तेलको मूल्य सन् २००८ यताकै उच्च, प्रति ब्यारेल २०० डलर पुग्न सक्ने आंकलन
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
940
Shares
फाइल तस्बिर
काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य सन् २००८ यताकै उच्च पुगेको छ । संयुक्त राज्य अमेरिका र युरोपेली सहयोगीहरूले रूसी तेलको आयातमा प्रतिबन्ध लगाउने तयारी गर्दा तेलको मूल्य झनै बढेको हो ।
इरानी कच्चा तेल विश्वबजारमा फर्किन ढिलाई हुने देखिएको छ । अर्कातर्फ युरोपले रुसी तेलको आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
विश्व शक्तिहरूसँग इरानको २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ता आइतबार अनिश्चिततामा परेको छ। रसियाले युक्रेन द्वन्द्वका कारण उसले सामना गरेको प्रतिबन्धले तेहरानसँगको व्यापारलाई नोक्सान नपुग्ने माग र चीनले नयाँ माग उठाएपछि वार्ता अनिश्चिततामा पुगेको बताइएको छ ।
रुसको मागको जवाफमा, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आइतवार युक्रेन आक्रमणमा रूसमाथि लगाइएको प्रतिबन्धको इरानसँगको सम्भावित आणविक सम्झौतासँग कुनै सम्बन्ध नरहेको जवाफ फर्काएका छन् ।
यो अवस्थामा मंगलबार बिहान साढे पाँच बजेतिर ब्रेन्ट कच्चा तेलको मूल्य १२९.७८ डलर प्रति ब्यारेल पुगेको हो । यस्तै, डब्ल्युटीआई कच्चा तेलको मूल्य १२६.५१ डलर प्रति ब्यारेल पुगेको छ ।
कच्चा तेलको मूल्यमा भारी वृद्धि भएपछिको यो मूल्य सन् २००८ को जुलाई यताकै उच्च हो । त्यतिबेला १४७.५० डलर प्रति ब्यारेल पुगेको थियो भने, डब्ल्यूटीआई कच्चा तेलको मूल्य १४७.२७ डलर प्रति ब्यारेल पुगेको थियो ।
बैंक अफ अमेरिकाका विश्लेषकहरूले रूसको अधिकांश तेल निर्यातमा कटौती गरियो भने तेल बजारमा ५० लाख ब्यारेल वा त्यो भन्दा ठूलो कमी आएर तेलको मूल्य प्रति ब्यारेल १०० बाट दोब्बर भएर २०० डलर पुग्न सक्ने बताएका छन् ।