माओवादीको प्रतिक्रिया - सामाजिक सञ्जाल बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
2.3k
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खाजेको जस्तो देखिएको बताएका छन् ।
बिहीबार बसेको पदाधिकारी बैठकपश्चात् उनले सरकारका सम्पूर्ण निर्णय, अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागिरहेको भन्दै यसमा गम्भीरतापूर्वक अध्ययन गरेर धारणा सार्वजनिक गर्ने बताए ।
उनले भने, ‘सामाजिक सञ्जालको बारेमा सरकारले निर्णय गरेको छ । नियमन त गर्नुपर्छ, तर सरकारका सम्पूर्ण निर्णयहरुको सारको अध्ययन गर्दा र सरकारका सम्पूर्ण अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागिरहेको छ । यसमा हामी निकै गम्भीरतापूर्वक अध्ययन गर्दैछौँ । अध्यन सकेपछि हामीले हाम्रो धारणा राख्ने नै छाैँ । तर अहिले हामीलाई प्रथम दृष्टिमै के लागेको छ भने यो अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर सरकार लागेको छ कि!’
उनले गणतन्त्रमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि नै अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै नियमन गर्ने बहानामा उक्त अधिकार कुण्ठित त हुने होइन जस्तो लागेको पनि बताए ।