‘नयाँ ब्राण्डलाई छानौं’ भन्दै बिजुलाबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
967
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि जति नजिकिदै छ त्यति नै विभिन्न पदमा उम्मेदवारीको घोषणा गर्ने क्रम बढ्दो छ । सो क्रममा नेपाली कांग्रेसकी युवा नेतृ बिजुला बर्मा राणाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
केन्द्रीय सदस्य पदमा उनको यो दोश्रो उम्मेदवारी हुनेछ । १३ औं महाधिवेशनमा पनि उनले पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन् । त्यतिखेर उनले करिब पाँच सय मत ल्याएकी थिइन् । कुनै टिममा नरहेर पनि पाँच सय भोट ल्याउनु सामान्य हैन ।
त्यसबाट पनि उनको लोकप्रियता थाहा हुन्छ । यसपटक टिमबाटै उम्मेदवारी दिने उनको सोच छ । राजनीतिमा लाग्दा उनी तत्कालीन संस्थापन टिम (गिरिजाप्रसाद कोइराला टिम) सँग नजिक भएर काम गरिन् । अहिले पनि उनी रामचन्द्र पौडेल, डा. शशांकं कोइराला, डा. शेखर कोइराला तथा प्रकाशमान सिंह टिमसँग नजिक छिन् ।
हाल उनी बागमती प्रदेशको प्रदेश सभा सदस्य पनि हुन् । उनी सिन्धुलीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । यसपटक उनले महिला खुला कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोच बनाएकी छिन् । नेताहरुसँग सरसल्लाह गरेर यस बारेमा टुंगो लगाउने उनको योजना छ ।
उनको सिङ्गो परिवार नै राजनीतिक पृष्ठभूमिसँग जोडिएको छ । सिन्धुलीमा जन्मिएकी बर्माले सिन्धुलीबाटै आफ्नो राजनीतिक यात्रा शुरु गरिन् । सिन्धुलीमै उच्च शिक्षा अध्ययन गरिन् । २०४७ सालमा उनी सिन्धुली बहुमुखी क्याम्पसको कोषाध्यक्ष भइन् ।
नेविसंघ जिल्ला कार्यसमिति सदस्य, महिला संघ जिल्ला कार्यसमितिको सदस्य हुँदै उनको राजनीनिक यात्रा अघि बढ्यो । थप अध्ययन गर्न काठमाडौं आइन् । काठमाडौं आएपछि पनि उनको राजनीतिक यात्रा टुंगिएन । झ्न सशक्त भयो । लोकतन्त्र सर्वमान्य सिद्धान्त हो भन्ने उनी काठमाडांैको पद्मकन्या क्याम्पसमा भर्ना भइन् । त्यहाँ उनी २०५१ सालमा सहसचिव तथा २०५३ मा उपसभापतिसमेत भइन् ।
२०५७ मा उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भइन् । २०५९ सालमा उनले फेरि पनि नेविसंघको केन्द्रीय सदस्यमा चुनाव जितिन् । २०६१ सालमा नेपालमा आन्दोलन भइरहेका बेला उनले नेविसंघको केन्द्रीय उपाध्यक्षमा चुनाव जितिन् । त्यतिखेर आरक्षण समावेशी कोटा थिएन । त्यसबेला उनले सोझै पुरुष उम्मेदवारसँग प्रतिष्पर्धा गरिन् । नेविसंघको केन्द्रीय उपाध्यक्षमा चुनाव जित्ने पहिलो महिला पनि हुन् उनी । २०४८ सालदेखि उनी लगातार नेपाली कांग्रेसको क्रियाशील सदस्य छिन् ।
पार्टीलाई सुदृढीकरण र शुद्धीकरण गर्ने उनको पहिलो एजेण्डा हो । ‘पार्टी अहिले विधि र सिस्टममा चलेको छैन । पार्टीलाई विधि र सिस्टममा चलाउनु मेरो पहिलो एजेण्डा हो’, बर्माले भनिन्, ‘पार्टीलाई विधिमा चलाएपछि त्यहाँबाट उत्पादन हुने नेतृत्व सही हुन्छ । पार्टीमा सही नेतृत्व आए देश सही ठाउँमा जान्छ ।’
नेपाली कांग्रेसका कार्यकर्ताहरुले सही बेला सही नेतृत्व नछानेका कारण देशले दुःख पाएको उनको निष्कर्ष छ । उनले भनिन्, ‘त्यसकारण अहिले सक्षम र योग्य व्यक्तिलाई छानौं । जसले देश र पार्टीलाई सही विचार देओस् र अघि बढाओस् ।’
कांग्रेसमा पुराना नेताहरुको पनि ठूलो योगदान रहेको चर्चा गर्दै उनले भनिन्, ‘उहाँहरुको योगदान ठूलो छ । उहाँहरुको योगदानबाट कांग्रेस र देश यो ठाउँमा आएको छ तर पनि पटक–पटक एउटै अनुहार टेष्ट हुँदा मान्छेहरुलाई मन पर्न छाड्छ । अहिले बजारमा नयाँ ब्राण्ड आइसकेका छन् । नयाँ ब्राण्डलाई छानौं । नयाँ ब्रान्डलाई बजारमा जान दिऔ । नयाँ ब्राण्ड सेल हुन दिनुपर्छ ।’ नयाँ ब्राण्डलाई छाने पनि पुराना ब्राण्डलाई सम्मान गर्ने उनको भनाइ छ ।
उमेर अनुसार मान्छेको दिमाग पनि शिथिल हुँदै जाने उनको तर्क छ । उनले भनिन्, ‘आजको युग २१औं शताब्दीको हो । यस युगलाई सम्वोधन गर्न युवाको दिमाग चाहिन्छ । पुरानो दिमागले अहिलेको युगलाई सम्वोधन गर्न सक्दैन ।’