‘म जनताको शिर झुक्ने कुरा कहिल्यै गर्ने छैन’ – अग्नि सापकोटा
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २९ शुक्रबार
702
Shares
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल आमाको सेवा गर्न अरु सबै कुरालाई गौण बनाएर देशको व्यवस्था, संविधान र प्रतिनिधि सभाको रक्षाका लागि सबैभन्दा बढी समय दिएको बताएका छन् ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा–४ मा बिहीबार फ्याफुल्ला युवा क्लबको नवनिर्मित भवन उद्घाटन गरेपछि सम्बोधनका क्रममा सभामुख सापकोटाले आफ्नो बुद्धि, विवेक, योग्यता र क्षमताले भ्याएसम्म २४ सै घण्टा जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरे ।
आफूले आम नागरिकको इज्जत र प्रतिष्ठामा आँच आउने कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने, ‘म जनताको शिर झुक्ने कुरा कहिल्यै गर्ने छैन, देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता नगर्ने छैन, मातृभूमिका खातिर जीवनको अन्तिम घडीसम्म कसैसँग झुक्ने छैन ।’
भारतीय देशभक्त भगत सिंहको स्मरण गर्दै उनले देशभक्ति भन्दा ठूलो केही नहुने स्पष्ट गर्नुभयो । सभामुख सापकोटाले भने, ‘नेपाल आमा भन्दा ठूलो यो दुनियाँमा हाम्रा लागि केहि पनि छैन ।’
उनले दुइ वर्ष यता राष्ट्रले बेहोरिरहेको कोभिड–१९, राजनैतिक र प्राकृतिक प्रकोपको संकट पार हुँदै गएको बताउँदै समृद्धिको यात्रामा लाग्नुपर्नेमा जोड दिए । नवयुवाहरुको उर्जा र उत्साहलाई देश विकासमा लगाउनु पर्नेमा उनको भनाई थियो ।
सभामुख सापकोटाले अहिले नेपाल महान् बहशको प्रक्रियामा रहेकोले देशका विकृति, विसंगति, भ्रष्टाचार सबै निमिट्यान्न हुने र नयाँ समाज निर्माण हुने विश्वास व्यक्त गरे ।
सभामुख सापकोटाको स्थानीय विकास पूर्वाधार कार्यक्रमबाट २० लाख, प्रदेश सरकारबाट ३० लाख र बलेफी गाउँपालिकाबाट पाँच लाख गरी ५५ लाख लगानीमा फ्याफुल्ला क्लबको सुविधा सम्पन्न दुई तल्ले भवन र खेल मैदान निर्माण गरिएको छ ।