बाँके काँग्रेस जिल्ला अधिवेशन एकाएक सर्यो, अब केन्द्रीय महाधिवेशनपछि !
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
832
Shares
नेपालगन्ज । नेपाली काँग्रेस बाँकेको अधिवेशन सरेको छ । सङ्घीय निर्वाचन क्षेत्र अधिवेशन सकिएपछि जिल्ला अधिवेशनको अन्तिम तयारी भइरहेका बेला अधिवेशन सरेको हो ।
कार्यतालिका अनुसार भोलि सोमवार मनोनयन दर्ता र मङ्गलवार निर्वाचन तय गरिएको थियो । प्रदेश महाधिवेशन र सङ्घीय महाधिवेशन प्रतिनिधि चुनिइसकेकाले प्रदेश र केन्द्रीय महाधिवेशनलाई असर नपर्ने भएका कारण केन्द्रीय निर्वाचन समितिको निर्देशनमा जिल्ला अधिवेशन सारिएको हो ।
प्रदेश अधिवेशन मङ्सिर १६ मै तय गरिएकाले जिल्ला अधिवेशनको परिणाम पहिलो चरणमा नआए समय नहुने देखिएपछि अहिलेलाई प्रदेश महाधिवेशनपछि गर्ने गरी अधिवेशन स्थगित गरिएको सहायक निर्वाचन अधिकृत चित्र बहादुर शाहीले बताए ।
हाललाई केन्द्रीय निर्वाचन समितिको निर्देशनमा प्रदेश अधिवेशन सम्पन्न नहुँदासम्म जिल्ला अधिवेशन स्थगित गरिएको शाहीले बताए । मङ्सिर १६-१८ मा प्रदेश अधिवेशन हुने र २१ गते केन्द्रीय महाधिवेशनको मनोनयन राखिएकाले अब केन्द्रीय महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने देखिएको छ ।