प्रकाशमानले रामचन्द्रलाई भने - ‘म अघि बढिसकेँ तपाइलाई समर्थन गर्न सक्दिन’
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
741
Shares
काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई १४औँ महाधिवेशनमा सहयोग गर्न नसक्ने प्रस्ट सन्देश दिएका छन्।
बिहीबार बिहान आफ्नै निवास चाक्सीबारीमा भेटका लागि आएका पौडेललाई सिंहले पहिले सहयोग गरेको तर यस पटक सहयोग गर्न सक्ने अवस्थामा आफू नरहेको भन्दै आफूलाई सघाउन पौडेललाई आग्रह गरेका हुन्।
‘रामचन्द्र दाइ मलाई भेट्न आउनु भएको थियो, उहाँले आफ्ना पुरानै कुरा राख्नु भयो, मैले तपाइ अभिभावक हो, म मान्छु, तर अहिले म समर्थन गर्न सक्दिन, म अघि बढिसकेँ भनेर प्रस्ट रूपमा भने,’ पौडेलसँगको भेटबारे जानकारी दिँदै सिंहले हाम्रा कुरासँग भने।
यसअघि नेता सिंहले हालका सभापति शेरबहादुर देउवा र नेता पौडेलबाट अब पार्टी नचल्ने अभिव्यक्ति दिएका थिए।
यस्तै केही दिनअघि पौडेलले बोलाएको गुटको बैठक पनि सिंहले बहिष्कार गरेका थिए।
सिंहले आफू १४औँ महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा पहिले नै गरेको भन्दै अब कुनै हालतमा ब्याक नहुने बताउँदै आइरहेका छन्।
तर पौडेलले भने इतर समूहबाट साझा उम्मेदवार तय गर्ने आफ्नो प्रयास रहँदै आएको बताइरहेका छन्।
यही समूहबाट हालका पौडेल र सिंहसहित महामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ सभापतिको आकाङ्क्षी छन्।