arrow

कांग्रेस भक्तपुरको जिल्ला अधिवेशन: ६ बर्षपछि सभापतिमा थापा र कबेबीच फेरि भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
bhaktapur-congress.jpg

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको जिल्ला अधिबेशनको प्रक्रिया आज आइतबारबाट शुरु हुँदैछ । केन्द्रीय तालिका अनुसार अन्य जिल्लामा जस्तै मंसिर १० गते नै हुनुपर्ने थियो । तर आन्तरिक बिवाद र तयारी नपुगेको भन्दै अधिवेशन आजसम्मका लागि स्थगित भएको थियो ।

आज उम्मेदवारी दर्ता, दाबी बिरोध, नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरिने र भोलि मतदान र मतगणना हुने जिल्ला निर्वाचन समितिले जनाएको छ । अबिधेशनमा भएको ढिलाईबारे सभापति दुर्लभ थापा र ईतर समुहले एक अर्कालाई दोषारोपण गरेका छन् ।

सभापतिमा  फेरि पनि बर्तमान सभापति दुर्लभ थापा र नेता अष्टकुमार कबेंबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार थापाले एक कार्यक्रमकाबीच उम्मेदबार घोषणा गरेका छन् भने शनिबार कबेंले ।

६ बर्ष अघिपनि भक्तपुर जिल्ला सभापतिमा दोस्रो चरणमा थापा र कबेंबीच नै भिडन्त भएको थियो । १३औं महाधिबेशन अन्तर्गत पहिलो चरणमा चारजना उम्मेदबार दुर्लभ थापा, अष्ट कबें ,राजाराम खड्का र गणेशमान चक्रधरबीच भिडन्त भएको थियो । कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको चुनाब भएको थियो।

अघिल्लो अधिबेशनमा थोरै प्रतिनिधिहरू थिए भने यसपाली धेरै प्रतिनिधिहरू सहभागी हुँदैछन् । जसले गर्दा कसले जित्छ भन्न सक्ने स्थिति छैन तर पनि थापा अली बढी बलिया देखिन्छन्  । १४औं महाधिबेशन अन्तर्गत नगरपालिका ,प्रदेश र क्षेत्रको निर्वाचनको नतिजा हेर्ने हो भने थापा थोरै मतले अगाडि छन् । जिल्ला अधिबेशनमा ६ बर्षपछि पनि पुनः उहीँ पुराना अनुहार बीच प्रतिस्पर्धा हुँदैछ । नतिजा उल्टिने होकी, पुरानै नतिजा आउने हो चासोको बिषय भएको छ ।

वर्तमान सभापति समेत रहेका थापा कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन् भने कवे नेता प्रकाशमान सिंह निकट हुन् । कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत भक्तपुरको अधिवेशनमा पनि पहिलो चरणमा पहिलो स्थानमा रहेका कवेलाई दोस्रो चरणमा झिनो मतले पछि पार्दै थापा सभापतिमा निर्वाचित भएका थिए ।

यद्यपी नगर अधिवेशनदेखि क्षेत्रीय अधिवेशनको नतिजा आउँदासम्म भक्तपुरमा सभापति देउवा(संस्थापन) पक्ष झिनो मतले अगाडि देखिएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहदेखि शुरु अधिवेशनमा देउवा पक्षीय संस्थापन पक्ष विरुद्ध कांग्रेस नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, कोइराला परिवार पक्षीय नेताहरुले संयुक्त समूह बनाएर अधिवेशनमा होमिएपनि क्षेत्रीय अधिवेशनसम्मको नतिजामा संस्थापन पक्ष अघि देखिएको हो ।

क्षेत्रीय अधिवेशनको उम्मेदवारी दर्ता गर्नेक्रममा देउवा ईतर खेमाका रुपमा परिचित वरिष्ठ पत्रकार कविर राणा, माथवरसिंह बस्नेत र विदुरमानसिंह बस्नेतले साथ दिएपछि संस्थापन पक्ष थप बलियो बनेको छ । यद्यपी जिल्लामा भित्रि रुपमा समीकरण बन्ने र भत्किने क्रम पनि चलेकाले जिल्ला अधिवेशनको नतिजा कसको पक्षमा जान्छ भनी आंकलन गर्न नसकिने अवस्था रहेको कांग्रेसका नेताहरु बताउँछन् ।

भक्तपुरमा कांग्रेसका क्षेत्रीय प्रतिनिधिको संख्या १ हजार २४ छन् । नगर अधिवेशनमा संस्थापन पक्षका चाँगुनारायण नगरसभापतिमा विजयी शिवहरी केसीले १८८, सुर्यविनायकमा विजयी निशान ढुंगेलले १४४, मध्यपुर थिमिमा पराजित सुरेन्द्र श्रेष्ठले ८५ र भक्तपुर नगरसमितिमा पराजित राम कासुलाले ६८ गरी कुल ४८५ मत प्राप्त गरेका थिए भने इत्तर पक्षका मध्यपुर थिमिमा विजयी हरिदास प्रजापतिले १९०, भक्तपुर नगरसमितिमा निर्वाचित राजेन्द्र तमखुले ८९, चाँगुनारायणमा पराजित गोपाल पौडेलले ५८ र सूर्यविनायकमा पराजित रवि रणाले ११२ गरी कुल ४४९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी क्षेत्रीय अधिवेशनमा समग्रमा संस्थापन पक्षले ५०९ मत पाए भने इत्तर पक्षले ४७८ मत प्राप्त गरे । दुई क्षेत्रीय समितिमा पनि दुवै समूहले एक एक स्थानमा वर्चश्व कायम गरे । भक्तपुर क्षेत्र नं. १ मा संस्थापन पक्षका जीवन खत्री विजयी हुँदा क्षेत्र नं. २ मा संस्थापन इत्तर पक्षका भेषबहादुर कार्की विजयी भए । खत्रीले २७१ मत ल्याएका थिए भने उनका प्रतिष्पर्धी संस्थापन इत्तर पक्षका उद्धव खड्काले ११६ मत प्राप्त गरे । त्यसैगरी क्षेत्र नं. २ मा निर्वाचित कार्कीले ३६० मत ल्याउँदा उनका प्रतिस्पर्धी संस्थापन पक्षका विदुरमानसिंह बस्नेतले २३८ मत प्राप्त गरे ।

भक्तपुरका चार स्थानीय तह मध्ये दुई वटामा संस्थापन पक्षले जित्यो भने दुई वटामा संस्थापन इत्तर पक्षले  । जिल्लाको चाँगुनारायण र सुर्यविनायक नगरपालिकामा संस्थापन पक्षका क्रमशः शिवहरी केसी र निशान ढुंगेल सभापतिमा विजयी हुँदा मध्यपुर थिमिमा हरिदास प्रजापति र भक्तपुर नगरपालिकामा राजेन्द्र तमखु संस्थापन इत्तर पक्षका विजयी भएका छन् ।

त्यस्तै चार प्रदेशसभा क्षेत्रमा पनि दुवै समूहले दुई दुई स्थानमा जित हासिल गरे । प्रदेशसभा क्षेत्र अन्तर्गत संस्थापन पक्षले भक्तपुर १ ‘ख’ र २ ‘क’ मा जित हासिल गरे । भक्तपुर १ ‘ख’मा संस्थापन पक्षका जयन्द्र खड्का र भक्तपुर २‘क’मा प्रदिप कार्की सभापतिमा निर्वाचित भए । भक्तपुर १ ‘क’ मा संस्थापन इत्तर पक्षका शीव अवाल र भक्तपुर २ ‘ख’मा ओमप्रकाश श्रेष्ठले बाजी मारे ।

महाधिवेशन प्रतिनिधिमा दुवै क्षेत्रमा मिश्रित परिणाम आएपनि समग्रमा संस्थापन पक्ष बलियो देखिए । भक्तपुरबाट निर्वाचित ५० जना महाधिवेशन प्रतिनिधि मध्ये संस्थापन पक्षका ३१ जना छन भने संस्थापन इत्तर पक्षका १८ जना र एकजना कुनै समूहमा नरहेका स्वतन्त्र समुहका छन् ।

संस्थापन इत्तर पक्ष भक्तपुर क्षेत्र नं.१ मा कमजोर देखिएको छ । यस क्षेत्रबाट निर्वाचित २५ जना महाधिवेशन प्रतिनिधि मध्ये संस्थापन पक्षका २१, इत्तर पक्षका ३ जना र एक जना कुनै समूहमा नरहेका स्वतन्त्र छन । यस क्षेत्रबाट इत्तर पक्षका नेपाल तरुण दलका पुर्वकेन्द्रीय अध्यक्ष विनोद प्रकाश कायस्थ समेत पराजित भए । यद्यपी उनले मतगणनामा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका छन्् ।

भक्तपुर क्षेत्र नं.२ मा संस्थापन पक्ष तुलनात्मकरुपमा कमजोर देखिएको छ । क्षेत्रीय अधिवेशनको उम्मेदवारी मनोनयन जारी रहँदा कोइराला खेमाका रुपमा परिचित विदुरमानसिंह बस्नेत, वरिष्ठ पत्रकारद्धय कविर राणा र माथवरसिंह बस्नेतले संस्थापन पक्षलाई साथ दिएपनि भक्तपुर क्षेत्र नं. २ मा संस्थापन पक्षले क्षेत्रीय समिति मात्र गुमाएन २५ जना महाधिवेशन प्रतिनिधिमध्ये १० जनामा खुम्चिए ।

यस क्षेत्रमा आदीवासी जनजाती महिलातर्फको महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुन बाँकी रहेको छ । मंसिर ७ गते सम्पन्न निर्वाचनमा मतपत्रमा त्रुटी भेटिएपछि यो विधाको निर्वाचन स्थगित गरिएको हो । यहाँ कांग्रेसको रोमान्चक पक्ष के छ भने केन्द्रमा देउवा र देउवा ईतर समुहका भनेर चिनिएका नेताहरु एक आपसमा क्रस समुहमा छन् ।

देउवा ईतर खेमाका रुपमा परिचित वरिष्ठ पत्रकार कविर राणा, माथवरसिंह बस्नेत र विदुरमानसिंह बस्नेत थापाको साथमा रहेका छन् भने बिगतदेखि नै देउवा समुहमा रहेका पुर्व जिल्ला सभापति गणेशमान चक्रधर,जिल्ला सचिब उद्धब सिलवाल हाल कबे समुहमा रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ