धनगढी । नेपाली कांग्रेसको प्रदेश तहको संरचना चयनका लागि आजबाट प्रदेश अधिवेशनको प्रक्रिया शुरु हुँदैछ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार सातै प्रदेशमा आज प्रदेश अधिवेशनका लागि मतदाता नामावली प्रकाशित हुँदैछ ।
यस्तै भोलि शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने तालिका छ। कांग्रेसले हालको विधान अनुसार आफ्नो संरचनालाई पहिलो पटक प्रदेश तहमा कार्यान्वयन गर्न लागेको हो । प्रदेश तहको अधिवेशनका लागि कांग्रेसमा गुटअनुसार नै उम्मेदवार बन्ने सम्भावना बढेको छ ।
सुदूरपश्चिम प्रदेशमा सभापति बन्ने दौडमा नरनारायण शाह मनु, हिमबहादुर रावत, अर्जुनजंगबहादुर सिंह, पुष्पबहादुर शाही, गोविन्दबहादुर शाह, वीरबहादुर बलायर र भरतबहादुर खड्का गरी सात जना अघि बढेका छन् ।
यीमध्ये नारायण कैलालीका पूर्व सभापति हुन् । हिमबहादुर कैलाली क्षेत्र नम्बर २ बाट प्रदेश सभाका उम्मेदवार थिए । यस्तै अर्जुनजंग बझाङका हुन् उनी पूर्व राज्यमन्त्रीसमेत हुन् ।
यसैगरी पुष्प डोटीबाट राजनीतिमा सक्रिय छन् भने गोविन्द अछामबाट सक्रिय छन् । उनीसमेत पूर्व राज्यमन्त्री हुन् ।
यसैगरी वीरबहादुर हाल कांग्रेस केन्द्रीय सदस्य छन् भने उनी केन्द्र सरकारमा भौतिक मन्त्रीसमेत भइसकेका नेता हुन् । भरत भने डोटीबाट राजनीतिमा सक्रिय छन् ।
सुदूरपश्चिमबाट प्रदेश सभापतिमा आकांक्षा राख्नेहरु भरत बाहेक अरु सबै संस्थापन समूह निकट मानिन्छन् । भरत भने इतर समूहका हुन् । उनी संविधान सभा सदस्यसमेत हुन् । हाल उनी प्रदेश सांसद छन् ।
संस्थापन समूहले भने यो प्रदेशमा वीरबहादुरलाई बलियो उम्मेदवारका रुपमा राखेको छ । उनी केन्द्रीय राजनीतिमासमेत प्रभाव राख्नेमा पर्छन् ।
प्रदेश तहको नेतृत्व चयनका लागि मतदान भने १८ मंसिरमा हुने कार्यतालिका छ । तर संस्थापन र इतर पक्षले अहिलेसम्म यो प्रदेशमा कसलाई उम्मेदवार बनाउने भन्ने तय गरिसकेको छैन ।
कांग्रेसको संस्थापन इतर पक्षले विभिन्न प्रदेशमा उम्मेदवार चुन्न परामर्श टोली नै बनाएको छ । जसअनुसार बागमती प्रदेशमा जगदीशनरसिंह केसीलाई अगाडि सारिसकेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडू र बद्री पाण्डेलाई उम्मेदवार छान्ने जिम्मा दिइएको छ । उक्त टोलीले आकांक्षीहरुसँग छलफल गरी निर्णयमा पुग्नेछ ।