कांग्रेसमा रुपान्तरणको एजेण्डा उठाउँदै दीपक गिरीले दिए उम्मेदवारी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
826
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक गिरी कांग्रेसको १४ औं महाधिवेशनमा खुला कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी मनोनयन गरेका छन् । आफ्नो उम्मेदवारीको मुख्य एजेण्डा कांग्रेसको रुपान्तरण भएको उनले बताए ।
‘मेरो मुख्य एजेण्डा रुपान्तरित कांग्रेस नै हो । पार्टीभित्र रुपान्तरणको खाँचो छ’ उनले भने । पार्टीलाई जुझारु रुपमा जनता माझ लैजान पार्टीमा नयाँ शैली र सोचको खाँचो भएको उनको भनाइ छ । ‘हाम्रो सिद्धान्त सही छ’ उनले ‘हामीले हाम्रो आचरणलाई अझै जनतामुखी बनाउन आवश्यक छ ।’ पार्टीलाई आम मतदातासँग बढीभन्दा बढी कसरी जोडिन सकिन्छ भन्ने सोचका साथ पार्टी संरचना बन्नु पर्ने उनले बताए ।
पार्टीलाई जनताबाट टाढा राख्न नहुने उनको भनाइ छ । ‘मतदाताको सोच, चेतना र भावनासँग पार्टीको निर्णयलाई जोड्न सक्नुपर्दछ’ उनले भने ‘जब राजनीतिलाई व्यक्तिगत स्वार्थसित जोडिन्छ, तब, त्यो राजनीति हुँदैन ।’
नेपाललाई समृद्धिको बाटोतर्फ अग्रसर गराउने दृढ इच्छा शक्ति र जनताका दुःख पीडालाई कसरी कम गर्न सकिन्छ भन्ने उद्धेश्यले आफू राजनीतिमा लागेका उनले बताए । उनले भने, ‘हामीले उर्जाशील जवानी नेपाली कांग्रेसमा समर्पित गरेका छौं ।’
पारिवारिक सुख शयललाई तिलाञ्जली दिदै आफू राजनीतिमा लागेको बताउदै उनले भने, ‘यस हिसावबाट भन्ने हो भने राजनीति केबल सेवा हो भन्ने मेरो वुझाई हो ।’
गिरी नेपाली कांग्रेसको १३ र १२ औं महाधिवेशमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् । २०३६ सालमा काठमाडौंमा विद्यार्थी आन्दोलन हुँदा उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य थिए ।
त्यसबेला नेविसंघको केन्द्रीय अध्यक्ष विमलेन्द्र निधी थिए भने गिरी र पूर्णबहादुर खड्का केन्द्रीय सदस्य थिए । वीपी कोइराला निर्वासनको सिलसिलामा भारतमा भएको बेला बनारसमा वीपीसँग उनको पहिलो भेट भएको थियो ।
पूर्व सिचाईमन्त्रीसमेत भएका गिरी विद्यार्थी कालदेखि नै नेपाली कांग्रसेसँग जोडिएका छन् ।