कांग्रेस सभापतिको उम्मेदवारी दर्तामा प्रस्तावक बसे सिटौला, समर्थक को-को ?
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
859
Shares
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशनमा शनिबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । कांग्रेस विधानमा भएको व्यवस्था अनुसार १ सय ३४ जना निर्वाचनमार्फत चयन हुने यो महाधिवेशनमा ५ सय ४८ जनाको उम्मेदवारी परेको छ ।
सभापतिमा मात्रै ६ जनाको उम्मेदवारी दर्ता भएको छ भने उपसभापतिमा ७ जना र महामन्त्रीमा ६ जना तथा सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको छ ।
सभापतिमा शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको हो ।
सभापतिमा देउवाले उम्मेदवारी दिंदा उनको प्रस्तावकमा नेता कृष्णप्रसाद सिटौला बसेका छन् । उनले १३औं महाधिवेशनमा पनि दोस्रो चरणमा देउवालाई आफ्नो समर्थन दिएर जिताएका थिए ।
सिटौलासँगै देउवाको प्रस्तावकमा बालकृष्ण खाँण, मीन विश्वकर्मा, अजय चौरसिया, बहादुर सिंह लामा, भीमसेन दास प्रधान र चित्रलेखा यादव बसेका छन् ।
यसैगरी देउवाको सभापतिको उम्मेदवारीमा गोपालमान श्रेष्ठ, रमेश रिजाल, जीवनबहादुर शाही, गोविन्द परियार, अम्बिका बस्नेत, जगतबहादुर तामाङ र मुख्तार अहमदले समर्थन गर्दै समर्थक बसेका हुन् ।