arrow

एकाएक नरम बन्यो रुस : विदेशमन्त्रीले भने- 'युक्रेनसँग युद्ध चाहन्नौं'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
putin.jpeg

काठमाडौं । रुसले शुक्रवार आफू अमेरिकी सुरक्षा प्रस्तावहरूसँग संलग्न हुन चाहेको सङ्केतलाई थप स्पष्ट पारेको छ ।

विदेशमन्त्री सर्गेइ ल्याभरोभले रुसले युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका छन् ।

'यदि यो रुसमाथि निर्भर गर्छ भने त्यहाँ युद्ध हुने छैन, हामी युद्ध चाहन्नौँ, तर हामी हाम्रा चासोको विषयलाई कठोर रूपमा कुल्चिन र बेवास्ता गर्न पनि अनुमति दिँदैनौँ,' शुक्रवार रुसी विदेशमन्त्री ल्याभरोभले भनेका छन् ।

रुसले युक्रेनी सीमामा लाखौँ सैनिक र हातहतियार स्थापना गरेको छ । अमेरिका, युरोप अन्य सहयोगीले युक्रेनमाथि आक्रमण गरे रुसले कडा परिणामको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

पश्चिमाले आफ्नो चासोको विषयलाई बेवास्ता गर्न खोजेको तर, बुधबार अमेरिका र नाटोले रुसलाई पठाएको जवाफमा केही कुरा भएको ल्याभरोभले बताएका छन् ।

यसअघि जनवरी २१ मा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग ल्याभरोभले भेटवार्ता गरेका थिए । आउँदा दिनमा चाँडै फेरि अर्को वार्ता हुनसक्ने उनले बताएका छन् ।

खासमा रुसले युक्रेनलाई नाटोको सदस्य नबनाउन स्पष्ट पार्नुपर्ने माग राखेको छ । युक्रेन नाटोको सदस्य भए नाटोले आफूलाई गम्भीर सुरक्षा खतरामा पार्ने रुसी चिन्ता छ । अर्कातर्फ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी र रुसी नागरिक एउटै हुन् भन्ने गरेका छन् ।

बुधबार अमेरिका र नाटोले रुसलाई पठाएको लिखित प्रतिक्रिया वा जवाफमा वास्तविक कुरा के छ भनेर सार्वजनिक गरिएको छैन । तर, आउँदा दिनहरूमा रुस र अमेरिकाबीच चरणबद्ध वार्ता हुने बताइएको छ ।

बिहीबार मात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि आक्रमण गरे पुटिनमाथि समेत व्यक्तिगत प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । अर्कातर्फ उनले आज मात्रै रुसले आउँदो महिना अर्थात् फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी समेत दिएका थिए ।

यसबीच रुसबाट युक्रेनलाई लिएर नरम जवाफ आएको हो । यसले रुसले युक्रेनलाई निशाना बनाएर अमेरिकासँगको सुरक्षा चुनौतीमा आफूलाई सक्षम बनाउन खोजेको देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ