व्यापारीसँगै धान किन्दै व्यापार कम्पनी, किसान सास्ती भोग्दै
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ माघ १६ आइतबार
451
Shares
जनकपुरधाम। खाद्य व्यवस्था तथा व्यापार कम्पनी जनकपुरमार्फत किसानको नाममा व्यापारीले धान बेच्दै आएको रहस्य खुलेको छ । जनकपुरमा व्यापारीले नै किसान बनेर सरकारलाई धान बेच्ने गरेका छन् । कम्पनीको जनकपुरधामस्थित कार्यालयमा किसानको सिफारिस लिएर धान बेच्न व्यापारी आउने गरेका हुन् । व्यापारीसँगै कम्पनीले सोना मन्सुली धान १९ दिन देखि खरिद गरिरहेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ बिसपिट्टीका भुषान ठाकुरले आफू बिहान ८ बजे आएको भए पनि साढे ३ बजेसम्म भोकै रहेर पनि धान नलिएको गुनासो पोखे। उनले भने,' हाकिम साहबले धान किन्दैनौँ। घर लैजाऊँ भन्छन्, बिहानदेखि गोरु भोकै छ, यस्तो चिसोमा कठ्याङ्ग्रिएर बसेको छु। अब यत्तिकै जानुपर्छ ।'
लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ४ सपहीका किसान कृष्ण पजियारले १० गतेको टोकन लिएर बिहान ४ बजे ट्र्याक्टर भाडा गरेर ल्याए पनि ३ बजे सम्म गेट नखोलिएको गुनासो गरे । कृष्णले भने, कार्यालयले बिचौलियामार्फत व्यापारीको धान किनिरहेका छन् ।' किसानको धान किन्न आनाकानी गरिरहेको उनले बताए ।
लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १ सोहनीका सुरेन्द्र यादवले भने ,अनिवार्य टोकन सिफारिस लेऊ भन्छन्। तर, मसँग टोकन छैन,’ यादवले भने, ‘बिचौलियाहरूलाई टोकन दिएको छ। हामी सानोतिनो किसान जताबाट पनि मार्कामा परेका छौ।'
कार्यालयले किसानको जग्गा धनी लालपुर्जा र स्थानीय निकायबाट किसान भएको सिफारिसका आधारमा ४० क्विन्टल सम्म धान खरिद गर्ने गरेको छ। त्यसैको फाइदा उठाउँदै व्यापारीले केही कार्यालयको कर्मचारीलाई प्रलोभनमा पारी आफूलाई ‘किसान’ भएको सिफारिस लिने गरेका छन् ।
बनिगामाका गोविन्द यादवले किसानहरूले केही सुविधा नपाएको सबै सुविधा नक्कली किसानले पाएको गुनासो गरे । उनले अहिले सम्ममा ३० प्रतिशत मात्र किसानको र ७० प्रतिशत व्यापारीको धान खरिद गरिएको सबै कमिसनको खेल रहेको गुनासो गरे।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी जनकपुरधाम शाखाले १६ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको छ । गत वर्ष सोना मन्सुली धानको मूल्य २ हजार ८ सय ८५ थियो।
कार्यालयमा ६ जना स्थायी निमित्त प्रमुख उपेन्द्र लिम्बू ,मिल सहायक सबिना भट्टराई , लेखा रङिला साह, स्टोर रामपुकार मण्डल गुणस्तरीयमा संन्जु राना र कार्यालय सहयोगी लाल बाहुद तामाङ र ३ जना जालादारी कर्मचारीमा मिल चलाउने १, गाडी चालक १, गार्ड १ गरि जम्मा नौ जना कर्मचारी रहेका छन् ।
आइतबार सम्म ८ हजार ६ सय क्विन्टल धान खरिद गरेको कार्यालयका निमित्त प्रमुख उपेन्द्र लिङदेनले जानकारी दिएका छन् । कार्यालयका निमित्त प्रमुख उपेन्द्र लिङदेलले राती ८ बजे ट्र्याक्टर कसरी छिरे त्यस विषयमा आफूलाईई जानकारी नभएको बताए ।