लोकतन्त्र र संविधानको प्रभावकारी कार्यान्वयन सम्भव गर्न कांग्रेस बलियो हुनुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
106
Shares
मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस बलियो भएमा मात्रै लोकतन्त्र र संविधानको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताएका छन्।
गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेसनद्वारा शुक्रबार विराटनगरमा आयोजित श्रमिकका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतना तालिमको उद्घाटन गर्दै उनले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउनु अहिलेको आवश्यकता भएको बताए।
डा. कोइरालाले विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको तिक्तता अन्त्य गर्न बृहत् एकता आवश्यक रहेको उल्लेख गर्दै आफू त्यसै अभियानमा सक्रिय रहेको बताए। पार्टीभित्रको आपसी विश्वास र सहकार्यले मात्रै संगठनलाई मजबुत बनाउन सकिने उनको भनाइ थियो।
उनले संघीय संसद्मा नेपाली कांग्रेसको संख्यात्मक अवस्था कमजोर रहेको उल्लेख गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुको विकल्प नरहेको बताए।
“अहिले संघीय संसद्मा संख्यात्मक रूपमा कांग्रेस कमजोर अवस्थामा रहेकाले पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प छैन,” उनले भने।
पार्टीभित्र देखिएका विवाद र असमझदारीबारे नेतृत्व तह गम्भीर बन्नुपर्ने धारणा राख्दै डा. कोइरालाले समस्या समाधानका लागि सबै पक्षसँग संवाद, वार्ता र छलफल आवश्यक रहेको बताए।
उनले आन्तरिक एकताले मात्र पार्टीलाई सुदृढ बनाउने र त्यसले लोकतान्त्रिक व्यवस्थालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।