विपद्पछिको पुनःनिर्माणमा जुट्न माओवादीको आह्वान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
1.1k
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विपद्पछिको पुनःनिर्माणमा एक भएर जुट्न आह्वान गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि पार्टीका नेता अग्निप्रसाद सापकोटाले पार्टीले यस्तो आह्वान गरेको बताएका हुन् ।
उनकाअनसार देशभर आएको भारी वर्षाले पुर्याएको क्षतिको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठकमा गम्भीर समीक्षा भएको जिकिर गरे ।
देशभर वर्षाबाट ठूलो जनधनको क्षति भएको र त्यसमा पनि कोशी प्रदेशमा धेरै क्षति भएकोप्रति पार्टी सचेत रहेको बताए ।
राहत उद्धारमा संलग्न पार्टीका वाइसिएललगायत सबैलाई धन्यवाद दिने निर्णय गरेको बताए ।
उनले भने, ‘देशभर आएको भारी वर्षाले पुर्याएको क्षतिको हाम्रो पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठकमा गम्भीर समीक्षा भएको छ । देशभर वर्षाबाट ठूलो धनजनको क्षति भएको छ । विवरणहरु त आउँदै छन्, कति बेपत्ता भएका छन्, कति पहिरोले पुरेको छ । कति बाढीले बगाएको छ । ५५ भन्दा बढीको मृत्यु भएको खबर आएको छ । सबैभन्दा बढी एक नम्बर प्रदेशमा मृत्युको संख्या बढी छ । धनजनको क्षति पनि त्यत्तिकै छ । लोकमार्गहरू पनि अवरुद्ध छन् । भारी वर्षा मधेसमा भएको छ । तीन जनाको मृत्यु भएको छ । राहत उद्धारमा संलग्न पार्टीका वाइसिएललगायत सबैलाई धन्यावाद दिने । पुनःनिर्माणका लागि एकजुट भएर लाग्न आह्वान गरेका छौँ । दुई दिनपछि फेरि सचिवालयको बैठक बस्नेछ । समाजवादी मोर्चालाई विस्तार गर्ने, पार्टी एकताका सम्बन्धमा पार्टी अध्यक्ष कमरेडले ब्रिफिङ गर्नुभयो ।’
नेता सापकोटाले निर्वाचनमा जाने कुरामा सबै राजनीतिक दलहरू सहमत नै रहेको बताए । निर्वाचनबाट मात्रै अहिलेको संविधानलाई निरन्तरता दिन सकिने उल्लेख गरे ।
उनले नेपाली कांग्रेस, नेकपा एमालेको केन्द्रीय समितिको बैठबाट पनि राजनीतिक दलहरूले आफ्नो धारणा स्पष्ट राख्ने जिकिर गरे ।
अबको परिस्थितिमा विचार, संगठनलाई नयाँ शिराबाट तयार गर्नुपर्ने चुनौती आएको बताए । यसले रुपान्तरणका साथ अघि बढ्ने अवसर प्राप्त भएको पनि जिकिर गरे ।
पार्टीलाई एकतावद्ध गर्दै समाजवादी मोर्चालाई विस्तार गर्ने, विचार मिल्नेहरूसँग एकताका लागि पहल जारी राख्ने पनि बताए ।
उनले दुई दिनपछि पुनः सचिवालय बैठक बस्ने जानकारी दिए । समाजवादी मोर्चालाई सक्रिय पार्ने, पार्टी एकताको सम्बन्धका बारेमा पनि छलफल भएको बताए ।
विचार मिल्नेहरूसँग एकताका लागि सकारात्मक छलफल भइरहेको बताए । निर्वाचनलाई सफल पार्न संसदमा भएका सबै राजनीतिक दलसँग छलफल गरेको र तोकिएकै मितिमा निर्वाचन गर्न आग्रह गर्ने निर्णय भएको बताए ।