अवसर नपाएका वर्गलाई थप सक्रिय बनाउन मेरो उम्मेदवारी : धनराज गुरुङ
को हुन् उपसभापतिका उम्मेदवार गुरुङ ?
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ मंसिर २६ आइतबार
964
Shares
स्याङ्जा । पछिल्लो समय नेपाली राजनीतिमा राष्ट्रियताको विषयमा खुलेर बुलन्द आवाज उठाउने नेता हुन् धनराज गुरुङ । नेपालको पुरानो राजनीतिक दलको फेरो समातेर सामाजिक सेवामा लागेका गुरुङ १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय उपसभापतिमा उम्मेदवारी दिएका छन् ।
सभापतिका उम्मेदवार डाक्टर शेखर कोइरालाको नेतृत्वमा बनेको टिमबाट गुरुङले उपसभापतिमा उम्मेदवारी दिएका हुन् । विद्यार्थी काल देखि राजनीतिक यात्रा शुरु गरेका गुरुङ सँग राष्ट्र र राष्ट्रियताको राम्रो अनुभव रहेको छ । सरकार र राजनीतिक दल विधि सम्मत चल्नु पर्छ भन्ने संस्कारको आवाज उठाउँदै आएका गुरुङले सङ्गठनमा पार्टीले पुराना नेतालाई न्याय गर्नुपर्छ भन्ने मान्यता राखेका छन् ।
गुरुङले १४ औं महाधिवेशनमा नेपाली कांग्रेस पार्टीमा अवसर नपाएका वर्गको थप सक्रिय हुने अवसर प्रदान गर्नुपर्छ भन्ने विषयलाई मुख्य मुद्दा बनाएको बताएका छन् । अवसर नपाएका वर्गको प्रतिनिधित्व गर्दै मेरो उम्मेदवारी केन्द्रीय उपसभापतिमा रहेको जनाउ गुरुङले दिएका छन् । निष्ठा, सिद्धान्त र सङ्गठनमा अमिट छाप बनाइरहने गुरुङ देशभरिका कांग्रेस कार्यकर्ताले रुचाइएका व्यक्तिका रूपमा पर्दछन् । संविधान सभामा दुई पटक सभासद् बनेका गुरुङले राष्ट्रियताको सवालमा धेरै मुद्धाहरुको बहस गरेका थिए ।
भारतले लगाएको नाकाबन्दी होस या सिमाना मिच्ने देखि तेस्रो मुलुकमा अलपत्र परेका नागरिकको मुद्दामा सदन देखि सडक सम्म चर्को आवाज उठाएका गुरुङ राष्ट्रवादी युवा नेताका रूपमा आफूलाई दर्जा गर्न सफल व्यक्ति बन्न पुगेको उनलाई नजिकबाट चिन्ने गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीको भनाई छ ।
उनले चलाएको अभियानलाई पार्टीले साथ दिन सकेमा कांग्रेस सधैँ बलियो पार्टी बन्ने दावी उपसभापति तिवारीको छ । स्याङ्जाले एक जुझारु कांग्रेसको युवा जन्माएको छ तिवारीले भनिन्,‘देशभरका प्रतिनिधिहरूले यो सुवर्ण अवसरमा यस्ता युवा नेताहरूलाई नेतृत्व तहमा पुराउन सहयोग गर्नुपर्छ ।’ कांग्रेसलाई गाउँदेखि केन्द्र सम्म सबल र सक्षम बनाउने हो भने डा. शेखर कोइरालाको टिमलाई विजयी बनाउनु पर्छ उनले भनिन् । सङ्घर्षको मैदानबाट आएका गुरुङ सँग पार्टीमा न्याय हुन्छ भन्ने विश्वास हामीमा रहेको दावी उपसभापति तिवारीको छ ।
को हुन् उपसभापतिका उम्मेदवार गुरुङ
स्याङ्जाको साबिक अर्जुनचौपारी १ हाल अर्जुनचौपारी गाउँपालिका २ लामडाँडामा जन्मेका गुरुङको बाल्यकाल जिवन गाउँमै बितेको हो । बाल्यकालदेखि अन्याय अत्याचार विरुद्ध आवाज उठाउनु पर्छ भन्ने मान्यता बोकेका गुरुङ स्कुले जीवनमै विद्यार्थीको राजनीतिबाट शुभारम्भ गरेका हुन् । हालको भीरकोट नगरपालिका स्थित दहथुम माविबाट २०३६ सालबाट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा शुरु गरेका थिए । २०४२ सालमा पोखरा पृथ्वीनारायण क्याम्पसबाट अव प्रजातन्त्र प्राप्ति पछि मात्रै नेपाल र नेपालीको भविष्य उज्ज्वल हुन्छ भन्ने मानसिकता बोकेर आन्दोलनको आँधीबेहरीमा हाम फालेका गुरुङ सत्याग्रहको नायक हुन् । राजनीतिक यात्रालाई अविच्छिन्न लागे मात्रै गन्तव्यमा पुगिने सोच बनाएर यात्रा गरिरहेका गुरुङ २०५३ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष हुन पुगे ।
उनको राजनीतिक यात्रा हेर्दा यत्तिकैमा रोकिएको देखिँदैन । निरन्तरताको लगाव र सङ्घर्ष गर्दै कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको २०५४ सालमा महामन्त्री, २०४८ सालदेखि निरन्तर महाधिवेशन प्रतिनिधि, २०६४ सालदेखि निरन्तर कांग्रेसको केन्द्रीय सदस्यमा रहेर काम गर्दै आएका छन् । वीपी कोइरालाको आदर्शलाई राम्रो सँग बुझेर राजनीतिक सेवा प्रारम्भ गरेका गुरुङ संविधान लेखन प्रक्रियाका एक साक्षी पनि हुन् ।
विद्यार्थी राजनीतिबाट शुभारम्भ गरेको यात्रा कांग्रेसको १४ औं महाधिवेशन सम्म आइपुग्दा उनी कार्यकारी पद उपसभापतिको उम्मेदवारीको चुनावी मैदानमा छन् । सामाजिक सेवा राजनीतिबाट मात्रै गर्न सकिने सोच बनाएर निरन्तर सङ्घर्षको मैदानमा उत्रिएका गुरुङले सफलता हासिल गर्ने अधिकांश कांग्रेसीजनको बुझाई छ । स्याङ्जाबाट मात्रै करिब एक दर्जन उम्मेदवार बनेका छन् । केन्द्रीय सदस्यमा गोपालमान श्रेष्ठ, भरतराज लम्साल, गोविन्द रानाभाट, सरस्वती अर्याल तिवारी, विष्णु पौडेल, देवी अर्याल, माया राना र स्याङ्जामा जन्मेर पूर्वी नवलपुरबाट राजनीतिक यात्रा शुरु गरेका शङ्कर तिवारी चुनावी मैदानमा उम्मेदवार बनेका छन् ।