
Shares
जनकपुरधाम। नेपाली कांग्रेस धनुषामा ९१ पदका लागि २ सय ४० जनाको उम्मेदवारी परेको छ। कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत सोमबार आज निर्वाचन भइरहेको छ । बिहीबारबाट शुरु भएको जिल्ला अधिवेशनको चुनावी प्रक्रिया आज हुने भएको हो ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन समितिले जानकारी दिए। निर्वाचन अधिकृत अरुण ज्ञवालीका अनुसार विभिन्न ९१ पदका लागि हुन लागेको निर्वाचनमा १० वटा ब्यालेट तयार गरिएको छ। निर्वाचन समितिले सम्पूर्ण तयारी पूरा गरिसकेको र निर्वाचनमा हामीले ८० जना कर्मचारी खटाएको ज्ञवालीले भने।
कांग्रेस धनुषा हाँक्ने गरी जिल्लामा ३ जना प्रभावशाली नेताबीच प्रतिस्पर्धा हुन लागेको छ । सभापति पदका लागि संस्थापन पक्षबाट एक जना र संस्थापन इतरबाट २ जना चुनावी मैदानमा रहेका छन्।
संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापतिसमेत रहेका सन्तोष यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् भने संस्थापन इतर समूहबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका मेयरसमेत रहेका योगेन्द्र पजियार र संविधानसभा सदस्यसमेत रहेका दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका छन् । पजियार विमलेन्द्र निधि गुटका हुन् भने प्रसैला शेखर कोइराला गुटका बाट निर्वाचनमा भाग लिएका छन् ।
यस्तै,जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार नरेश यादव, श्यामचन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धीरेन्द्र मोहन झा, शिवशङ्कर कुमार गोइत, दीपेन्द्र कुमार भडखेर र कन्हैयाकुमार कर्णले उम्मेदवारी दिएका छन् ।
सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो. साकिर राइनलगायत ६ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लामा नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको छ ।
निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै, ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जानकारी दिए। कांग्रेस धनुषामा ३ हजार १ सय ९७ मतदाता रहेका छन् ।