चितवनका उद्योगी-व्यवसायीहरू कांग्रेसको राजनीतिमा सक्रिय हुँदै
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
1.6k
Shares
चितवन। नेपाली कांग्रेसको महाधिवेशन नजिकिंदै गर्दा देशभरका कांग्रेस कार्यकर्ताहरू व्यस्त भएका छन्। कांग्रेसको राजनीतिमा विभिन्न पेशाकर्मीहरू पनि आकर्षित भएका छन्। चितवनका व्यवसायीहरू पनि कांग्रेसको राजनीतिमा सक्रिय भएका छन्।
उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्याशित जित हासिल गरेर चर्चामा आएका युवा उद्यमी राजन गौतम यतिबेला कांग्रेस राजनीतिमा सक्रिय छन् । सङ्घका पूर्व अध्यक्ष उनले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पारेका थिए । कांग्रेस चितवनको यही मङ्सिर १० गते हुने निर्वाचनमा उनी उपसभापति पदको उम्मेदवार रहेका छन् ।
सङ्घ खैरहनीका पूर्व अध्यक्ष गुणराज श्रेष्ठ कांग्रेस खैरहनी नगर सभापतिमा निर्वाचित भएका छन् । सङ्घ रत्ननगरका पूर्व अध्यक्ष केशवनारायण श्रेष्ठ कांग्रेस रत्ननगर वडा नं २ का सभापतिमा निर्वाचित भएका छन् । राजनीति गर्ने यसलाई ‘पेशा’ बनाएको आरोप लागिरहेका बेला उद्योगी व्यवसायी राजनीतिमा आउँदा सकारात्मक हुने दाबी गरिएको छ । जीवनभर राजनीति गरेकालाई पाखा लगाउँदै व्यवसायी राजनीतिमा आउन हुँदैन भन्ने तर्क अघि सार्ने पनि कम छैनन् । यसो त अग्रणी व्यवसायी उमेश श्रेष्ठ पछिल्लो समय राजनीतिमा सक्रिय छन् । उनको राजनीतिक क्षेत्र चितवन हो ।
क्षेत्रीय होटल सङ्घ सौराहाका तीन पूर्व अध्यक्ष अहिले कांग्रेसको आसन्न महाधिवेशनमा जिल्ला, प्रदेश र संघमा उम्मेदवारी दिँदै छन् । सङ्घका पूर्व अध्यक्ष सुमन घिमिरेका अनुसार हरिभक्त घिमिरे महाधिवेशन प्रतिनिधि, नारायण भट्टराई प्रदेश प्रतिनिधि र ज्ञानेन्द्रकुमार विष्ट जिल्ला सदस्यमा उम्मेदवारी दिँदै छन् । सङ्घका वरिष्ठ उपाध्यक्ष रामहरि खनाल महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै छन्।
होटल व्यवसायी वासुदेव ढुङ्गाना र शेरबहादुर परियार महाधिवेशन प्रतिनिधिमा र रामकुमार अर्याल प्रदेशमा उम्मेदवारी दिँदै छन् । रेष्टुराँ एण्ड बार एशोसिएशन सौराहाका पूर्व अध्यक्ष राजन भट्ट प्रदेश प्रतिनिधिमा उम्मेदारी दिने तयारीमा रहेका छन् ।
उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष एवं उद्योग सङ्घ चितवनका पूर्व अध्यक्ष भेषराज दुवाडी महाधिवेशन प्रतिनिधि निर्वाचन लड्ने तयारीमा रहेका छन् । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष उत्तमलाल चुके प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिँदै छन् । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ जिल्लाका दुई हजार ९०० हाराहारी प्रतिनिधिमा आधा ५० वर्षभन्दामुनिका रहेको बताउँछन् । प्रतिनिधि युवा, व्यवसायी, बुद्धिजीवी, पेसाकर्मीलगायतका छन् । यो निर्वाचनमा उद्योग व्यवसाय क्षेत्रबाट धेरैको प्रतिनिधित्व हुने देखिएको उनको भनाइ छ ।
कांग्रेस चितवनका कोषाध्यक्ष शङ्करप्रसाद कँडेल व्यावसायिक पृष्ठभूमिका हुन् । उनी अबका निर्वाचनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार मात्रै रहेर स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्ने तयारीमा लागेका छन् । जिल्ला सभापति श्रेष्ठ उद्योगी व्यावसायिक क्षेत्रमा नेतृत्व गरेका दुवाडी, चुके, गौतम, श्रेष्ठ, दीर्घमान लगायतका व्यक्ति कांग्रेसका राजनीतिमा सक्रिय भएको बताउँछन् ।
चितवन च्याम्बर अफ कमर्सका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रको उद्योग व्यापार विभागका सचिव दीर्घमान श्रेष्ठ उद्योग व्यवसायमा राम्रो सफलता हासिल गरेका व्यक्ति सक्रिय राजनीतिमा आउनु सकारात्मक भएको बताउँछन् । सङ्घका पूर्व जिल्ला अध्यक्ष चुके व्यावसायिक पृष्ठभूमिका व्यक्ति राजनीतिमा आउँदा व्यवसायीका नीतिगत समस्या बुझ्ने र समाधान हुने बताउँछन् । उनले भने, “व्यावसायिक व्यक्ति राजनीतिमा आउँदा राजनीतिमा भ्रष्टाचार कम हुन्छ ।”
सङ्घका पूर्व अध्यक्ष गौतम व्यावसायिक व्यक्ति राजनीतिमा आउँदा पार्टीका नेता कार्यकर्तालाई राजनीतिसँगै व्यापार व्यवसायमा जोड्ने हुँदा समग्र राष्ट्रका लागि नै हित हुने बताउँछन् । उनले भने, “सधैँ चन्दा मागेर पार्टी चल्नुभएन, नेता आउँदा नोट माग्छ कि भोट माग्छ भन्ने हुनु भएन ।” पार्टीलाई आर्थिकरुपमा सबल र दह्रो बनाउँदै पार्टीका लागि जीवन र जोवन खर्चिएका योद्धाको सम्मानका लागि आफूले उम्मेदवारी दिन लागेको उनी बताउँछन् । -रासस