arrow

संसद् अधिवेशन आह्वान नगरिएकोमा माओवादीको आपत्ति [भिडियो]

संसद् किन यति ढिलोसम्म बोलाइएन ? - अग्नि सापकोटा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
agni-sap-09-30.jpg

काठमाडौँ । पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू सभामुख हुँदा र अरू बेलामा पनि मङ्सिर २८ सम्म अधिवेशन आह्वान गरिएको भए पनि अहिले यति ढिलो किन गरेको भन्दै प्रश्न गरे । 

उनले संसद् अधिवेशन किन नबोलाइएको भन्ने जानकारी आम नागरिकले बुझ्न चाहेको बताए । उनले संसद् कुनै पनि देशको महत्त्वपूर्ण संस्था हुने र यसले सुशासनदेखि धेरै कुराको सन्देश प्रवाह गर्ने जिकिर गरे । उनले संसद्बाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको जन्म हुने भएकाले संसद्लाई बन्द गर्न नहुने बताए । 

उनले भने, ‘संसद् कुनै पनि देशको महत्त्वपूर्ण संस्था हो । यसबाट शक्तिशाली सुशासनको धेरै ठुलो सन्देश जाने गर्दछ । हाम्रोले के त्यस्तो सन्देश दिन सकेका छौँ ? पूरै राष्ट्रलाई प्रतिध्वनित गर्न सकेका छौँ । त्यही संसद्बाट राष्ट्रपतिको जन्म हुन्छ, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको जन्म हुन्छ, सभामुखकै जन्म हुन्छ । त्यस्तो संस्थालाई त्यत्तिकै राख्नु हुँदैन । म सभामुख हुँदा पनि मङ्सिर २८ सम्म संसद् सुचारु भएको छ । यत्ति ढिला बोलाउने कुरा भएको छैन । के कारणले संसद् नबोलाइएको हो ? वास्तवमा यो मैले भनिरहेको होइन, जनसाधारणलाई समेत खुल्दुली छ । त्यो कारण पत्ता लागेको छैन ।’

उपाध्यक्ष सापकोटाले आर्थिक, विकास र समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको चमत्कारिक विकास आवश्यक भएको बताए । उनले अहिले नेपाल जटिल र पेचिलो अवस्थामा रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ