ओलीले चोरेको गगनको नारा: जुन कांग्रेसको १४औं महाधिवेशनमा चर्चा भइरहेको छ
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
996
Shares
काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले ‘समुन्नत नेपाल सम्मानित नेपाली’ सहितको अवधारणाको निकै चर्चा भइरहेको छ । चर्चा यस कारण कि उक्त अवधारणा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अवधारणा भएको टिप्पणी गरे ।
तर उक्त टिप्पणी सही सावित हुन पाएन र ओलीको टिप्पणीप्रति कांग्रेस नेता थापाले शनिवार जवाफ फर्काइदिए । गगनले उक्त अवधारणा २०७२ मा नै आफूले ल्याएको र त्यसको प्रमाण आफूसँग रहेको बताए ।
थापाले ओलीलाई जवाफ लेखेका छन्–‘केपी ओली ज्यू, मैंले प्रस्तुत गरेको ‘समुन्नत नेपाल सम्मानित नेपाली’ अवधकारणा तपाइँले पनि पढेको थाहा पाएर खुशी लाग्यो, तर, यो अवधारण २०७२को संविधान जारी भएपछि ल्याएको हुँ ।’ थापाले कांग्रेसको १३ औं महाधिवेशनमा यो अवधारणा सार्वजनिक गरेको भए पनि अहिले त्यसको थप विस्तारित स्वरुप सार्वजनिक गरेका हुन् ।
ओलीले गगनप्रति लक्षित गर्दै आफ्नो सोच ‘समृद्ध नेपाल, सुखी नेपाली’ को स्पष्ट दृष्टिकोण आफ्नो भएको टिप्पणी गरेका थिए । ओलीले गगन थापालाई व्यंग्य गर्दै ‘आजकल अलिअलि सुनिन थालिएको छ, हामीले समृद्ध नेपाल, सुखी नेपाली भन्यौं । अहिले त्यसबाट यताउता पार्न खोज्या, समुन्नत नेपाल र सम्मानित नेपाली पो हुनुपर्छ भन्ने यताउता त्यसमा संशोधन गरेर चिन्तकहरू निस्किन खोजेको देखिन्छ ।’
थापाले ओलीलाई यसको जवाफ दिएका हुन् । थापाले काठमाडौं ४ बाट गत प्रतिनिधि सभाको निर्वाचन लड्दा सार्वजनिक गरेको घोषणा पत्रमा पनि ‘समुन्नत नेपाल सम्मानित नेपाली’ अभियानलाई प्रष्ट रुपमा लेखेको उनको घोषणा पत्रमा देखिन्छ ।
२०७४ को निर्वाचनमा ओली गगनकै निर्वाचन क्षेत्र काठमाडौं ४ मा गएर नेकपा एमालका उम्मेदवार राजन भट्टराईको पक्षमा मत माग्दै गगनप्रति टिप्पणी गर्दै सेलिब्रेटी उम्मेदवार भनेर टिप्पणी गरका थिए । त्यस यता संसददेखि सार्वजनिक कार्यक्रममा गगन ओलीप्रति खरो टिप्पणी गर्दै आएका छन् ।
संसदमा ओली र थापाबीच सवालजवाफ चल्ने गरेको छ । ओलीले २०७४को निर्वाचन भएर प्रधानमन्त्री भएपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा अघि सारेका थिए । कांग्रेस महाधिवेशनमा ओलीले टिप्पणी गरे पनि गगनले जवाफ फर्काउँदै ‘समुन्नत नेपाल सम्मानित नेपाली’ अवधारणाको बारेमा विस्तृत विवरणनै सार्वजनिक गरेका छन् । त्यस्तै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा पनि नेकपा(एकीकृत समाजवादी) बरिष्ठ नेता झलनाथ खनालले अघि ल्याएको भए पनि ओलीले त्यसलाई खुबै प्रचार गरेको देखिन्छ ।