कांग्रेसको ४६ जिल्लामा टुङ्गियो नेतृत्व, कुन पक्षका को बने सभापति ?
२६ मा संस्थापन, २० मा इतर पक्षका सभापति निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
994
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिलेसम्म ४६ जिल्लामा नेतृत्व चयन भएको छ। अन्य केही जिल्लामा समेत धमाधम नेतृत्व चयनको प्रक्रिया जारी छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७७ मध्ये ४६ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको हो । केही जिल्लामा भने सर्वसम्मत रुपमा नेतृत्व चुनिएका छन् ।
हालसम्मको परिणाम अनुसार ४६ जिल्ला मध्ये २६ जिल्लामा कांग्रेस सभापति शेरबहादुर देउवा अर्थात् संस्थापन पक्षीय जिल्ला सभापति चुनिएका छन् । यस्तै २० जिल्लामा संस्थापन इतर समूहको नेतृत्व आएको छ।
हालसम्म सार्वजनिक मतपरिणाम अनुसार संस्थापन समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूणर्बहादुर तामाङ ९कान्छाराम०, मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति चयन भएका छन् ।
यसैगरी सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कणबहादुर शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु, लमजुङमा डा। टकबहादुर गुरुङ, डोटीमा नरेन्द्रबहादुर सिंह संस्थापन समूहबाट सभापति निर्वाचित भएका छन् ।
जाजरकोटका सिंह र मनाङका गुरुङ सर्वसम्मत सभापति चयन भएका हुन् । यसैगरी ओखलढुंगामा तेजेन्द्र खनाल संस्थापन समूहबाटै सभापति निर्वाचित बनेका छन् भने पर्वतमा युवराज जोशी आएका छन् ।
यसैगरी रुकुम पश्चिममा प्रेमप्रकाश ओली सर्वसम्मत सभापति बनेका छन् । यस्तै इलाममा पनि संस्थापन समूहबाट उम्मेदवार बनेका डम्मर खड्का जिल्ला सभापति निर्वाचित बनेका छन् । यसैगरी रुपन्देहीमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा जिल्ला सभापति निर्वाचित बनेका छन् ।
स्याङ्जा सभापतिमा निर्वाचित राजु थापा पनि संस्थापन निकट हुन् । स्याङ्जामा राजु थापा, कास्कीमा किशोरदत्त बराल र काभ्रेमा तीर्थ लामा पनि संस्थापन समूहबाटै सभापति निर्वाचित भइसकेका छन् ।
त्यस्तै कञ्चनपुरबाट संस्थापन पक्षका पदम बोगटी निर्वाचित भएका छन् ।
ललितपुरबाट जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् ।
यस्तै संस्थापनइतर समूहबाट संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल जिल्ला सभापति बनेका छन् ।
यसैगरी अर्घाखाँचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द, भोजपुरमा विनोद बान्तवा, तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे र रोल्पामा किशोर आचार्य जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
यसैगरी इतर समूहबाटै खोटाङमा विष्णुकुमार राई जिल्ला सभापति निर्वाचित भएका छन् भने पश्चिम नवलपरासीमा इतर समूहबाटै अर्जुनकुमार पोखरेल जिल्ला सभापति चुनिएका छन् ।
त्यस्तै पाल्पाबाट हिमालदत्त श्रेष्ठ संस्थापन इतरबाट निर्वाचित भएका छन् ।
यस्तै नुवाकोटको नेतृत्व पनि इतर समूहकै हातमा परेको छ ।
नुवाकोटमा रमेश महत, दार्चुलामा ललितसिंह बोहोरा र दाङमा शंकर डाँगी संस्थापन इतर समूहबाट जिल्ला सभापति चुनिएका छन् ।
त्यस्तै झापा कांग्रेसमा इतर पक्ष अर्थात् कृष्णप्रसाद सिटौला पक्षका देउकुमार थेवे निर्वाचित भएका छन् ।