युक्रेनमाथि रुसले गरिरहेको आक्रमण तत्काल रोकियोस् – राजन कुइँकेल
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
645
Shares
काठमाडौं । एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष एवं संचारकर्मी राजन कुइँकेलले रुसले युक्रेनमाथि गरिरहेको आक्रमण तत्काल रोक्न माग गरेका छन् । उनले मानव अधिकारको कालो धब्बा बोकेका देशहरु रुसको पक्षमा उभिएको भन्दै आफूहरु भने शान्तिको पक्षमा रहेको बताए ।
रुसले युक्रेनमाथि आक्रमण थालेको नवौं दिनमा काठमाडौंस्थित रुसी दूतावास अगाडि भएको मानव अधिकारकर्मीहरुको शान्तिपूर्ण प्रर्दशनमा बोल्ने क्रममा कुइँकेलले आफूहरु शान्तिको पक्षमा रहेको उल्लेख गर्दै युक्रेनमाथि रुसले गरिरहेको बर्बर आक्रमण तत्काल रोकिनु पर्नेमा जोड दिए ।
उनले आफूहरू शान्तिको पक्षमा रहेको भन्दै संयुक्त राष्ट्रसंघको महासभामा मानव अधिकारको कालो धब्बा लागेका देशहरू रुसको पक्षमा उभिएको दाबी गरे । उनले भने, ‘‘संयुक्त राष्ट्रसंघको महासभामा कस्ता–कस्ता मुलुकहरू युक्रेन र रुसको पक्षमा उभिए । वर्षौंदेखि मानिसहरू मारिरहेको र मानवअधिकारको कालो धब्बा लागेका सिरियाजस्ता मुलुकहरू रुसको पक्षमा उभिएका छन् ।’
नेपालसहितका १ सय ४९ मुलुकहरू शान्तिको पक्षधरता जनाउन उभिएको स्मरण गर्दै कुइँकेलले आफूहरू शान्ति र माधवअधिकारको पक्षमा रहेर विश्वभरका युद्धको भर्त्सना गर्नेसमेत प्रतिवद्धता जनाएका छन् ।
ठूला मुलुकले साना मुलुकलाई चेप्ने र हेप्ने प्रवृत्तिको पनि आफूहरूले भर्त्सना गरिरहने उनको अठोट छ ।